१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Sunday, 29 September, 2024
रमेश सुवेदी काठमाडाैं
२o८o जेठ १५ सोमबार o७:२२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतलाई काभा च्यालेन्ज कपको उपाधि

अन्तर्राष्ट्रिय भलिबलमा ४५औँ स्थानमा रहेको कजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत पहिलो सहभागितामै च्याम्पियन

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार o७:२२:oo

भारत पहिलो सहभागितामै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप २०२३ को च्याम्पियन बनेको छ । राखेप कभर्डहलमा आइतबार अन्तर्राष्ट्रिय महिला भलिबलमा ४५औँ स्थानमा रहेको बलियो कजाकिस्तानमाथि ३–० को एकपक्षीय सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जितेको थियो । भारतका कप्तान निर्मल, मिडल ब्लकर सूर्या, स्पाइकर जनसन लिकी र अनुश्रीले कजाकिस्तानमाथि उत्कृष्ट प्रदर्शन गरेका थिए । 

प्रतियोगितामा साबिक दुईपटकको विजेता नेपाल तेस्रो भयो । नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा भएको प्रतियोगिताको उपाधि जितेको थियो । घरेलु टोली नेपालले तेस्रो स्थान रक्षा गर्ने क्रममा उज्वेकिस्तानलाई ३–० ले पाखा लगायो । श्रीलंका पाँचौँ, किर्गिस्तान छैटौँ र माल्दिभ्स सातौँ स्थानमा रहे । बंगलादेश सहभागी टोलीमध्ये पुछारमा रह्यो । ८ जेठदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, किर्गिस्तान र बंगलादेश समूह ‘ए’मा थिए ।

प्रतियोगितामा भारत मात्र एक मात्र अपराजित टोली रह्यो । नेपाल भारतसँग समूह ‘ए’ को अन्तिम खेलमा ३–१ सेटले पराजित भएको थियो । फाइनल प्रवेश खेलमा नेपाल कजाकिस्तानसँग ३–२ ले हार्‍यो । सेमिफाइनल खेलमा नेपालले कजाकिस्तानलाई २–२ को सेटमा बराबरी गरे पनि अन्तिम सेटमा खराब प्रदर्शन गरेको थियो । 

समूह चरणमा नेपालले बंगलादेश र किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । कजाकिस्तानसँगै उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स समूह ‘बी’मा थिए । कजाकिस्तान समूह विजेता हुँदा उज्वेकिस्तान उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो । कजाकिस्तान प्रतियोगितामा भारतसँग मात्रै पराजित भयो । 

सलिना सर्वाेत्कृष्ट लिबेरो
नेपाली टोलीकी लिबेरो सलिना श्रेष्ठ च्यालेन्ज कपको सर्वाेत्कृष्ट लिबेरो घोषित भइन् । प्रतियोगिता अवधिभर पाँच खेल खेलेकी सलिनाले सानदार प्रदर्शन गरिन् । नेपालले लगातार दुईपटक उपाधि जित्दा सलिना मुख्य सदस्य थिइन् । सन् २०१९ बाट सलिना निरन्तर रूपमा नेपाली राष्ट्रिय टोलीमा छिन् । व्यक्तिगत विधातर्फ भारतको वर्चस्व रह्यो । आउटसाइड हिटरमा भारतकी अनुश्री पोइली, उत्कृष्ट मिडल–ब्लकर भारतकै सूर्या थोतांगाल र उत्कृष्ट सेटरमा भारतकै कोभट साजी जिनी चुनिएका छन् । उत्कृष्ट आउटसाइड हिटर कजाकिस्तानकी बोला उताएभा र अपोजिट प्लेयरमा सिखा जिनोभा उत्कृष्ट खेलाडी बने । उज्वेकिस्तानकी कुडी साखोन सेकेन्ड बेस्ट मिडल ब्लकर घोषित भइन् । 

