१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतमा अलपत्र नेपाली वृद्ध भेट्न पुग्यो महावाणिज्यदूतको टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:३२:oo

भारतको कोलकाता नजिक सुन्दर वन क्षेत्रमा अलपत्र नेपाली वृद्ध घनबहादुर वाइबालाई भेट्न कोलकातास्थित महावाणिज्यदूतको कार्यालयको टोली पुगेको छ।

सर्लाही लालबन्दीस्थित लालभित्ती घर बताउने ती वृद्धबारे बुझ्न तीनजनाको टोली पठाइएको महावाणिज्यदूत ईश्वरराज पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए। टोलीमा महावाणिज्यदूतको कार्यालयका तृतीय सचिव उद्धव लामिछाने, कार्यालय सचिव सतिश थापा र सर्लाही घर भई महावाणिज्यदूतको कार्यालयमा कार्यरत जगत् उपाध्याय रहेकाे उनले बताए।

शारीरिक अवस्था कमजोर देखिने ती वृद्ध कोलकाताको सडकमा अलपत्र अवस्थामा भेटिएको वेस्ट बंगाल रेडियो क्लबको ह्यामका सचिव अम्बरिस नाग विश्वासले जानकारी दिएपछि नयाँ पत्रिकामा बुधबार समाचार प्रकाशन भएको थियो। लगत्तै, महावाणिज्यदूतको कार्यालयले कोलकातादेखि करिब १५० किलोमिटरको दूरीमा रहेको त्यो क्षेत्रमा टोली पठाएको महावाणिज्यदूत पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए।

‘पहिलो चरणमा उनको अवस्थाबारे जानकारी लिन पठाएको हुँ। उनलाई यहाँ महावाणिज्यदूतको कार्यालयमा ल्याएर राख्ने सेल्टर छैन,’ पौडेलले भने, ‘अब ती वृद्धले दिएको जानकारीअनुसार हामी नेपालमा पनि उनको परिवार खोजी गर्छौँ।’

घनबहादुरलाई भेटेका महावाणिज्यदूत कार्यालय सचिव सतिश थापाका अनुसार उनी मानसिक रूपमा पनि कमजोर छन्। वाइबा त्यस क्षेत्रमा करिब पाँच वर्षदेखि रहेको उनले बताए। ‘सडकमा बस्दा रहेछन्। त्यहाँका मान्छेले असाध्यै माया गर्ने रहेछन्,’ उनले भने, ‘खाना पनि दिने रहेछन्।’

थापाले नयाँ पत्रिकालाई पठाएको उनको भिडियोअनुसार उनी नेपाली प्रस्ट बोल्छन्। कमजोर शरीर देखिने वाइबाले झुत्रे फोहोर लुगा लगाएका छन्।

उनले नेपालमा आफ्ना दुई छोरा रहेको बताएको महावाणिज्यदूत कार्यालय सचिव सतिश पोखरेलले जानकारी दिए। उनी घर फर्कन आतुर देखिएको थापाले बताए। यद्यपि, नेपालमा उनको परिवार पत्ता लागेको छैन। नेपालमा परिवार पत्ता लागे घरसम्म पुर्‍याउने व्यवस्था गर्ने महावाणिज्यदूत पौडेलले जानकारी दिए।

ad
ad