मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १४ बिहीबार १o:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौँ : नैनसिंह महर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार १o:२o:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्। राजधानीको नयाँ बानेश्वरमा सम्पर्क समितिहरूसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा  नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए ।

‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ,’ उनले भने।  प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ ।

मंसिर ४ मा आमनिर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दासमेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुःखद रहेकाे उनले बताए । ‘पार्टीलाई व्यवस्थित, समय सान्दर्भिक र परिष्कृत बनाउन पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ। अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ,’ महर भन्छन्।

पार्टीमा देखिएका कमी–कमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने वेला आएको उनको भनाइ छ। ‘हाम्रासामु जनताको भावना र परिवर्तनलाई आत्मसात् गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने चुनौती छ । यसको सामना गर्न समयानुकूल रणनीति अख्तियार गर्न हामीलाई चुक्ने छुट छैन,’ महर भन्छन्।

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्ण रूपमा परिष्कृत हुनुपर्ने सन्देश दिएको उनले बताए । नागरिकको भावनाअनुसार काम गर्न सके मात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने महरले बताए। उपनिर्वाचनको नतिजा मूलधारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो।

‘मूलधारका राजनीतिक दलहरूले उपनिर्वाचनमा अपेक्षित नतिजा नल्याउनुमा आमनिर्वाचनपछि बनेको वाम गठबन्धन र उनीहरूको भूमिका पनि बाधक बन्यो,’ उनी भन्छन्, ‘कांग्रेस नेतृत्वको चुनावअघिकै गठबन्धन कायम रहेको भए पनि यो अवस्था आउने थिएन। केही परिस्थितिले राजनीति फेरिन पुग्यो। त्यसले मूलधारका सबै राजनीतिक दललाई असर गर्‍यो।’

राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा पैदा हुँदा नवउदित  शक्तिहरूलाई फाइदा पुगेको महरको बुझाइ छ। मुलुकको स्थायी राजनीतिक शक्ति मूलधारका पार्टी रहेको भन्दै कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।

‘स्थायी राजनीतिक शक्ति पनि मूलधारकै पार्टी हुन्। केही गल्ती–कमजोरी पनि भएका होलान्। अब ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ,’ उनले भने। ठूला राजनीतिक दलहरूले समयसापेक्ष राजनीतिक दललाई परिवर्तित गर्न नसक्दा मुलुकको राजनीति लिकबाहिर जान खोजिरहेको उनले चिन्ता व्यक्त गरे।

‘हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावनाअनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छ,’ उनले भने, ‘पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाव र गतिशीलता खोजेको संकेत दिएको छ । हामी यसका लागि तयार हुनुपर्छ ।’ समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोहीअनुरूप गतिशील हुन सक्नुपर्ने उनको तर्क छ ।