१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २९ शुक्रबार १o:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

जगदुल्ला आयोजनाको पिपिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार १o:३७:oo

एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलायशयुक्त विद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक जगदुल्ला हाइड्रोपवार कम्पनीबीच पिपिएसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरेका छन् ।

प्राधिकरणका विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले पोस्टेड दरमै जगदुल्ला जलविद्युत् आयोजनाको विद्युत् किन्ने गरी सम्झौता भएको बताए । त्यसअनुसार आयोजनाले १२ महिनासम्मै पिक टाइम (दैनिक ६ घन्टा)मा प्रतियुनिट १० रुपैयाँ ५५ पैसामा प्राधिकरणलाई विद्युत् बिक्री गर्नेछ । त्यसैगरी, अफ पिक आवरको बिजुली भने प्रतियुनिट हिउँदमा आठ रुपैयाँ ४० पैसा र बर्खामा चार रुपैयाँ ८० पैसामा बिक्री गरिनेछ । तोकिएको मितिमै आयोजना सञ्चालन ल्याएमा कम्पनीले आठ वर्षसम्म आम्दानीको वार्षिक ३ प्रतिशतका दरले थप रकम पाउनेछ । 

कम्पनीले ०८६ असारमा यो आयोजना सञ्चालनमा ल्याउने जनाएको छ । सोही मितिमा आयोजना सञ्चालनमा आएमा कम्पनीले उक्त सुविधा पाउने उल्लेख छ । उत्पादन ढिला भएमा यस्तो सुविधा कटौती हुनेछ ।  डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकामा बन्ने उक्त आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत बन्दै छ ।

यस आयोजनामा २३ अर्ब ८२ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ । त्यसमा प्रवद्र्धक कम्पनीले ३० प्रतिशत स्वःपुँजीबापत सात अर्ब १० करोड रुपैयाँ लगानी गर्नेछ । स्वःपुँजीमा कर्णाली प्रदेशको ५ प्रतिशत, मुड्केचुला गाउँपालिकाको १ प्रतिशत, विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को १०, प्राधिकरणको ९ प्रतिशत गरेर ५१ प्रतिशत संस्थापक सेयर हुनेछ । बाँकी ४९ प्रतिशत सेयर भने सर्वसाधारणलाई बिक्री गरिनेछ ।  

बाँकी ७० प्रतिशत अर्थात् १६ अर्ब ७२ करोड रुपैयाँ भने ऋणमार्फत जुटाइनेछ । जुन रकम नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाइमा नबिल बैंक, एचआइडिसिएल, कर्मचारी सञ्चय कोषले दिने भएका छन् । असार मसान्तभित्र आयोजनासँग वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्झौता गरिने एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले बताए । 

कम्पनीका कार्यकारी अधिकृत सञ्जय सापकोटाले ०८१ हिउँदबाट आयोजनाको निर्माण सुरु गर्ने बताए । उनले भने, ‘हामीले आयोजना निर्माणको पूर्वतयारीको काम सुरु गरिरहेका छौँ । समग्रमा यो वर्ष टेन्डर आह्वान गरेर ठेकेदार छनोट गर्ने, पहुँचमार्ग निर्माण गर्नेलगायतका पूर्वतयारीको काम सम्पन्न गर्छाैँ । अर्काे वर्ष (०८१ ) हिउँदबाट निर्माण सुरु गर्छाैँ ।’ 

ad
ad
ad
ad