आर्थिक वर्ष ०७८/७९ मा १७ संस्थानको खुद नोक्सान ४१ अर्ब नाघेको छ । संख्यात्मक हिसाबले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को तुलनामा घाटामा जाने संस्थान संख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा १९ संस्थान नोक्सानमा गएका थिए । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाअनुसार आर्थिक वर्ष ०७८/७९ मा १७ संस्थानको खुद नोक्सान ४१ अर्ब ४८ करोड पुगेको छ । यो अघिल्लो आवको तुलनामा झन्डै सात गुणा बढी हो । अघिल्लो आवमा यस्तो नोक्सान पाँच अर्ब ८३ करोड रुपैयाँ मात्रै थियो ।
गत आर्थिक वर्षमा आयल निगमकोे घाटा बढेका कारण संस्थानहरूको नोक्सानसमेत चुलिएको हो । समीक्षा अवधिमा आयल निगमको नोक्सान ३८ अर्ब १७ करोड पुगेको छ । १७ संस्थानको कुल नोक्सानमा ९२ प्रतिशत हिस्सा आयल निगमको छ । निगमले अघिल्लो आर्थिक वर्षमा ४३ करोड दुई लाख घाटा व्यहोरेको थियो ।
कोभिड र युक्रेन युद्धका कारण अर्थतन्त्रमा असर पर्दा सार्वजनिक संस्थानको कार्यसम्पादनसमेत प्रभावित भएको समीक्षामा उल्लेख छ । यसमा भनिएको छ, ‘विश्वव्यापी फैलिएको कोभिड– १९ को संक्रमणबाट आर्थिक वर्ष ०७८÷७९ मा पनि समग्र अर्थतन्त्र प्रभावित रह्यो । युक्रेनमा भएको युद्धका कारण अर्थतन्त्रमा प्रत्यक्ष एवं परोक्ष प्रभाव पर्न गयो । यसबाट सार्वजनिक संस्थानको समग्र कार्यसम्पादनमा असर पर्न गएको छ ।’
अत्यधिक नोक्सानमा जाने संस्थानमध्ये दोस्रो स्थानमा वायुसेवा निगमको एक अर्ब ७० करोड रहेको छ । अघिल्लो आवमा निगमले तीन अर्ब ६६ करोड नोक्सान व्यहोरेको थियो । तेस्रो स्थानमा रहेको नेपाल खानेपानी संस्थानको नोक्सान ३९ करोड ५४ लाख छ । अघिल्लो आवमा यस्तो नोक्सान ३६ करोड ३७ लाख थियो । १० करोडभन्दा बढी रकममा नोक्सान व्यहोर्ने बाँकी संस्थानहरूमा दुग्ध विकास संस्थान, नेपाल रेलवे कम्पनी, नेपाल ओरियन्ड म्याग्नासाइट, नेपाल औषधि लिमिटेड, नेपाल टेलिभिजन र हेटौँडा सिमेन्ट उद्योग छन् ।
हाल नोक्सानमा देखिएका राष्ट्रिय आवास कम्पनी र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी अघिल्लो आवमा खुद नाफामा थिए । आवास कम्पनीको नाफा ३० लाख र जडीबुटी उत्पादन कम्पनीको एक करोड ९१ लाख थियो । तर, समीक्षा अवधिमा आवास कम्पनी ६ करोड ४७ लाख र जडीबुटी एक करोड ६७ लाख नोक्सानमा छ ।
त्यस्तै, जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामै छ । व्यावसायिक कारोबार नभए पनि नेपाल ओरियन्ड म्याग्नेसाइट, बुटवल धागो कारखाना र नेपाल रेलवे कम्पनीको प्रशासनिक खर्चका कारण नोक्सान व्यहोरिरहनुपरेको छ ।
सरकारको लगानी थपिएको थपियै
आर्थिक वर्ष ०७८/७९ मा संस्थानहरूको सञ्चित नोक्सान १७६.८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख पुगेको छ । नोक्सान बढ्दै गए पनि संस्थानहरूमा सरकारको लगानी भने थपिएको थपियै छ । समीक्षा अवधिमा संस्थानमा सरकारको लगानी ८.९७ प्रतिशतले बढेर ६ खर्ब १८ अर्ब १६ करोड पुगेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका संस्थानहरूको औचित्य पहिचान गरी केहीलाई गाभेर दक्षता बढाउनुपर्ने बताए । वित्तीय क्षेत्र र जनउपयोगी क्षेत्रबाहेकका संस्थानमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।
आम्दानी खस्किँदा संस्थानले तिर्ने आयकर घट्यो
गत आर्थिक वर्षमा संस्थानहरूले सरकारलाई १४ अर्ब ३८ करोड १८ लाख आयकर तिरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २.९६ प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थानहरूले १४ अर्ब ८२ करोड मात्रै तिरेको थियो । आर्थिक वर्ष ०७६/७७ मा संस्थानहरूले १९ अर्ब ३६ करोड आयकर तिरेका थिए । आयकर खस्किँदै जाँदा कुल आयकरमा संस्थानहरूले तिर्ने आयकरको हिस्सासमेत घटिरहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ८.८२ प्रतिशत रहेको यस्तो हिस्सा गत आर्थिक वर्षसम्म आइपुग्दा ५.५९ प्रतिशतमा झरेको छ ।
नेपाल दूरसञ्चारले सबैभन्दा बढी चार अर्ब ६८ करोड आयकर तिरेको छ । त्यस्तै, विद्युत् प्राधिकरणले एक अर्ब ९८ करोड, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ७९ करोड, कृषि विकास बैंकले एक अर्ब ४३ करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले एक अर्ब दुई करोड आयकर तिरेका छन् ।
नाफामा जाने संस्थान बढे
अघिल्लो आर्थिक वर्षमा २१ संस्थाको खुद नाफा ३१ अर्ब ८३ करोड थियो । तर, समीक्षा अवधिमा नाफामा जाने संस्थानहरूको संख्या बढेर २५ पुगेको छ । साथै, खुद नाफामा समेत ११ अर्ब १९ करोड बढेको छ । २५ वटा सार्वजनिक संस्थानले खुद नाफा ४३ अर्ब दुई करोड कमाएका छन् ।
अघिल्लो आर्थिक वर्षमा घाटामा गएका उदयपुर सिमेन्ट, जनकपुर चुरोट कारखाना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल पूर्वाधार कम्पनी र गोरखापत्र संस्थानहरू समीक्षा अवधिमा नाफामा गएका छन् । यद्यपि, यी संस्थानहरूको कुल नाफा २५ करोड ९४ लाख मात्रै छ । संस्थानहरूको खुद नाफामा वृद्धि हुनुमा यी पाँच संस्थानहरूको योगदान ०.६ प्रतिशत मात्रै छ ।
नाफा वृद्धि हुनुमा विद्युत् प्राधिकरणको उल्लेख्य योगदान देखिन्छ । प्राधिकरणको खुद नाफा १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले ६ अर्ब मात्रै नाफा कमाएको थियो । विद्युत् प्राधिकरणको नाफा दोब्बरले बढ्दा यसले समग्र नाफामा टेवा पुर्याएको हो । २५ संस्थानको कुल नाफामा विद्युत् प्राधिकरणको नाफाको हिस्सा ३१.०७ प्रतिशत छ ।