ठूला तीन दलका शीर्ष नेताको छलफल सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफल संसदभित्रका विषयहरूमा केन्द्रित रहेको नेताहरूले जनाएका छन् ।
शीर्ष नेताको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदभित्रका विभिन्न विषयमा छलफल केन्द्रित रहेको बताए ।
‘अहिले संसदमा प्रिबजेट छलफल चलिरहेको छ । बजेटको तयारी भइरहेको छ । विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल आज सकिँदै छ । त्यसपछि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने तयारी छ । यीलगायत संवैधानिक परिषद्सम्बन्धी विधेयक, टिआरसी, संसदीय समितिहरूका सभापति चयनलगायतका विषयमा छलफल भयो,’ लेखकले भने ।
भुटानी शरणार्थीको आवरणमा एक अर्बभन्दा बढीको ठगी प्रकरणमा आज कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । सो भेटमा त्यसबारे छलफल नभएको उनले दाबी गरे ।
आजको भेटमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी थिए ।