१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
सिएनएन
२o८१ बैशाख २२ शनिबार o८:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

धसिँदै गएपछि बाढीको जोखिममा न्युयोर्क सहर

तटीय क्षेत्र, नदी किनार वा ताल किनारमा बनेका अग्ला भवनका कारण बाढीको जोखिम बढेपछि यसलाई न्यूनीकरण गर्ने कदमबारे बहस हुन थालेको छ

Read Time : > 2 मिनेट
सिएनएन
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५१:oo

एउटा नयाँ अध्ययनले न्युयोर्क सहरको जमिन भवनहरूको भारका कारण धसिँदै गएको देखाएको छ । जमिनको सतह धसिँदै जाने (सब्सिडेन्स) प्रक्रियाले समुद्री सतह बढिरहेको विश्वमा न्युयोर्कजस्ता तटीय सहरका निम्ति ठूलो समस्या खडा गर्न सक्छ । सन् २०५० सम्ममा न्युयोर्कवरपरको समुद्री सतह आठदेखि ३० इन्चसम्म बढ्न सक्ने प्रक्षेपण गरिएको छ । ‘सब्सिडेन्स’ प्राकृतिक वा कृत्रिम कारण (भूक्षय, भूमिगत पानी वा खानीहरूको उत्खननलगायत)ले पृथ्वीको सतह धसिने वा घट्ने क्रमलाई जनाइने प्राविधिक शब्दावली हो ।

यसबाहेक वैज्ञानिकहरू मानव सिर्जित जलवायु संकटका कारण चक्रवात र आँधीजस्ता चरम वर्षाका घटना थप बढ्ने अनुमान गर्छन् । ‘हामी सहरमा सागर छिर्ने कुराबाट अहिले धेरै पर छौँ,’ अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसन्धान भूगर्भशास्त्री तथा अध्ययनका प्रमुख लेखक टम पार्सनले भने, ‘तर, हामीले न्युयोर्कलाई बाढीले अस्तव्यस्त बनाउने गरी स्यान्डी र इडाजस्ता केही ठूला आँधी र चक्रवातका घटना भने साक्षात्कार गरिसकेका छौँ । सहरीकरणले पनि सहरमा पानी छिर्न सघाएको छ ।’

अर्थस् फ्युचर जर्नलमा प्रकाशित यस अध्ययनले तटीय क्षेत्र, नदी किनार वा ताल किनारमा बनेका अग्ला भवनले भविष्यमा बाढीको जोखिमलाई कसरी बढावा दिन सक्छन् र सम्भावित ती खतरनाक प्रभावलाई न्यूनीकरण गर्न किन कदम चालिहाल्नुपर्छ भन्ने कुरालाई देखाउन खोजेको छ ।

सहर डुब्ने जोखिम र यसको रहस्य
शोधकर्ताले न्युयोर्क सहरका पाँच क्षेत्रमा अवस्थित एक लाख ८४ हजार ९५४ भवनहरूको भारको गणना गरेर तिनको तौल करिब १६ खर्ब ८० अर्ब पाउन्ड (सात खर्ब ६२ अर्ब किलोग्राम) रहेको हिसाब निकालेका छन्, जुन पूर्ण रूपमा भरिएका १९ लाख ‘बोइङ ७४७–४००एस’को तौलबराबर हो ।

रको गणना गर्न सिमुलेसन विधिको प्रयोग गरेको छ र त्यसलाई सतहको वास्तविक भौगोलिक स्थिति देखाउने ‘स्याटेलाइट डेटा’हरूसँग तुलना गरेर हेरेको छ । यिनै विश्लेषणले सहर धसिने दरबारे खुलासा गरेका हुन् । ‘केही क्षेत्र वर्षमा लगभग साढे चार मिलिमिटरसम्मले धसिँदै गएका छन् भने औसतमा यो दर प्रतिवर्ष करिब एकदेखि दुई मिलिमिटर रहेको छ,’ पार्सन्सले भने ।

सन् २०२२ को सेप्टेम्बरमा गरिएको एक अध्ययनले पनि उच्च जनघनत्वयुक्त ४८ तटीय सहरमध्ये ४४ सहरका भूसतह समुद्री सतहको वृद्धिभन्दा छिटो धस्सिरहेको पाएको थियो । तर, यो पछिल्लो अध्ययनमा नयाँ कुरा के छ भने यसले विशेषगरी न्युयोर्क सहरका भवनका भारले ती भवनमुनिका जमिनलाई धसाउन कसरी योगदान गरिरहेको छ भनेर हेरेको छ । 

