१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २१ आइतबार १२:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले लिइन् शपथ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार १२:५३:oo

राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ। आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो। नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिइन्। 

आइतबार आयोजित शपथ समारोहमा आयोगका सदस्यहरू तथा सदस्यसचिव केवलप्रसाद भण्डारीको उपस्थिति थियो। महिला सदस्यको रूपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको थियाे। 

ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन्। युनडिपीमा समेत काम गरेको अनुभव भएकी ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन्। 

०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रूपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए। तत्कालीन माओवादी-एमालेसहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई पर्‍याे। गठबन्धन परिवर्तनपछि केही नयाँ सदस्यहरू नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन। 

यसअघि आयोगको सदस्यहरूमा डा. रामकुमार फुँयाल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए।

नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छिन्।

यसअघि नियुक्त भएका सदस्यहरूमध्ये डा‍. फुँयाललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ। 

यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी–साझेदारी साथै बागमती प्रदेश, डा. बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोसी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ। 

उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरूको समन्वय छ।