मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Thursday, 03 April, 2025
ब्रह्म चेलानी
२o८o बैशाख ११ सोमबार १o:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–भारत टकरावले एसियाली भूराजनीति बदल्दै

हिमालय क्षेत्रमा चिनियाँ सेना निष्क्रिय हुनुले सीले भारतसँग जित्न नसकिने लडाइँमा हात हालेका थिए भन्ने स्पष्ट हुन्छ

Read Time : > 2 मिनेट
ब्रह्म चेलानी
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार १o:o९:oo

हिमालय क्षेत्रको भारतीय भूमिमा तीन वर्षयता चीनले लुकिछिपी अतिक्रमण गर्दै आएको छ । यस सन्दर्भमा दुई मुलुकबीचको सीमा विवाद कुन बाटो जान्छ भन्ने टुंगो छैन । दुई प्रतिद्वन्द्वीको सैन्य अग्रसरता र छिटपुट भिडन्त पश्चिमा जगत्को चासोको विषय नबने पनि लामो समयदेखिका दुई प्रतिद्वन्द्वीबीचको बढ्दो सीमा टकरावले एसियाली भूराजनीतिलाई बदल्न सक्छ । 

युद्ध नै निम्त्याउने जोखिम मोल्दै चीनसँग सिँगौरी खेलेर भारतले चिनियाँ शक्तिलाई विश्वमै सबैभन्दा ठूलो चुनौती दिएको छ । यस्तो चुनौती अमेरिकालगायतका अन्य विश्व शक्तिले पनि दिन सकेका छैनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको रणनीतिक धुत्र्याइँका कारण भारतले पनि यसअघिको तुष्टीकरण नीतिलाई त्यागेको छ र सैन्य तैनाथी बढाइरहेको छ । भारतले एक सम्भावित साझेदारलाई दीर्घकालको शत्रु बनाइरहेको छ र यसले सम्भवतः चीनकेन्द्रित एसियामा पनि रोक लगाउन सक्नेछ ।       

त्यसैगरी, सीको दबंगाई संशोधनवाद र भूराजनीतिक महत्वाकांक्षाले जापान र अस्ट्रेलियालाई आफ्नो रणनीतिक ढाँचामा फेरबदल गर्न बाध्य बनाएको छ र हिन्द–प्रशान्त क्षेत्रमा चीनको विस्तारवादविरुद्ध काम गर्न एकठाउँमा ल्याइदिएको छ । सन् २०२७ सम्ममा रक्षा खर्च दुई गुणाले बढाउने योजना बनाएर जापानले विश्वयुद्धपश्चात्को अहिंसात्मक राष्ट्रिय सुरक्षा नीतिलाई मूलतः परिवर्तन गरेको छ । अस्ट्रेलियाले पनि रक्षात्मक नीति त्यागेर अमेरिका र बेलायतसँग संयुक्त रूपमा औकुस रक्षा सम्झौता गरेको छ । 

सन् २०२० को वसन्तमा चीनले भारत कोभिड– १९ महामारीका कारण कडा लकडाउन लागू गरिहँदा चीनले रणनीतिक उद्देश्यका लागि कोभिड– १९ महामारीलाई थप प्रयोग गर्ने कुत्सित मनसायसाथ भारतको लद्दाख क्षेत्रका हजारौँ वर्ग किलोमिटर भूमिमा कब्जा जमाउने प्रयास गरेको थियो । तर, सीले चीनले गरेको भूमि कब्जालाई भारतले चुपचाप स्विकार्नेछ भन्ने गलत बुझाइ निर्माण गरेका थिए । तर, त्यसयता भारतले चीनसँग सैन्य बराबरी गरेको छ र हिमालय अत्यधिक प्रतिकूल क्षेत्रमा सैन्य तैनाथी बढाएको छ । भारत टसमस नहुँदा सीले सन् २०२० मा कब्जा प्रयास गरेको ठाउँबाट दुई हजार किलोमिटरपूर्वको हिमाली क्षेत्रमा सेना तैनाथी फैलायो । डिसेम्बर २०२२ मा अरूणाचल क्षेत्रको रणनीतिक महत्व बोकेको सीमाक्षेत्रमा घुसपैठ गरेका चिनियाँ सेनालाई भारतीय सुरक्षा बलले अमेरिकी गुप्तचरीको सहयोगमा पछाडी धकेलेको थियो ।      

हिमालय क्षेत्रमा चिनियाँ सेना निष्क्रिय हुनुले सीले भारतसँग जित्न नसकिने लडाइँमा हात हालेका थिए भन्ने स्पष्ट हुन्छ
 

भूमिमा दाबी जमाएर भारतलाई उत्तेजित बनाउने नियतसाथ चीनले अरूणाचलका केही क्षेत्रका नाम नै चिनियाँकरण गरेको छ । अरुणाचल प्रदेशलाई ‘दक्षिणी तिब्बत’ करार गरेर चीनले ताइवानभन्दा दुई गुणा ठूलो भूमिलाई ‘चिनियाँ भूमि’ बनाएको छ र भारतीय भूमिको चिनियाँकरण गर्नुलाई ‘सार्वभौम अधिकार’ ठान्छ । यसले भारतलाई ताइवान स्वायत्त क्षेत्रप्रति धारणा बनाउन बाध्य बनाएको छ ।

