एसिया कप आयोजनाको अधिकार खोसिए पाकिस्तानले भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समेत सहभागिता नजनाउने चेतावनी दिएको छ । यसै सेप्टेम्बरमा पाकिस्तानले एसिया कप २०२३ को आयोजना गर्दै छ । भारत र पाकिस्तान समूह ‘ए’मा छन् । भारतले पाकिस्तानी भूमिमा एसिया कप नखेल्ने र तटस्थ भूमिमा खेल्न तयार भएको बताउँदै आएको छ । पाकिस्तानले भने भारतले पाकिस्तानी भूमिमै खेल्नुपर्ने र आफू अन्य राष्ट्रमा प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट पारेको छ ।
विश्व क्रिकेटकै यी दुई शक्तिशाली राष्ट्रबीचको आपसी तनावका कारण एसिया कपको भविष्यसमेत अन्योलमा छ । गत साता भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का सचिव जय शाहले एसिया कप अरू राष्ट्रमै हुन सक्ने सम्भावना रहेको जनाएका थिए । राजनीतिक कारणले भारत पाकिस्तानमा गएर क्रिकेट खेल्न सक्ने वातावरण नभएको उनको भनाइ थियो । भारतले तेस्रो मुलुकमा पाकिस्तानसँग खेल्न कुनै आपत्ति नभएको शाहले बताए ।
यसैबीच, पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष नजम सेठीले एसिया कपको आयोजना अधिकार आफूहरूबाट खोसेको खण्डमा एकदिवसीय विश्वकप बहिष्कार हुन सक्ने ‘उच्च सम्भावना’ रहेको बताएका छन् । ‘यदि पाकिस्तानमा एसिया कप भएन भने हामी छिमेकी राष्ट्रमा विश्वकपसमेत नखेल्न सक्छौँ,’ पिसिबीका अध्यक्ष सेठीले भने, ‘हामी यसबारेमा छलफल गरिरहेका छौँ ।’ दुई राष्ट्रबीचको चिसो सम्बन्धका कारण भारतमा हुने विश्वकप र पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा समेत असर पर्न सक्नेछ ।
आइसिसीले भूमिका खेल्नुपर्ने
यसैगरी, पिसिबीका पूर्वअध्यक्ष रमिज राजाले भारत पाकिस्तान नआए पाकिस्तानले भारतमा हुने विश्वकपमा सहभागी नहुने दाबी गरेका छन् । ‘भारत हामीकहाँ आएर खेल्न चाहँदैन भने हामी पनि उनीहरूको भूमिमा गएर विश्वकप खेल्न सक्दैनौँ,’ चेतावनी दिँदै राजाले भने, ‘भारतमा पनि हामीलाई सुरक्षाको चिन्ता छ ।’ यसैबीच, पाकिस्तानी अधिकारीहरूले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वर्तमान अवस्थाबारेमा भूमिका खेल्नुपर्ने जनाएका छन् ।
‘पाकिस्तान भारतमा नजाउने र भारत पाकिस्तानमा नआउने विवादमा आइसिसीले स्पष्ट धारणा राख्नुपर्छ,’ पिसिबीका अधिकारीले भने, ‘आइसिसीले स्पष्ट रूपमा दुवै क्रिकेट बोर्डलाई यसबारेमा जानकारी गराउनुपर्छ ।’