मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ९ मंगलबार ११:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कामिरिता शेर्पाले २८औँ पटक सगरमाथा आरोहण गरेर बनाए नयाँ कीर्तिमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ९ मंगलबार ११:५०:००

पर्वतारोही कामिरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । आज बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेको नयाँ रेकर्ड बनाएका छन् ।

योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रोपटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए ।

कामिरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । खुम्बु पासाङल्यामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरैपटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटरभन्दा अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।    

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो ।