१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Friday, 27 September, 2024
अनिल यादव काठमाडाैं
२o८o बैशाख १४ बिहीबार o६:११:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जसपा–जनमत टकराव : वर्चस्वको लडाइँमा यादवले लिए राउतसँग बदला 

Read Time : > 4 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार o६:११:oo

उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)को आवाजसामु ठूला दलको केही चलेन । तर, बारा २ मा भने घन्टीले आवाज निकाल्नसमेत (जमानत बचाउन) सकेन, जहाँ सत्तागठबन्धनका उम्मेदवार विजयी भए । जसरी पनि संसद् प्रवेश गर्ने उपेन्द्र  यादवको ‘मिसन’ पाँच महिनामै सफल भएको छ ।

निर्वाचनमार्फत यादवले मधेसमा उदयमान शक्ति जनमतका अध्यक्ष सिके राउतसँग बदला मात्र लिएका छैनन्, मधेसमा अन्य दलको पनि सान्दर्भिकता कायमै छ भन्ने सन्देश दिएका छन् । यादवको विजयले गठबन्धनमा रहेका कांग्रेस र माओवादीलाई मात्र होइन, विपक्षी एमालेलाई पनि सान्त्वना दिएको छ । 

पहिलो राजनीतिक टकरावमा राउतले जिते पनि यसपटक राउतका उम्मेदवार कुसवाहलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै यादव विजयी भए । यादवले २८ हजार चार सय १५ मत पाउँदा कुसवाहले २३ हजार तीन सय ३४ मत पाए । त्यस्तै, एमालेका पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत ल्याउँदै तेस्रो स्थानमा चित्त बुझाए । 

गत ४ मंसिरको निर्वाचनमा सप्तरी २ मा जनमत अध्यक्ष राउतसँग भारी मतान्तरले हारेका यादव अघिल्लो हारको बदला लिँदै बारा २ बाट निर्वाचित हुन सफल भए । मंसिरको निर्वाचनमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका माओवादीका शिवचन्द्रप्रसाद कुसवाहलाई पार्टी प्रवेश गराएर राउतले यादवविरुद्ध भिडाएका थिए । राउत सम्पूर्ण शक्ति लगाएर यादवलाई हराउने ‘मिसन’मा लागेका थिए ।

आवरणमा कुसवाह उम्मेदवार देखिए पनि पाँचदलीय गठबन्धनको सहयोग पाएका यादवलाई हराउन राउतले धेरै नै समय र शक्ति खर्चिए । करिब एक महिनादेखि चुनावी मैदानमा खटिएका उनी आफैँ मतदाताको घरदैलो र खेतबारीमा कुसवाहलाई मत माग्दै हिँडेका थिए । यादवलाई ‘फिरंगी’ उम्मेदवार भन्दै उनले स्थानीय उम्मेदवार जिताउन भाषण गरिरहे । 

राउत दोस्रोपटक पनि हराएर यादवको संसद् प्रवेशको बाटो बन्द गराउन चाहन्थे । तर, राउतकै उम्मेदवार हराउने र बदला लिएर संसद् जाने यादवको योजना थियो । त्यसैले बारा २ को उपनिर्वाचनलाई यादव–राउतबीचकै राजनीतिक टकरावका रूपमा हेरिएको थियो । 

जसपा प्रवक्ता मनीष सुमन बारा २ को जितले मधेसको राजनीतिमा जसपाको साख नगुमेको सन्देश दिएको बताउँछन् । ‘जनमतले प्रत्यक्षमा एक सिट मात्रै जित्दा र हाम्रो पार्टी अध्यक्ष उपेन्द्र यादवले हारेकै कारण मधेसमा नयाँ शक्तिको उदय भयो भनेर एक खालको भ्रम सिर्जना गरिएको थियो,’ उनी भन्छन्, ‘अहिलेको हाम्रो जितले त्यो भ्रम चिरिदिएको छ । मधेसको खास पार्टी जसपा नै हो भन्ने सन्देश उपनिर्वाचनले दिएको छ ।’

यादवलाई संसद् प्रवेशमा रोक्न जनमत अध्यक्ष राउत स्वयं चुनावी मैदानमा खटिए पनि आफूहरू जित निकाल्न सफल भएको सुमन बताउँछन् । ‘सप्तरीमा प्राविधिक कारण सिके राउतले जिते पनि बारा २ मा उहाँ उम्मेदवार हुनुहुन्थेन । तर, आफैँ उम्मेदवारजसरी उपेन्द्रजीलाई रोक्न मैदानमा खटिनुभयो,’ उनले भने, ‘तल्लो स्तरको भाषणसम्म गर्नुभयो । तर, बाराका जनताले उपेन्द्र यादवलाई मत दिएर उहाँ मधेसको राजनीति र संसद्मा चाहिने व्यक्ति हो भनेर सन्देश दिएका छन् ।’

जसपाकै नेता सांसद राजकिशोर यादव गत निर्वाचनमा सप्तरी २ को परिणामले एक प्रकारको झट्का दिएको र बारा २ ले एक मौका दिएका बताउँछन् । मतदातामाझ ठूला दलहरूप्रति आक्रोश र विश्वासको संकट देखियो,’ यादवले भने, ‘बारा २ मा भने त्यहाँका जनताले जसपाप्रति एक प्रकारको विश्वास प्रकट गरेका छन् । अब हामी जनतालाई परिणाम दिने गरी अगाडि बढ्नुपर्छ भन्ने सन्देश पनि हो ।’

कुसवाहलाई जिताउन करिब एक महिनादेखि बारा २ को चुनावी मैदानमा राउतसँगै खटिएका जनमत पार्टीका नेता बिपी साह प्राविधिक रूपमा हारे पनि राजनीतिक रूपमा आफूहरूले जितेको बताउँछन् । ‘परिणामले हाम्रो वर्चस्वमा ब्रेक लागेको छैन,’ उनले भने, ‘हामीसँग ठूला भनिएका दल डराए, गठबन्धन गरेर लड्न आए । मंसिरमा प्रत्यक्षतर्फ हामीले २७ सयजति मत मात्रै ल्याएका थियौँ, अहिले २३ हजार बढी ल्यायौँ । प्राविधिक हिसाबले पाँच हजार मतान्तरले चुनाव हारेको हो, तर राजनीतिक रूपमा यो हाम्रो हार होइन ।’

बलियो संगठन नहुँदा विनागठबन्धन एक्लै चुनाव लडेर प्रतिस्पर्धात्मक मत ल्याउनु आफूहरूको जित भएको जनमतको तर्क छ । ‘जुन ठाउँमा हाम्रो संगठन र मत नै थिएन, त्यस्तो ठाउँमा गठबन्धनविरुद्ध लडेर यत्रो मत ल्याउनु भनेको जित नै हो,’ नेता साहले भने, ‘हिजो मधेसमा पहिचान, संघीयता, समावेशिता आदि मुद्दाका लागि राजनीति हुँदै थियो भने अहिलेको राजनीति शिक्षा, स्वास्थ्य र विकासका लागि भइरहेको छ । जसरी मधेसमा हाम्रो क्रेज बढिरहेको छ, यसबाट प्रस्ट भन्न सकिन्छ– अर्को चुनावसम्म जनमतले ठूलै छलाङ मार्छ ।’

मधेस मामिलाका जानकार विश्लेषक चन्द्रकिशोर बारा २ मा प्राविधिक हिसाबले यादवले जिते पनि राजनीतिक रूपमा भने उनले हारेको बताउँछन् । ‘कुनै समय मधेसमा उपेन्द्र यादव यति प्रभावशाली थिए कि त्यहाँ कांग्रेस, एमालेलगायत दलले चुनाव लड्नलाई उनी र उनको दलसँग अनुमति लिनुपथ्र्यो या सहकार्य गर्नुपथ्र्याे,’ उनले भने, ‘तर, अहिले तिनै दलहरूको बैसाखी टेकेर उनले चुनाव लड्नुपर्ने अवस्था आयो । यादवले सत्तागठबन्धन र सिंगो मधेस सरकारको ताकतले यो जित हासिल गर्न सफल भए । निर्वाचन आयोगको अभिलेखमा बारा २ मा उनले जितेको देखिए पनि राजनीतिक रूपमा हारेका छन् । ’

