
परराष्ट्र मन्त्रालय, काठमाडौंमा कार्यरत नायब सुब्बा अनुप भण्डारी पोखराको बेगनासतालमा मृत फेला परेका छन्।उदयपुरका स्थायी बासिन्दा ३१ वर्षीय भण्डारी पोखरा महानगरपालिका– ३१ लेखनाथस्थित बेगनासतालमा मृत फेला परेका हुन्।
मन्त्रालयअन्तर्गत राहादानी विभागमा कार्यरत भण्डारीको शव सोमबार बिहान ८ः३० बजेको समयमा तैरिएको अवस्थामा बेगनासतालमा फेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
तालको डुंगाघाटदेखि करिब चार सय मिटर पर पानीमा घोप्टो परी तैरिएको अवस्थामा भण्डारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
शव तालमा तैरिएको अवस्थामा रहेको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमान्डमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमको लागि पश्चिममञ्चल क्षेत्रीय अस्पताल ल्याएको थियो।
साथमा रहेको परिचयपत्रको आधारमा भण्डारीको पहिचान भएको थियो। भण्डारी आइतबार हवाई मार्ग हुँदै पोखरा आएका थिए। उनको मृत्युका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरको छ।