संरक्षण अभावमा मोरङको सुनबर्सी नगरपालिकामा रहेको ऐतिहासिक कमलपोखरीको अस्तित्व संकटमा परेको छ। विनियोजन गरेको बजेट कटौतीपछि चौरमा परिणत भएको पोखरीको संरक्षणका लागि चासो दिन स्थानीय, जनप्रतिनिधि र सांसदले माग गरेका छन्।
सुनबर्सी नगरपालिका– १ केचना शुक्रबारेमा रहेको ऐतिहासिक कमलपोखरी संघीय सरकारको बजेटमा भर परेर स्तरोन्नतिका लागि प्राकृतिक पानी सुकाउँदा चौरमा परिणत भएको हो। अब संरक्षणमा संघ र प्रदेश सरकार सबैले चासो दिनुपर्ने स्थानीयवासी, जनप्रतिनिधि तथा सांसदहरूले माग गरेका हुन्।
ऐतिहासिक प्राकृतिक उक्त पोखरीभरि जलाशय हुँदा सयौँ चराचुरुंगीको मात्र वास हुँदैनथ्यो, मनमोहक भएकाले आन्तरिक पर्यटक पनि मनग्य घुमफिर गर्न आउँथे। तर, गुरुयोजना बनाएर पोखरीलाई पर्यटकीय स्थलका रूपमा स्तराेन्नति गर्नका लागि संघीय सरकारले बजेट विनियोजन गरेको जानकारी पाएपछि पोखरीको पानी पम्प लगाएर सुकाइएको थियो।
तर, पानी सुकाइसकेपछि सरकारले उपलब्ध गराएको एक करोड बजेट कोभिडको कारण देखाउँदै कटौती गरिदियो। ‘यसैले हाम्रो ऐतिहासिक कमलपोखरी आजभाेलि गाईभैँसी चराउने चौरमा परिणत भएको हो,’ सुनबर्सी नपा– १ का वडाध्यक्ष विरेन राईले बताए।
अध्यक्ष राईका अनुसार पोखरीको क्षेत्रफल आठ बिघा रहेको छ । गुरुयोजनाअनुसार सौदर्यीकरणसहित घेराबारासहित बाेटिङ सञ्चालन गर्न र माछापालनका लागि पोखरी थप अढाइ फिट गहिरो बनाउनुपर्ने भएकोले पानी सुकाइएको हो।
‘तर, बजेट आयो भनेर रमाउँदै पोखरीको पानी सुकाइसकेपछि बजेट कटौती भएपछि हामी ‘हिस्स साथी हरियो दाँत’झैँ भएका छौँ, नगरपालिका आफैँले करोड लगानी गर्ने क्षमता पनि छैन,’ अध्यक्ष राईले भने। उनका अनुसार नगरपालिकाले पोखरीको जीर्णोद्धारका लागि बर्सेनि २० लाखसम्म छुट्याउँदै आएको छ। तर, उक्त रकम पोखरीको स्तरोन्नतिका लागि ‘छेउ न टुप्पो’ भइरहेको छ।
ऐतिहासिक कमलपोखरी पूर्व–पश्चिम राजमार्गदेखि १३ किलोमिटर दक्षिणमा पर्छ। यहाँ झापा, मोरङ, सुनसरीका आन्तरिक पर्यटक अझै पनि मनग्य आउने गर्दछन्। तर, पोखरीमा पानी सुकेको देखेपछि उनीहरू खिन्न भएर फर्कने गरेको स्थानीय होटेल व्यवसायी रामकुमार राई बताउँछन्।
स्थानीयका अनुसार कमलपोखरी पोखरी सिमसार क्षेत्र मात्र नभई हिन्दू, किराँत र मुस्लिम धर्मावलम्बीहरूको संगमस्थल पनि हो। पोखरीमा हरेक वर्ष उँद्याैली र उँभौलीमा किराँतहरूको साकेला मेला लाग्ने गर्दछ। यसैले त्यहाँ साकेला थान पनि बनेको छ। यसैगरी, पोखरीको बीचभागमा रामजानकारी र महादेव विष्णुको मन्दिर अनि दक्षिणतर्फ मुस्लिमहरूको मस्जिद पनि छ।
पर्वहरूमा मन्दिरमा दर्शन गर्नेहरूको घुइँचो हुन्छ। कमलपोखरीको मनमोहकताले गर्दा नै आन्तरिक पर्यटनका लागि गाउँमा रिसाेर्ट र होमस्टेहरू पनि सञ्चालन हुँदै आएका थिए। तर, पोखरीमा पानी सुकेपछि पर्यटकहरू आउन छाडेकोले होमस्टे र होटेलहरूको व्यापार ठप्प भएको अर्का होटेल व्यवसायी राजकुमार राईले बताए।
कमलपोखरीलाई संरक्षण गर्न चासो दिएमा ग्रामीण पर्यटनमा टेवा पुग्ने र शुक्रबारे गाउँमा दुई दर्जन होमस्टे सञ्चालन गरेर रोजगार वृद्धि गर्न सकिने मोरङ २ (२) निर्वाचन क्षेत्रका प्रदेश सांसद लीलाबल्लभ अधिकारीले बताए।
उनले भने, ‘प्रकृतिको संरक्षणसँगै आन्तरिक पर्यटनबाट रोजगार वृद्धि गराउन पनि बजेट कटौती भएपछि संरक्षणविहीन भएको ऐतिहासिक कमलपोखरीको संरक्षणमा संघ र प्रदेश सरकारले चासो दिन आवश्यक छ।’