मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Thursday, 19 December, 2024
२o८o बैशाख २४ आइतबार १४:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यवसायी कँडेल मृत्यु प्रकरण : पाँच दिनपछि अन्त्येष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १४:३o:oo

पोल्ट्री व्यवसायी एवं कांग्रेस नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्येष्टि गरिएको छ।

वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुन्डिएको अवस्थामा फेला परेका कँडेलको शवको पाँच दिनपछि अन्त्येष्टि गरिएको हो। शवको अन्त्येष्टि गर्नुअघि शवयात्रा निकालिएको थियो।

मृतक ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका– ८ निवासी हुन्। उनी कांग्रेसका पूर्वकोषाध्यक्ष, वर्तमान महासमिति सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वकार्यसमिति सदस्य पनि हुन्। उनको नाम नेपालको उत्कृष्ट पोल्ट्री व्यवसायीमध्येमा आउने गर्थ्याे। 

परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका व्यवसायी प्रदीप रुँगटा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावल रहेको उल्लेख छ। 

केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको सेयर रुँगटालाई बेचेका थिए। डेढ दशकदेखि उनले यो फिड्स चलाउँदै आएका थिए। वीरगन्ज र विराटनगरमा पोषक दाना उत्पादन प्रदीप रुँगटाले कँडेलको अनमोल फिड्सको सेयर किनेका थिए। 

कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइट नोट’मा पनि आत्महत्याको कारण आर्थिक विषय नै भएको लेखेको प्रहरीले बताएको छ। 

७–८ पृष्ठको सुसाइट नोट प्रहरीले अनुसन्धानलाई प्रभाव पार्ने भन्दै सार्वजनिक गरेको छैन। प्रहरीले उनको आत्महत्या दुरुत्साहन आरोप लागेकालाई लामो समय बित्दा पनि प्रक्राउ नगरेको भन्दै उनका परिवार, समर्थक, व्यवसायी र नेपाली कांग्रेस चितवनको सक्रियतामा चितवनमा निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन्। 

चितवन बन्दलगायतका दबाबका कार्यक्रम चितवनमा भएका छन्। भरतपुर महानगरपालिका– ८ का ३७ वर्षीय रावललाई भने प्रहरीले बाराको सिमराबाट पक्राउ गरे पनि प्रदीप रुँगटालाई भने प्रक्राउ गर्न सकेको छैन। 

कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत सेयर रुँगटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव पनि दिएको र पैसा पनि नदिएका कारण परिवारमा मानसिक तनाब भएको कुरा सुनाउने गरेको मृतक कँडेलकी श्रीमतीले बताएकी छिन्। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले अपराध महाशाखा, सिआइबी, सीमानाकालगायतमा खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय भएको बताएका छन्। 

उनले पीडितको न्याय र अपराधीलाई कारबाहीको पक्षमा प्रहरी रहेको भन्दै यो घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन आफू प्रतिबद्ध भएको बताए। अनुसन्धानका प्रक्रियाहरू धेरै नजिक पुगेको र छिट्टै रिजल्ट आउने बताए। उनले त्यसका लागि सहयोग गरिदिन अनुरोध गरेका छन्।