 कभर्डहल राम्रो बनाउन मन्त्रीको निर्देशन
काभा च्यालेन्जको फाइनलमा मुख्य अतिथिका रूपमा युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बू रहे । मन्त्री लिम्बूले अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गरिरहेको कभर्डहलको अवस्था देखेर दिक्क माने । कभर्डहलभित्रको अस्तव्यस्त व्यवस्थापन, अत्यधिक गर्मी र साउन्ड सिस्टम ठीक नभएको भनी उनले दुखेसो पोखे । ‘नेपालमा अहिले ठूलो प्रतियोगिता भइरहेको छ । विश्वले नेपाललाई हेर्ने अवसर पाएको छ । तर, राखेपको कभर्डहल राम्रो भएन,’ उनले भने, ‘‘कभर्डहलको साउन्ड सिस्टमको आवाज प्रस्ट रूपमा सुनिने हुनुपर्‍यो ।’ 

अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिँदा भित्रको वातावण चिसो बनाउन एसी जडान गर्नुपर्ने उनले जनाए । ‘यो कर्भडहल निकै गर्मी छ, यसमा एसी हाल्नुप¥यो, यस्तो किसिमले खेल हुन सक्दैन,’ राखेपका सदस्यसचिव टंकलाल घिसिङतर्फ इंगित गर्दै मन्त्री लिम्बूले भने, ‘यहाँ मैले केही पनि राम्रो पक्ष नै देखिनँ ।’ 

मन्त्री लिम्बूले आवश्यक सुधारका लागि सहयोग गर्न मन्त्रालय तयार रहेको जनाए । ‘कभर्डहलको समस्या समाधान तीन महिनाभित्र हुनेछ,’ उनले भने, ‘मन्त्रालयले के गर्नुपर्छ, त्यसमा लागौँ, खेलाडीले राम्रो प्रदर्शन गरे ।’

 नेपाल तेस्रो स्थानमा
कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हरायो । घरेलु खेलाडीले लगातार गल्ती गर्दा नेपालले पहिलो सेट २५–२० ले गुमाएको थियो । प्रशिक्षक जान डी ब्रान्टले नियमित सेटलाई नै कोर्टमा उतारेका थिए । स्पाइकरमा उषा भण्डारी र सरस्वती चौधरी रहँदा अलराउन्डर निरुता ठगुन्ना थिइन् । कप्तान अरुणा शाहीले सेटरको कमान्ड सम्हाल्दा लिबेरो सलिना श्रेष्ठ रहिन् । मिड ब्लकका संगम महतो र साफिया पुनले जिम्मेवारी पाए । पहिलो सेटमा नेपालले ११ अंक आफ्नै गल्तीले गुमाएको थियो । दोस्रो सेटमा सुधार गर्दै नेपाल खेलमा फर्कियो । 

नेपाली खेलाडीले गल्ती सुधार गर्दा उज्वेकिस्तान निरीह बन्यो । नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित्दै तेस्रो स्थान हासिल गरेको हो । सेमिफाइनलमा कजाकिस्तानविरुद्ध सम्हालिन नसकेको नेपाली टोलीले उज्वेकिस्तानविरुद्ध सानदार प्रदर्शन गर्‍यो । नेपाली टोलीका प्रशिक्षक ब्रान्टले सहज जित निस्केको बताए । ‘हामीले पहिलो सेटमा गल्ती गर्‍यौँ । बाँकी सेटमा सुधार गर्दै सहज जित हात पार्‍यौँ र कांस्य पदक जितेका छौँ,’ बेल्जियम नागरिक ब्रान्टले खेलपछि भने । 

नेपाली टोलीकी कप्तान अरुणाले बलियो टोली सहभागी प्रतियोगितामा तेस्रो स्थान हात पार्नु नै ठूलो भएको बताइन् । ‘माथिल्लो टोलीसँग खेल्दा राम्रो अनुभव भयो । यस प्रतियोगिताले आउने खेलका लागि धेरै सिकेका छौँ,’ अरुणाले भनिन्।