मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Wednesday, 18 December, 2024
वसन्त महर्जन
२o८o बैशाख २२ शुक्रबार १o:२७:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बौद्ध धर्म र यसका माध्यम भाषा

Read Time : > 3 मिनेट
वसन्त महर्जन
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १o:२७:oo

भाषा सञ्चारको एउटा सशक्त माध्यम हो । तर, सञ्चारका लागि यही मात्र एउटा माध्यम भने होइन । भाषाबाहेक अन्य माध्यमबाट पनि विचार तथा भावनाको आदान–प्रदान हुन्छ । वर्तमान विश्वमा हजारौँ भाषा बोलिन्छन् भने निकट भविष्यमा कतिपय भाषा लुप्त हुने आकलन विज्ञहरूको छ । यसरी नै कुनै वेला बोलिने कतिपय भाषा अहिले लुप्त भइसकेका छन् वा लोपोन्मुख छन् । केही सय वर्षअघि मात्रै विकास भएर अहिले छुट्टै पहिचान कायम गरी प्रचलनमा रहेका भाषा पनि छन् । 

भाषा विषयमै एउटा ठूलो भ्रम पाइन्छ । कतिपयलाई लाग्छ, हिन्दू धर्म–दर्शन भनेको संस्कृत भाषा हो अर्थात् संस्कृत भाषा जान्यो भने हिन्दू धर्म–दर्शन जानिन्छ । अझ संस्कृत भाषा नजान्नेलाई हिन्दू धर्म–दर्शनको अनभिज्ञ वा अल्पज्ञानी मानिन्छ । तर, वास्तविकता के हो भने हिन्दूधर्म–दर्शनसम्बन्धी ग्रन्थहरू संस्कृत भाषामा छन्, संस्कृत भाषा जानेर मात्रै हुँदैन, जानेको त्यो भाषाबाट ती ग्रन्थ पढ्नु पनि पर्‍यो, बुझ्नु पनि पर्‍यो र बोध पनि हुनुपर्‍यो । लेखपढ गर्नै नसक्नेले पनि हिन्दू धर्मको राम्रो व्याख्या गरेका वा बुझाउन सकेका दृष्टान्त पनि छन् । यसैलाई बौद्ध धर्मको सन्दर्भमा पनि जोडेर हेर्न सकिन्छ । 

हिन्दू धर्म–दर्शन र संस्कृत भाषालाई अन्योन्याश्रित गरेर बुझेजस्तै कतिपयले बौद्ध धर्म–दर्शन र पालि भाषालाई अन्योन्याश्रित गरेर बुझ्ने गरेको पनि पाइन्छ । पालि एउटा भाषा हो । गौतम बुद्धको समयमा यस भाषालाई पालि नै नाम दिएको त पाइँदैन तर यो त्यतिवेला समाजमा प्रचलित भनेर बुझ्न सकिन्छ । बुद्धले पालि भाषामा उपदेश गरेका छन् । संकलित बुद्धका उपदेशको अध्ययनबाट के स्पष्ट भएको छ भने पालि भाषामा पनि स्थानभेद रहेछ । यति मात्र नभई स्वयं बुद्धले जुन ठाउँमा जुन भाषा बोलिन्छ, त्यहाँ त्यही भाषामा उपदेश गर्नु भनेर भिक्षुलाई आज्ञा गरेका छन् । अर्थात्, यही एउटा मात्र भाषा हुनुपर्छ, यस्तै हुनुपर्छ भनेर कुनै मापदण्ड बनाएको पाइँदैन ।

 महापरिनिर्वाणपछि बुद्धका सबै उपदेश संग्रह गर्दा आजभोलि पालि भनिएको भाषामा गरियो र त्यो हालसम्म पनि सुरक्षित छ । यसको अर्थ पालि भाषा जानेपछि बौद्ध धर्मदर्शन जानिन्छ भन्ने होइन । हिन्दू धर्म–दर्शन र संस्कृत भाषाको सन्दर्भमा सुरुमा चर्चा गरिएजस्तै पालि भाषा मात्रै जानेर बौद्ध धर्मदर्शन जानेको हुँदैन । यो भाषाबाट पनि बौद्ध धर्म–दर्शनका ग्रन्थहरू पढ्न सकिन्छ, बुझ्न सकिन्छ र बोध गर्न सकिन्छ । अर्थात् यो भाषाको धुरन्धर पण्डित नै भए पनि बौद्ध धर्म–दर्शन नबुझ्न पनि सक्छ । किनभने धर्म भन्नु र भाषा भन्नु उही होइन । 

बौद्ध धर्म–दर्शनको विकासका लागि पालि, संस्कृत, तिब्बती र चिनियाँ भाषाको अध्ययन गर्नु आवश्यक हुन्छ भनिए पनि यो अर्धसत्य मात्र हो । बौद्ध धर्म–दर्शनसम्बन्धी विपुल ज्ञानराशी पालि भाषामा भएको यथार्थ नकार्न सकिन्न । बुद्धकै उपदेश भनिएको तर पालि वाङ्मयमा नभएका उपदेश संस्कृत भाषामा उपलब्ध छन् । संस्कृत भाषामा पनि बौद्ध वाङ्मयको भण्डार रहेको भुल्न सकिन्न ।

पालि भाषामा प्रायः श्रावकयानी (विशेष गरी थेरवादी)का उपदेश छन् भने संस्कृत भाषामा महायानी बौद्ध सम्प्रदायको ज्ञान पाइन्छ । अझ भनौँ, श्रावकयानभित्रकै सर्वास्तिवादीहरूको साहित्य पनि संस्कृतमै छन् । सुरुमा बौद्ध धर्म–दर्शनका ग्रन्थहरू पालि भाषामा भए पनि पछि संस्कृत भाषामा उपलब्ध भयो । र, पालि र संस्कृतमा भएका ग्रन्थहरू पछि चिनियाँ र तिब्बती भाषामा व्यापक रूपमा अनुवाद गरिए ।

बुद्धले कुनै एउटा भाषालाई निर्दिष्ट गरेका छैनन् । बुद्ध र उनका अनुयायीको सरोकार भाषा होइन, धर्म हो ।

अनुवादका क्रममा बुद्धका उपदेश मात्रै नभएर ती उपदेशका आधारमा पछि विभिन्न आचार्यले गरेका अट्ठकथा वा टिप्पणी तथा व्याख्या पनि चिनियाँ र तिब्बती भाषामा पुगे । चिनियाँ र तिब्बती भाषामा अनुवादका अलावा मौलिक लेखन पनि भयो । भारतीय भूक्षेत्रमा रचना गरिएका संस्कृत भाषाका ग्रन्थहरू कालकवलित भए पनि चिनियाँ र तिब्बती भाषामा अनुवाद भएर सुरक्षित रहेका पाइन्छन् । 

बौद्ध धर्म–दर्शनसम्बद्ध ग्रन्थका अनुवादक मनिषीहरूले मौलिक ग्रन्थको मौलिकता यथावत् राखी आआफ्नो भाषामा अनुवाद गर्ने एउटा राम्रो र दूरदर्शी उपाय अवलम्बन गरेका रहेछन् । साथै, निश्चित शब्दका लागि निश्चित शब्दबाट मात्रै अनुवाद गर्ने भनी मानक नै तयार पारेका रहेछन् । यसको राम्रो नतिजा, आजभोलि चिनियाँ वा तिब्बती भाषाबाट पुनः संस्कृतमा अनुवाद गरेर फर्काउने अवसर पाइएको छ । साथै यिनै चार भाषामा रहेका बौद्ध धर्म–दर्शनका ग्रन्थहरू विश्वका विभिन्न भाषामा अनुवाद भइरहेका छन् । 

बौद्ध धर्म–दर्शनका लागि पालि, संस्कृत, चिनियाँ र तिब्बती भाषाको महत्व नभएको होइन । यी भाषाबाट अनुवाद गर्नुपर्ने काम पनि थुप्रै बाँकी छन् । प्राज्ञिक अध्ययनका लागि पनि यो राम्रो क्षेत्र हो । यसबाट तत्कालीन इतिहास र समाज विज्ञान पनि खोतल्न सकिन्छ । तर, सबैको सरोकार यो हुनैपर्छ भन्ने छैन । सबैको लक्ष्य अनुवादक हुने हुँदैन । शंका लागेर स्रोतसँग भिडाएर अध्ययन गरिराख्ने धैर्य पनि सबैसँग हुँदैन ।

आआफ्नो पहुँचमा रहेका भाषामा उपलब्ध ग्रन्थ पढेरै पनि आधारभूत ज्ञान प्राप्त गर्न सकिन्छ । अझ प्रकाशित ग्रन्थ नै धर्म होइनन्, बरु यी जानकारी मात्र हुन् । राम्रो जानकारी भएपछि अभ्यास गर्ने हो र अभ्यासपछि ज्ञान पाउने हो । यसलाई परियति (धर्मबारे शिक्षा वा जानकारी हासिल गर्ने), प्रतिपति (प्राप्त शिक्षालाई व्यवहारमा उतार्ने वा साधना गर्ने) र प्रतिवेद (प्रज्ञा हासिल गर्ने) भनिन्छ । 

बौद्ध धर्म–दर्शनको आफ्नो छुट्टै भाषा छैन, जहाँ जुन भाषाको आवश्यकता पर्‍यो, त्यहाँ त्यही भाषामा यसलाई उपलब्ध गराउनुपर्छ । कुनै एक भाषा विशेष जान्दैमा बौद्ध धर्म–दर्शन जान्ने वा नजान्ने हुँदैन । बरु अनुवाद ठिक ढङ्गले भयो वा भएन भन्ने महत्वपूर्ण हुन्छ । यही भएर आजभोलि विश्वका प्रमुख भाषामा बौद्ध धर्म दर्शनका ग्रन्थको व्यापक अनुवाद तथा लेखन भइरहेको छ । जिज्ञासुले आफ्नो सुविधाअनुसार भाषा छनोट गर्न सक्छ । बुद्धले कुनै एउटा भाषालाई निर्दिष्ट गरेका छैनन्, अर्थात् गौतम बुद्ध र उनका अनुयायीको सरोकार भाषा होइन, धर्म हो ।