प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारको प्रयास चालिरहेकाले चिन्ताजनक नरहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गत वर्षदेखि अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भए पनि अहिले बिस्तारै कम हुँदै गएको बताए ।
‘नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो टाट पल्टिन लाग्यो भनेर गत वर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक छैन ।’ उनले भने, ‘अर्थतन्त्रको समस्या गम्भीर छ । यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ ।’ संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु अहिलेकोे प्रमुख आवश्यकता रहेको उनको भनाइ छ । अन्य विकसित र विकासशील मुलुकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकलगायत निकायहरूले गरेको प्रक्षेपणका बाबजुद नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै गएको प्रधानमन्त्री दाहालको दाबी छ ।
‘विगत केही समयदेखि शोधनान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्थामा सुधार भएको, आयातको परिमाणमा कमी आएको, विप्रेषणमा उत्साहजनक वृद्धि भएको हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख छ,’ उनले भने । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने पनि प्रधानमन्त्री दाहालले बताए । कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै गर्दा घरेलु उत्पादन बढाउनु, निर्यातमा सुधार ल्याउनु र अर्थतन्त्रलाई उत्साहित बनाउनु सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ ।
मौद्रिक नीतिमार्फत समस्या समाधान : अर्थमन्त्री महत
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको समस्या समाधान गर्न वित्त नीतिको दायरा साँघुरो भएकाले मौद्रिक नीतिमार्फत मात्रै सम्भव हुने बताएका छन् । उनले भने, ‘हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौँ, कोरोना महामारीका क्रममा मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह भयो । त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको छ । आज देखिएको समस्या समाधान वित्त नीतिभन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ ।’
उनले समस्या समाधानका लागि वित्त नीतिमा धेरै ठाउँ नरहेको बताउँदै मौद्रिक नीतिमार्फत समस्या समाधान गर्ने बताए । उनले भने, ‘अहिले हामीसँग फिस्कल स्पेस छैन । फिस्कल स्पेस पनि बढाउनुपर्छ । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ ।’
राष्ट्र बैंकका अधिकारीहरूले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाएको उनको भनाइ छ । उनका अनुसार राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लियो भने ब्याजदर घट्छ । बजेटमार्फत पुँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनुपर्ने उनको भनाइ छ ।उनले भने, ‘पुँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी छ । आर्थिक नीतिमार्फत हामीले पुँजी प्रवाहलाई व्यापक बनाउनुपर्नेछ ।’