![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/home2023-05-18-11-38-07.jpeg)
बैठक कोठालाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङका सामग्रीको प्रयोगले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष सजगता अपनाउनुपर्छ ।
कोठाको आकार तथा उचाइअनुसार उपयुक्त हुने झुमर, ल्याम्प वा अन्य डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । कोठामा राखिएका तस्बिरमा ट्रेस लाइट तथा डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । फरक–फरक डिजाइनको बत्ती प्रयोगले नयाँ अनुभूति पनि दिन्छ ।
बैठक कोठामा रङको पनि महत्वपूर्ण भूमिका हुन्छ । हलुका रङ लगाउँदा कोठा उज्यालो तथा ठूलो देखिन्छ । ब्राउन, क्रिमजस्ता डिसेन्ट कलरमा फोकस गर्दा बैठक कोठाको महत्व झल्कन्छ । यस्ता कलरले परिवारका सदस्य तथा आएका पाहुनालाई समेत आनन्दको अनुभव दिलाउँछ । जसले गर्दा मानसिक वा शारीरिक थकान भएकाहरू सो कोठामा आराम गरेर बस्दा उत्साह प्राप्त गर्न सहयोग मिल्छ ।
कोठालाई ताजापन प्रदान गर्न फेब्रिकको प्रयोग गर्न सकिन्छ । यस्तो फेब्रिक फर्निचर तथा भित्ताको रङसुहाउँदो हुनुपर्छ । कोठामा राखिएका वस्तु तल–माथि, मोटो–पातलो मिलाएर राख्दा कोठाको सुन्दरता खुल्छ । बैठकका सबै भित्तामा डेकोरेसन गर्नुपर्छ भन्ने छैन ।
आफूलाई उपयुक्त लाग्ने कुनै एउटा वाल छनोट गरेर एकतिर मात्र डेकोरेसन गर्दा पनि हुन्छ । त्यस्तो वालमा परिवारका फरक–फरक पुस्ताका फोटो, पारिवारिक जमघटका फोटो तथा पेन्टिङ या अन्य प्राकृतिक तस्बिरहरू सजाउन सकिन्छ । यस्तो सजावट सजिलो हुनुका साथै कोठालाई फरक अनुभूत गराउँछ ।