मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २१ आइतबार ०९:०१:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जावलाखेल उपाधि होडबाट बाहिरियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २१ आइतबार ०९:०१:००

इतिहासमै पहिलोपटक जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने संघारमा थियो । चालू लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीन स्थानबाट तल नझरेको जावलाखेलको च्याम्पियन बन्ने सपना एकाएक तुहिएको छ । दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडसँगको हार जावलाखेलका खेलाडी, समर्थक तथा अफिसियललाई निकै महँगो साबित भयो । चर्च ब्वाइजलाई हराउँदा ललितपुरको लोकल क्लब जावलाखेल उपाधितर्फ लम्किन्थ्यो । तर, ‘ए’ डिभिजन लिगमा पहिलोपटकको प्रयासमै च्याम्पियनसिप उपाधि उचाल्ने अभियानमा रहेको चर्च ब्वाइजले जावलाखेललाई सहजै ३–० ले पराजित गर्‍यो । रंगशालामा जावलाखेल र चर्च ब्वाइजबीचको प्रतिस्पर्धा शीर्ष स्थानका लागि मात्र नभएर उपाधि होडबाजी कसले बलियो बनाउने भन्ने पनि थियो । 

यसमा नवप्रवेशी क्लब चर्च ब्वाइजले बाजी मार्‍यो । जावलाखेलमाथिको सानदार जितसँगै चर्च ब्वाइजले उपाधि जित्ने बाटो निकै बलियो बनाएको छ । अर्कोतिर, पराजित टोली उपाधि होडबाट पूरै बाहिरिएको छ । चर्च ब्वाइजले २४ खेलबाट ४४ अंक बटुलेको छ । चर्च ब्वाइजले साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबसँग चार अंक र तेस्रो स्थानको जावलाखेमाथि सात अंकको अग्रता लिएको छ । मच्छिन्द्रले एक खेल कम खेलेको छ । अर्को खेलमा मच्छिन्द्रले जित निकाल्दा शीर्ष स्थानमा चर्च ब्वाइजसँगको अंक दूरी दुई अंकमा झार्नेछ । 

जावलाखेलले बाँकी दुई खेलमा जित निकाल्दा पनि चर्च ब्वाइजले लिगको २४औँ चरणमा बटुलेको अंक उछिन्न मात्र नभएर बराबरीसमेत गर्न सक्दैन । यसै कारण जावलाखेल उपाधि होडबाट बाहिरिएको हो । चर्च ब्वाइजको जितमा आशिष चौधरीले दुई गोल गरेका थिए । स्ट्राइक अञ्जन विष्टले पनि जावलाखेलको पोस्टमा एक गोल छिराए । लिगअन्तर्गत शनिबारै भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मीलाई हराएको छ । पूर्वविजेता थ्री स्टारले नेपाल एपिएफसँग बराबरी खेल खेल्यो ।

चर्च ब्वाइजसँग फितलो जावलाखेल

यसअघिका खेलमा जावलाखेलको रक्षापंक्तिदेखि फिनिसिङ लाइनसम्म राम्रो थियो । तर, अस्वाभाविक रूपमा स्टार खेलाडीले भरिएको चर्च ब्वाइजसँगको महत्वपूर्ण खेलमा जावलाखेल कुनै पनि पक्षमा राम्रो देखिएन । रक्षापंक्तिको फितलो प्रदर्शनका कारण नै जावलाखेलले नसोचेको ३–० को नतिजा बेहोरेको हो । अर्को पाटोमा चर्च ब्वाइजले भने सुरुदेखि नै जावलाखेलमाथि दबाब राखेको थियो । मिडफिल्ड बलियो बनाएको चर्च ब्वाइज निकै आक्रामक देखिएको थियो । पहिलो हाफको सातौँ इन्जुरी समयमा चर्च ब्वाइजले अग्रता लियो । 

राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जनले प्राप्त पेनाल्टीमा सहजै गोल गरे । डिबक्सभित्र जावलाखेलका राहुलले रञ्जितलाई लडाएपछि चर्च ब्वाइजले पेनाल्टी प्राप्त गरेको हो । यसअघि खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङको हेडिङलाई गोललाइनबाट छिरिङ लामाले बचाएका थिए । खेलको ४४औँ मिनेटमा अञ्जनको पासमा रन्जितको हेडिङ गोल प्रयासलाई जावलाखेलका गोलरक्षक ईश्वर गुरुङले विफल पारे । एक गोलले पछाडि परेको जावलाखेलले बराबरी प्रयास निकै गरेको थियो । तर, कुनै पनि समयमा चर्च ब्वाइजको डिफेन्स तोड्न सकेन । 

खेलको ६०औँ मिनेटमा मौसम सुब्बाको प्रहार जावलाखेलका गोलरक्षक गुरुङले विफल पारे । खेलको ८८औँ मिनेटमा आशिषले चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए । उनले कमल श्रेष्ठको क्रसमा उत्कृष्ट हेडिङ गोल गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दा चर्च ब्वाइज ३–० ले विजयी भयो । 

पाँच खेलपछि थ्री स्टारको गोल 
थ्री स्टारले लिगमा लगातार पाँचौँ खेलपछि विपक्षी पोस्टमा गोल गरेको छ । थ्री स्टारले विभागीय टोली नेपाल एपिएफविरुद्ध गोल गरेको हो । थ्री स्टारका लागि सुनील तामाङले गोल गरेका हुन् । उनको गोलकै कारण थ्री स्टारले एपिएफलाई १–१ को बराबरीमा रोकेको हो । पूर्वविजेता थ्री स्टार लिगमा हारबाट पनि जोगियो । पछिल्लोपटक थ्री स्टारले आर्मीविरुद्ध गोल गरको थियो । त्यसपछिको पाँच खेलमा थ्री स्टारले गोलरहित बराबरी खेलेको थियो । थ्री स्टार लगातार १३ खेलमा जितविहीन बनेको छ । थ्री स्टारले पहिलो लेगमा संकटालाई ३–० ले हराएपछि स्पष्ट तीन अंक बटुलेको छैन । थ्री स्टारले २४ खेलबाट २८ अंक बटुलेको छ । थ्री स्टारले चालू लिगमा सर्वाधिक १० बराबरी खेलेको छ । मनाङले पनि लिगमा १० खेलमा बराबरी नतिजा निकालेको छ ।  

सातदोबाटोसँग आर्मी स्तब्ध
बलियो त्रिभुवन आर्मी सातदोबाटो युथसँग २–१ ले स्तब्ध भयो । सातदोबाटोको जितमा शिव सुवेदी र दिपेन्कराजसिंह ठकुरीले समान एक गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काए । च्यासल मैदानमा खेलको दोस्रो मिनेटमा शिवले सातदोबाटोलाई १–० को अग्रता दिलाए । खेलको २९औँ मिनेटमा नवयुगले आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । ६३औँ मिनेटमा दिपेन्कराजले पेनाल्टीमा गोल गर्दैै सातदोबाटोलाई २–१ को जित दिलाए ।