१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २२ शनिबार १२:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लिखु २ आयोजनाको सुरुङबाट पानी चुहिँदा ४२ घर प्रभावित

आयोजनाविरुद्ध स्थानीयले गरे प्रशासनमा उजुरी

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:५९:oo

उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एमबी दुगड समूहको लगानीमा निर्माण सम्पन्न भई परीक्षणको क्रममा रहेको ५५ मेगावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाको सुरुङको पानी बस्तीमा चुहिँदा ४२ घर प्रभावित भएका छन्।

पानी चुहिएको तीन हप्ता बितिसक्दा पनि आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न कुनै पहल नगरेको भन्दै स्थानीयहरूले आयोजनाका सञ्चालकलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गराएका छन्।

उमाकुण्ड– १ गुम्देलको पेकरनासमा निर्माण भएको सुरुङमा आयोजनाले परीक्षण गर्दा सुरुङको पानी जताततैबाट चुहिँदा ४२ घरपरिवार बसोवास गर्ने उक्त क्षेत्र अहिले जलमग्न छ। पानी चुहिँदा उक्त गाउँमा अहिले केही स्थानमा पहिरो चलेको र केही घर डुबानमा परेकाे स्थानीय राजेन्द्र घिमिरेले बताए। ‘जनप्रतिनिधि र जिल्लाको नेतृत्व लाग्दा पनि आयोजनाका सञ्चालकले जोखिममा रहेका स्थानीयको विषयमा चासो नदिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छौँ,’ उनले भने।

आयोजनाका कर्मचारीहरू भने उक्त पानी सुरुङबाट चुहिएको नभई पानीको मूल फुटेको भन्दै पन्छिँदै आएका छन्। अहिलेसम्म आयोजनाका कुनै पनि जिम्मेवार व्यक्ति उक्त क्षेत्र निरीक्षणका लागि गएकासमेत छैनन्।

आयोजना प्रभावित जोखिम क्षेत्रमा पुगेर फर्केका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले तत्काल उक्त क्षेत्रमा बसोवास गर्नेलाई आयोजनाले सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको बताए। ‘आयोजनाले स्थानीयमाथी अत्याचार गरेको रहेछ। बस्तीमा जताततै पानी निस्किरहेको छ। बस्ती नै पहिरिने अवस्था छ,’ सांसद तामाङले भने। आयोजनाले अतिसंवेदनशील विषयमा ध्यान नदिएको र उत्तरदायित्व बहन नगरेकोमा उनले आक्रोश प्रकट गरे।

आयोजना प्रभावित क्षेत्रमा केही दिनअघि रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहितको टोलीसमेत पुुगेर स्थलगत अनुुगमन गरी फर्केको थियो। उक्त बस्ती जुनसुकै वेला बग्न सक्ने भन्दै जिल्ला प्रशासनले गृहसचिवलाई पत्राचार गरी सुरुङमा पानी पठाउने कार्य तत्कालका लागि बन्द गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो। आग्रहअनुसार विद्युत् विकास विभागले मंगलबार बिहान सुरुङ परीक्षणका लागि पठाउँदै आएको पानी लिखु नदीतर्फ फर्काएको छ। तर, सुरुङबाट चुहिने पानीको मात्रा घट्नुको साटो झन् बढ्दै गएको स्थानीयहरूले बताएका छन्।

उक्त क्षेत्रको समस्या समाधानको लागि बिहीबार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले आयोजना सञ्चालकलाई र प्रभावित क्षेत्रका नागरिकलाई बोलाएको छलफलमा लिखु–२ आयोजनाबाट कोही पनि सहभागी भएनन्। प्रतिनिधिसभा सदस्य तामाङ, पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ र बागमती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेलसमेतको सहभागिता रहेको छलफलमा आयोजनाका सञ्चालक नआएपछि स्थानीयवासी थप आक्रोशित भएका छन्।

‘आयोजना सञ्चालकहरू जिल्ला तहमा भएका कुनै पनि छलफल तथा निर्णय मान्न तयार छैनन्,’ पूर्वमन्त्री पौडेलले भने, ‘आयोजनाले ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागलाई प्रभावमा राखेका कारण यो समस्या भएको हो।’ पूर्वगृहराज्यमन्त्री श्रेष्ठले विपद्को अवस्थादेखि आयोजनाबाट भएको बलमिच्याइँ र हेलचेक्र्याइँ सह्य नहुने खालको रहेकाले सरकारले तत्काल उच्चस्तरीय अनुगमन गराई आवश्यक निर्णय लिनुपर्ने बताए।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त क्षेत्रमा जुनसुकै वेला पहिरो जाने उच्च जोखिम बढेकाले आयोजनाले तत्काल सुरक्षित स्थानमा बसोवासको व्यवस्था मिलाउनुपर्ने र सुरुङको पानी सबै खाली गराई जोखिमलाई तत्काल न्यूनीकरण गर्नुपर्ने निर्णय गरेको प्रजिअ एवं जिल्ला विपद् व्यस्थापन समिति अध्यक्ष अनिता निरौलाले बताइन्। उनले भनिन्, ‘मैले यो विषयमा माथिल्लो निकायमा बारम्बार कुरा राखेकी छु। लिखित र मौखिक अनुरोध गरिरहेको भए तापनि आयोजनाका पदाधिकारीले हालसम्म कुनै चासो नदिँदा ठूलो दुर्घटना हुन सक्ने सम्भावना देखिन्छ।’

ad
ad