यद्यपि, सबै डुबान भवनका भारका कारणले नै भएको भने होइन । ‘हामी केही क्षेत्रमा पछि माटो भरिएका जमिन र खुकुलो माटोमाथि गरिएका निर्माणका कारण भूसतह थिचिएको देख्न सक्छाैँ,’ पार्सन्सले भने, ‘अन्य ठाउँमा जमिनको सतह किन धसिए, त्योचाहिँ भन्न कठिन छ । र, यसका अन्य धेरै कारण हुन सक्छन् । बरफ युगपछिको पोस्ट ग्लासियल रिल्याक्सेसन एवं भूमिगत पानी दोहनजस्ता थुप्रै कारणले यसमा काम गरेको हुन सक्छ ।’तल्लो म्यानहट्टन, ब्रुकलिन र क्विन्सका केही क्षेत्रहरू औसत दरभन्दा छिटो डुबिरहेको अध्ययनले देखाएको छ । ‘त्यसमध्ये केही निर्माण परियोजनासँग सम्बन्धित भएजस्तो देखिन्छ । तर, हामीले स्टेटन टापुको उत्तरी छेउमा पनि भूसतह घटिरहेको देख्न सक्छौँ । यसका थुप्रै कारण हुन सक्छन्, जसलाई म व्याख्या गर्न सक्दिनँ । त्यसैले यो अझै रहस्य नै छ,’ पार्सन्सले भने । 

भासिँदै गएका सहरको जोखिम न्यूनीकरण
न्युयोर्क सहरमा मात्रै होइन, अन्य सहरमा पनि समुद्री सतह बढेर बाढी छिर्नुभन्दा अघि नै सब्सिडेन्सले बाढीको खतरा निम्त्याउन सक्ने अनुसन्धानले देखाएको छ । ‘यो एउटा विश्वव्यापी मुद्दा हो । रोढ आइल्यान्ड विश्वविद्यालयका मेरा सहलेखकले विश्वभरका ९९ सहरको अनुगमन गरेका छन् । उनीहरूले तटीय मात्र होइन, भित्री सहरहरूको पनि अवलोकन गरेका छन् र तीमध्ये धेरैजसो सहरमा सब्सिडेन्सको समस्या छ,’ पार्सनले डुब्ने स्थितिमा तीव्र रूपमा पुगिरहेको इन्डोनेसियाको राजधानी जकार्ता सहरको मामिलालाई उद्धृत गर्दै भने । यही कारण इन्डोनेसियाली सरकारले अन्तै एउटा नयाँ राजधानी सहर निर्माण गर्ने योजना बुनिरहेको छ ।

‘हामीलाई थाहा नै छ, समुद्रको सतह विश्वव्यापी रूपमै बढ्दै गएको छ र समुद्री तटहरू परिवर्तन हुँदै गएका छन् । यो कुरा हाम्रो तातिँदो विश्वमा हरितगृह ग्यास उत्सर्जनजस्ता मानव गतिविधिको प्रभावलाई बुझ्न निकै महŒवपूर्ण छ,’ लस अलामोस नेसनल ल्याब्रोटरीका पोस्टडक्टोरल फेलो भूगर्भशास्त्री सोफी कोउलसनले भनिन् । उनी अध्ययनमा भने संलग्न थिइनन् । ‘यो अनुसन्धानले एउटा महत्वपूर्ण मानव सिर्जित कारकतत्वलाई केलाएको छ । तटीय भूसतहमा सहरका उच्च भारयुक्त भवनहरूको भारको प्रभावलाई हेर्न खोजेको छ,’ उनले थपिन् । 

उनका अनुसार सहरका विभिन्न क्षेत्रको सब्सिडेन्स दरहरूको आकलन गर्न र उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचान गर्न अध्येताहरूले कम्प्युटर मोडलिङ, स्याटेलाइट मापनहरू र जिपिएस डेटाको होसियारपूर्ण संयोजन गरेका छन् । ‘न्युयोर्क विश्वको सबैभन्दा घना जनघनत्वयुक्त तटीय क्षेत्रमध्ये एक हो । यहाँका महत्वपूर्ण पूर्वाधारको ठूलो हिस्सा पनि तल्लो तटीय क्षेत्रमा नै निर्माण गरिएका छन्,’ उनले भनिन्, ‘कसरी र किन परिदृश्य परिवर्तन भइरहेको छ भन्ने कुरा बुझ्नु र बाढीको उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचान गर्नु भविष्यमा हुने समुद्री सतहको वृद्धिको असर कम गर्ने सही तरिका पहिचानका निम्ति अत्यावश्यक छ ।’
 

ad
ad