मधेस राजनीतिमा उनको शक्ति क्षयीकरण हुँदै गएको देखाउने चन्द्रकिशोरको विश्लेषण छ । ‘हालका लागि उनको मन्त्रिमण्डलमा स्वागत हुन सक्छ । उनी जसपाको संसदीय दलका नेता चुनिनेछन् र दलमाथिको नियन्त्रण कायम राख्नेछन्,’ उनले भने, ‘यता सिके राउतले भने राजनीतिक रूपमा जितेका छन् । एक्लो बलबुतामा उनको पार्टीले त्यहाँ सम्मानजनक मत ल्याएको छ । यसले मधेसमा उनीप्रतिको आकर्षण झन् बढ्नेछ ।’ 

बारा २ मा यादवलाई जिताउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहितको सत्तागठबन्धन थियो । यता जसपासँगैको सत्तागठबन्धनमा रहेको जनमतको चुनावको सम्मुखमा आश्वासन पाएको मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको थियो । मधेसबाट समानुपतिक मतमा जसपाभन्दा बढी मत ल्याए पनि मुख्यमन्त्री नपाएको र उपराष्ट्रपति पदमा पनि जसपाले नै दाबी गरेका कारण सत्तागठबन्धनभित्र जनमत रुष्ट थियो । सत्तागठबन्धन जसपाअनुकूल भएपछि केन्द्रीय सरकारबाट बाहिरिए पनि मधेस प्रदेश सरकार भने छाडेको छैन । 

सप्तरीमा हारेपछि यादव सुरुदेखि नै बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएर आफू उपनिर्वाचनमार्फत संसद् छिर्ने योजनामा थिए । उनको यही मिसनलाई साथ दिँदै सत्तागठबन्धनले जसपालाई उपराष्ट्रपति पद दिन तयार भएपछि एउटै सरकारमा भएकै वेला जनमतले ममता झालाई उम्मेदवार बनाउन बाध्य भएको थियो । सप्तरी हुँदै उपराष्ट्रपतिको निर्वाचनसम्म देखिएको जसपा–जनमत टकरावको शृंखला बारा २ मा पुग्दासम्म रोकिएन । 

अघिल्लो निर्वाचनको तुलनामा यसपटक बारा २ मा जसपाका यादव विजयी भए पनि जनमतको मत भने बढेको देखिन्छ । मंसिरको निर्वाचनमा जनमत पार्टीका राजेश साहले यहाँ दुई हजार सात सय २५ मत मात्रै ल्याएका थिए । 

बारामा सुनिएन घन्टीको आवाज, खरेलको जमानत जफत
चितवन र तनहुँमा घन्टी (रास्वपाको चुनाव चिह्न)को लहर चल्दा मधेस प्रदेशको बारामा भने वेग चलेन । पूर्वडिआइजीसमेत रहेका रमेश खरेल सुशासन पार्टीका सभापति हुन् । तर, घन्टीप्रतिको क्रेज देखेरै उनी उपनिर्वाचन लड्न बारा २ पुगेका थिए । उनले जमानत पनि जोगाउन सकेनन् । कुल सदर मतको १० प्रतिशत अर्थात् ६ हजार आठ सय १९ मत प्राप्त गर्नुपर्नेमा उनले दुई हजार आठ सय २९ मत मात्र पाए । बारामा खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ ।

तीनवटै क्षेत्रको परिणाम सार्वजनिक 

१० वैशाखमा उपनिर्वाचन भएका तीनवटै क्षेत्रको परिणाम सार्वजनिक भएको छ । मंगलबार तनहुँ १ र चितवन २ को परिणाम सार्वजनिक भएको थियो भने बुधबार बारा २ को नतिजा आएको हो ।

बारा २ मा पाँचदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहलाई पाँच हजार ८१ मतान्तरले हराउँदै आफ्नो संसद् यात्रा सुनिश्चित गरेका हुन् । यादवले २८ हजार चार सय १५ मत ल्याएर विजयी हुँदा कुसवाहले २३ हजार तीन सय ३४ मत ल्याए ।

त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६, रास्वपाका रमेश खरेलले दुई हजार आठ सय २९ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत ल्याए ।

त्यस्तै, चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन् । लामिछानेले ४२ हजार नौ सय ६२ मतान्तरसहित कांग्रेसका प्रतिस्पर्धी उम्मेदवार जितनारायण श्रेष्ठलाई हराएका हुन् ।

तनहुँ १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । वाग्ले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार सात सय ९६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।