यदि ताइवान चीनको कब्जामा पर्ने हो भने अस्ट्रियाबराबरको अरुणाचल प्रदेश चिनियाँ सरकारको ‘पुनः एकीकरण’को तारो बन्न सक्छ । सन् १९५१ मा चीनले तिब्बत कब्जाले विश्वयुद्धपश्चात्को ठूलो भूराजनीतिक विकास निम्त्याएको थियो, जहाँ उसले भारत, नेपाल, भुटान र उत्तर–पश्चिमी म्यान्मारबीच साझा सिमाना बनाएको थियो । ताइवानमा कब्जा जमाउँदा उल्लेख गरिएजस्तै भूराजनीतिक उथलपुथल हुनेछ जहाँ चीनको जलसेनाले ’प्रथम द्वीप समूह’ टुक्र्याएर प्रशान्त क्षेत्रमा सजिलो पहुँच पाउनेछ ।   

ताइवान ‘जहिल्यै’ चीनको हिस्सा थियो भन्ने दाबी ऐतिहासिक रूपमा त्रुटिपूर्ण छ । ताइवान १९औँ शताब्दीको अन्त्यताका मात्रै चीनको प्रान्त बनेको थियो र त्यसको पाँच वर्षमै चीनले ताइवान द्वीपमा नियन्त्रण गुमाएको थियो । तैपनि, ताइवानलाई लिएर सीले गरिरहेको दाबी माओत्सेतुङकै विस्तारवादी ‘विशाल चीन’ हासिल गर्ने उद्देश्यकै निरन्तरता हो । 

त्यसैगरी, तिब्बत हिमालय क्षेत्रको चिनियाँ विस्तारवादको एक मुख्य मार्ग हो जब कि तिब्बत चीनको हिस्सा तब बनेको थियो जब चीन आफैँ मंगोल र मन्चुको कब्जामा परेको थियो । चीनले तिब्बतलाई कुनै पनि हान–चिनियाँ सम्बन्धका आधारमा दाबी गर्न सक्दैन । हुँदाहुँदा सानो भुटान पनि चिनियाँ विस्तारवादबाट जोगिन सकेको छैन । 

यो अवस्थामा भारतको अडानले सीको विस्तारवादी एजेन्डालाई खुम्च्याइरहेको छ । अमेरिकी जलसेना प्रमुख मिसेल एम गिल्डेले गत वर्ष भनेझैँ भारतका कारण चीनलाई ‘दुई मोर्चा’बाट समस्या भइरहेको छ । भारतले ‘चीनलाई पूर्वमा साउथ चाइना सी र ताइवान मात्रै नभई भारततर्फ पनि चनाखो रहनुपर्ने अवस्थामा पुर्‍याइदिएको छ,’ भन्दै गिल्डेले टिप्पणी गरेका थिए । 

यसबाहेक चीन–भारत शत्रुता त्यसवेला बढेको छ जब चिनियाँ अर्थतन्त्र कमजोर भइरहेको छ, जनसंख्या बूढो हुँदै र खुम्चिँदै गइरहेको छ, र उत्पादकत्व घटिरहेको छ । ठीक विपरीत भारतमा विश्वकै सबैभन्दा कम युवा जनसंख्या छ । चीनको तुलनामा कुल गार्हस्थ्य उत्पादन कम भए तापनि भारत विश्वमै तीव्र वृद्धिका साथ अगाडि बढिरहेको छ । उसो त चीनको सेना मध्यमस्तरको पहाडी क्षेत्रमा सबैभन्दा बढी अनुभव भएको सेना हो, तर भारतलाई हिमाली क्षेत्रमा लाभ देखिन्छ । त्यसमाथि भारतका सेना स्वेच्छिक रूपमा सेना भएका हुन् न कि चीनमा झैँ जबर्जस्ती बनाइएका ‘स्वेच्छिक’ हुन् । यसकारण पनि चीन प्रत्यक्ष लड्नुको साटो लुकिछिपी अतिक्रमण गर्न रुचाउँछ । 

हिमालय क्षेत्रमा चिनियाँ सेना निष्क्रिय हुनुले सीले भारतसँग जित्न नसकिने लडाइँमा हात हालेको हो भन्ने स्पष्ट हुन्छ । त्यसमाथि अमेरिका–चीन टकराव बढिरहेका वेला आफ्नो सबैभन्दा ठूलोमध्येको एक छिमेकीलाई स्थायी शत्रु बनाउनु ठूलो भुल हुनेछ । त्यसमाथि भारत र अमेरिकाको नजिकिँदो सम्बन्धले सीको विरासतमा धक्का पुग्ने देखिन्छ । 
(चेलानी दिल्ली आधारित सेन्टर फर पोलिसी रिसर्चमा रणनीतिक अध्ययनका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट