Skip This
हरेक शुक्रबार गुल्मी उडान गर्दै निगम, आज परीक्षण उडान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Friday, 26 July, 2024
नवीन अर्याल काठमाडौं
२o८o बैशाख १५ शुक्रबार o६:o५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हरेक शुक्रबार गुल्मी उडान गर्दै निगम, आज परीक्षण उडान

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार o६:o५:oo

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (एनएसी)ले सातामा एक दिन शुक्रबार गुल्मीको रेसुंगा विमानस्थलमा उडान गर्ने भएको छ । नियमित उडान सुरु गर्नुपूर्व निगमले शुक्रबार (आज) रेसुंगामा परीक्षण उडान गर्दै छ । 

निगमको डिएचसी–६ ट्विनअटर जहाज बिहान ६ः३० बजे काठमाडौंको त्रिभुवन विमानस्थलबाट गुल्मीको रेसुंगातर्फ प्रस्थान गर्नेछ, जसमा उडान दलको नेतृत्व क्याप्टेन मनेश विष्टले गर्नेछन् । 

निगमलाई गुल्मीमा ‘टेस्ट ल्यान्डिङ प्रमिसन’ दिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । परीक्षण उडानमा निगम र क्यानका विज्ञ तथा प्राविधिक मात्र सहभागी हुने बताइएको छ ।

अब निगमले हरेक शुक्रबार गुल्मीमा उडान गर्ने सहमति भइसकेको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए । 

‘निगमसँग १४ फागुनमै सहमति भएको थियो, १७ फागुनमा टेस्ट फ्लाइट गरेर लगत्तै नियमित उडान गर्ने तयारी भए पनि क्यानले अनुमति नदिँदा रोकिएको थियो,’ उनले भने, ‘यसपटक काठमाडौंमा हप्ता दिनसम्म धर्ना बसेर टेस्ट फ्लाइट र नियमति फ्लाइटको टुंगो लगाई गुल्मी फर्किएको छु ।’

निगमले हरेक शुक्रबार गुल्मी उडान गर्ने तयारी गरे पनि नियमनकारी निकायबाट अझै अनुमति भने पाइसकेको छैन । 

‘निगमले टेस्ट फ्लाइट गरिसकेपछि नियमित फ्लाइटका लागि त्यसको रिपोर्टसहित क्यानमा सेड्युल (उडान तालिका) पठाउनुपर्नेछ,’ भुलले भने, ‘टेस्ट फ्लाइटको प्रतिवेदन हेरेर उडान तालिका स्वीकृत गरेपछि नियमित उडान सुरु हुनेछ ।’

एक साताभित्रै नियमित उडान सुरु गरिहाल्ने तयारी भइरहेको मेयर पन्थीले जानकारी दिए । ‘जहाजको दुईतर्फी उडानमा ३० सिट हुनेछन्, जसमध्ये नौ सिट नगरपालिकाले व्यहोर्ने सहमति भएको छ,’ उनले भने, ‘तर, गुल्मीमा सहजै यात्रु पाइने अपेक्षा गरेका छौँ, सबै टिकट बिक्री हुनेछन् ।’ 

यसअघि तारा एयरले रेसुंगा विमानस्थलको कच्ची धावनमार्गमै पहिलोपटक २७ जेठ ०७५ मा परीक्षण उडान गरेको थियो । त्यसपछि नियमित उडान गर्ने योजनास्वरूप ताराले नै २४ पुस ०७९ मा रेसुंगामा डेमो फ्लाइट गरेको थियो । 

काठमाडौंबाट उडेको करिब ५० मिनेटमा ताराको ट्विनअटर जहाज रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो । उक्त दिन खुसियाली मनाउन रेसुंगा नगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो । ताराले दुई साताभित्र नियमित उडान गर्ने बताए पनि उडान भने भएन । 

‘भोलिका दिनमा उडान बढाउनुपर्‍याे भने ताराले पनि उडान गर्नेछ,’ मेयर पन्थीले भने, ‘गुल्मीमा हवाई यात्रु पाइने अपेक्षा वायुसेवा कम्पनीको छ ।’

ज्यादै बिग्रिएको सडकबाट काठमाडौंदेखि गुल्मी पुग्न २४ घन्टासम्म लाग्ने हुनाले पनि गुल्मेलीले जहाज चढ्ने सम्भवना देखिएको हो । 

पछिल्लो समय गुल्मीबाट बुटवलसम्म गाडीमा आउने र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्लेन चढेर काठमाडौं आउने यात्रु धेरै छन् । ती यात्रुहरू गुल्मीबाटै सीधै काठमाडौं जहाज उडान गर्ने अपेक्षा छ । 

०६३ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीले सिमिचौरमा विमानस्थलको शिल्यान्स गरेका थिए । त्यसको नौ वर्षपछि बल्ल ०७२ सालमा विमानस्थल निर्माण सुरु गरिएको थियो । 

यो विमानस्थलको धावनमार्गको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । पाल्पा–तम्घास सडकबाट विमानस्थल पाँच किलोमिटर दक्षिणतर्फ रहेको छ । 

एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल निर्माणमा अहिलेसम्म करिब ३५ करोड लगानी भइसकेको छ ।