प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले लिएको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रसँग अर्थपूर्ण र प्रभावकारी सहकार्य गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’को उद्घाटन गर्दै उनले विकासको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले संयुक्त रूपमा अन्तर्राष्ट्रिय लगानीसम्बन्धी सम्मेलन आयोजना गरेका हुन् । ‘सम्मेलन उपयुक्त समयमा भएको छ, बजेट निर्माणको समयमा सरकारले स्रोतको पहिचान र अवधारणाको खोजी गरिरहेका वेला यस्तो सघन सम्मेलन हुनु खुसीको कुरा हो,’ उनले भने, ‘विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणाको खोजीमा सम्मेलन आयोजना हुनु अत्यन्तै सान्दर्भिक छ, यसले सरकारलाई मार्गदर्शनसमेत गर्नेछ ।’
सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई स्रोत र साधनको ठूलो आवश्यकता रहेको बताउँदै उदार अर्थतन्त्र, लोकतान्त्रिक व्यवस्था र कुनै पनि विदेशी कम्पनीको प्रतिफल नरोकिएकोजस्ता आकर्षक ऐेतिहासिक ट्र्याक नेपालसँग भएको बताए । उनले आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था अहिले पनि रहेको र आवश्यकताअनुसार सरकारले सुधार गर्न तयार रहेको आश्वासन दिए ।
दिगो विकासका लागि आवश्यक स्रोतको अहिले नै गणितीय ग्याप उच्च रहेको भन्दै काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अर्थशास्त्री प्रा.डा. अच्युत वाग्लेले भने, ‘यसलाई पूरा गर्नकै लागि पनि सरकार र निजी क्षेत्र मिलेर स्रोतको खोजी र परिचालनको मोडलमा जानुपर्ने देखिन्छ ।’ स्ट्यान्डर्ड चार्टर्ड बैंकका सिइओ अनिर्वाण घोष दस्तिदारले नेपालमा लगानीको सम्भावना र आवश्यकता पनि भएको उल्लेख गरे ।
लगानी बोर्डले रणनीतिक योजनाअन्तर्गत नै सम्मेलन आयोजना गरेको बोर्डका सिइओ सुशील भट्टले बताए । धेरैभन्दा धेरै लाभदायक सम्भावनाको खोजीमा सम्मेलन केन्द्रित हुने उनको भनाइ थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंकका सस्टेनेबिलिटी बोन्डका एमडी राजीव सेठले परम्परागत फाइनान्सिङ मोडलभन्दा ब्लेन्डेड फाइनान्सिङ खालको मोडल अपनाएर वैदेशिक लगानी भित्र्याउनुपर्ने बताए ।