Skip This
प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य : परराष्ट्रमन्त्रीले लिए पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ६ शनिबार
  • Saturday, 27 July, 2024
२o८o जेठ ६ शनिबार o६:१२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य : परराष्ट्रमन्त्रीले लिए पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ६ शनिबार o६:१२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री एनपी साउदले पूर्वपरराष्ट्रमन्त्रीहरूसँग शुक्रबार परामर्श लिएका छन् । बिहीबार पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग सुझाव लिएका परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री भ्रमणको मिति र एजेन्डा नबताई पूर्वमन्त्रीहरूसँगको छलफलमा सीधै सुझाव मागेका छन् । बजेटलगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गर्ने तयारी भइरहेको छ । 

पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्रीको भ्रमण सद्भावनाका लागि भए सामान्य तयारी गर्नुपर्ने, तर ठोस एजेन्डासहित भए त्यसबारे जानकारी दिएपछि मात्रै सुझाव दिन सकिने टिप्पणी गरेका थिए । सुरुमा परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका लागि सुझाव दिन बोलाइएको भन्दै विचार प्रस्तुत गरिदिन आग्रह गरेका थिए । 

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको भ्रमण सद्भावना भ्रमण मात्रै हो कि खास विषय पनि टुंग्याउने गरी हुन लागेको हो भनी जिज्ञासा राखेका थिए । उनले सद्भावनाका लागि मात्रै भए विश्वास आर्जन गरेर फर्किन सुझाव दिएको बताए । ‘खास विषय छन् भने हामीलाई भन्नुपर्‍यो, त्यसमा हामीले आफ्ना अनुभव बताउँछौँ भन्ने कुरा राख्यौँ,’ लोहनीले भने, ‘परराष्ट्रमन्त्रीले एजेन्डाबारे केही भन्नुभएन । हामीले लागेका विषय भनेर फर्कियौँ ।’ 

लोहनीले इपिजी प्रतिवेदन बुझ्ने कि नबुझ्नेबारे स्पष्ट रूपमा सोध्न आग्रह गरेका थिए । ‘२५ वर्षदेखि भारतसँग हाम्रो व्यापार घाटा छ । यो घटाउने विषयमा छलफल गर्नुहोस् । सीमामा आउने तरकारीको गुणस्तर जाँच्ने मेसिन राख्ने, दुवै देशले सिँचाइको फाइदा कसरी न्यायोचित रूपमा लिने भन्नेबारे पनि छलफल गर्नुहोस्,’ लोहनीको सुझाव थियो । 

पूर्वपरराष्ट्रमन्त्रीहरू लोहनी, सुजाता कोइराला, डा. भेषबहादुर थापा र रघुवीर महासेठ मात्रै छलफलमा सहभागी थिए । विगतमा प्रधानमन्त्री स्वयंले सुझावका लागि बोलाउने गरेकोमा यसपटक परराष्ट्रमन्त्रीको तहबाट बोलाइएको भन्दै कतिपय पूर्वपरराष्ट्रमन्त्री छलफलमा सहभागी भएनन् ।

कोइरालाले एजेन्डा नबताइएकाले आफ्नोतर्फबाट सुझाव दिने काम भएको बताइन् । ‘हामीलाई उहाँले एजेन्डा बताउनुभएन । प्रधानमन्त्री कहिले जाने पनि भन्नुभएन,’ पूर्वपरराष्ट्रमन्त्री कोइरालाले भनिन्, ‘हामीले पहिला एजेन्डा प्रस्तुत गर्नुस् अनि छलफल गर्न सकिन्छ, नभए सामान्य सुझाव दिन्छौँ भन्यौँ, सामान्य सुझाव दिएर फर्कियौँ ।’ 

कोइरालाले भारतसँग व्यापार वृद्धिका लागि प्रयास गर्न सुझाव दिएको बताइन् । ‘सरकार अब व्यापारिक हिसाबले जानुपर्छ । भारत ठूलो बजार छ । हाम्रो उत्पादन बेच्नुपर्छ । व्यापार जति–जति बढ्छ, हाम्रो सम्बन्ध त्यति राम्रो हुन्छ । यहीअनुसार अघि बढ्नुस्,’ कोइरालाको सुझाव थियो । 

पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले नेपाल र भारत दुवै पक्षले सहीछाप गरेको इपिजी प्रतिवेदनबारे कुराकानी गर्न सुझाव दिए । ‘इपिजी प्रतिवेदनलाई अघि बढाउन सक्यौँ भने मात्रै दुई देशको सम्बन्ध सुधारको पाइला सुरुवात हुनेछ,’ थापाको सुझाव थियो, ‘इपिजी प्रतिवेदनले दुई देशको सम्बन्धलाई सकारात्मक दिशानिर्देश गरेको छ । यसले १९५० देखि हालसम्मको सम्बन्धलाई नयाँ आधारमा पुनरावलोकन गर्न सहयोग पुग्छ ।’ 

पूर्वपरराष्ट्रमन्त्री रघुवीर महासेठले दुई देशको सीमा क्षेत्रको समस्या समाधानका लागि प्रयास गर्न सुझाव दिए । उनले पनि भ्रमणको एजेन्डा स्पष्ट पार्न आग्रह गरेका थिए ।