१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Monday, 30 September, 2024
श्रवण थापा सर्लाही
२o८o बैशाख ११ सोमबार o७:o८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लालपुर्जा दिने भन्दै विपन्नसँग असुलेको पैसा स्थानीय तहको पहलमा फिर्ता

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार o७:o८:oo

सर्लाहीको चन्द्रनगरमा गाउँब्लक जग्गाको लालपुर्जा दिने भन्दै विपन्नसँग असुलेको पैसा फिर्ता भएको छ । चन्द्रनगर गाउँपालिका– ४ स्थित गाढाटोलका विपन्न मुसहर र दलित परिवारसँग घडेरीको लालपुर्जा दिने भन्दै असुल गरेको पैसा गाउँपालिकाका जनप्रतिनिधिको पहलमा फिर्ता भएको हो । 

पुस्तैनीदेखि बसोवास गर्दै आएका मुसहर र दलित परिवारलाई गाउँ ब्लकको लालपुर्जा दिने भन्दै पूर्वजनप्रतिनिधि शिवचन्द्र राय र नापी कार्यालयका कर्मचारीले पैसा असुलेका स्थानीयको आरोप थियो । यसरी गाउँमा घरलौरी लालपुर्जा दिने भन्दै पैसा संकलन सुरु गरेपछि दैनिक ज्याला मजदुरी गरेर जीवन धान्दै आएका दलित तथा अति विपन्न परिवारले ऋणधन गरेर पैसा बुझाएका थिए । गाउँमा जनही हजार रुपैयाँदेखि पटक–पटक गरेर तीन हजार रुपैयाँसम्म उठाएको पाइएको छ । लालपुर्जा पाउने आसमा सय कडा चार रुपैयाँ ब्याजमा ऋण काढेरै भए पनि पैसा बुझाएको स्थानीयको भनाइ छ । 

स्थानीयले आफूहरू ठगिएको भन्दै गाउँपालिकामा उजुरी गरेपछि घटना बाहिर आएको थियो । घटना बाहिर आएलगत्तै गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको पहलमा बैठक बसेर पैसा फिर्ता गराइएको हो । गाढाटोलका स्थानीय नागेन्द्र माझीले लालपुर्जाका लागि भन्दै आफूसँग तीन हजार रुपैयाँ लिइएको गुनासो गरे । लोसपा नेता तथा पूर्ववडासदस्य रायसहितले पैसा मागेर लगेको उनको दाबी छ ।

सोही टोलकी शारदा माझीले पनि माग्न आएपछि लालपुर्जाका लागि भनेर दुई हजार रुपैयाँ बुझाएको बताइन् । पूर्ववडासदस्य रायले घरमै आएर पैसा मागेपछि ऋण गरेर दुई हजार रुपैयाँ दिएको उनको भनाइ छ । ‘लालपुर्जा नै पाउने भएपछि काम गर्ने गरेको इँटा उद्योगका साहुसँग ऋण काढेर दुई हजार रुपैयाँ बुझाएको छु,’ माझीले भनिन् ।

गाढा टोलकै कमल माझी, सन्झादेवी माझी, चुल्हियादेवी माझी, सुखल माझी, चन्द्रदेवी यादव, चिन्गी डोम चमारलगायतसँग पनि पैसा उठाइएको छ । आइतबार सोही घटनामा संलग्न पूर्ववडासदस्य रायसहित गाउँपालिकाकी उपप्रमुख गीतादेवी महतो, वडाध्यक्ष, पीडित परिवारलगायतको उपस्थितिमा बैठक बसेको थियो । बैठकमा संकलन गरेको ३० हजार पैसा फिर्ता गरेको गाउँपालिका कार्यालयले जनाएको छ । रायले आफूखुसी पैसा नलिएको दाबी गरे । लाभग्राहीकै अनुरोधमा नापी तथा मालपोत कार्यालयका कर्मचारीको अतिथि सत्कारका लागि रकम लिएको उनको भनाइ थियो ।

‘गाउँकै केही व्यक्तिहरूले पैसा संकलन गर्ने र कर्मचारीहरूको सत्कार गर्ने जिम्मा सुम्पिएकाले मैले लालपुर्जा पाउने व्यक्तिसँग पैसा लिएको हो,’ उनले भने, ‘मैले आफ्नो स्वार्थका लागि लिएको होइन ।’ नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरले २५ रुपैयाँ दस्तुरबाहेक लालपुर्जाका लागि अतिरिक्त रकम नलाग्ने बताएका छन् । यसरी अशिक्षित विपन्न नागरिकसँग पैसा उठाउनु गैरकानुनी कार्य रहेको उनको भनाइ छ । चन्द्रनगर क्षेत्रमा गाउँब्लकको जग्गाधनीलाई लालपुर्जा बाँड्ने तयारी भइरहेको भन्दै उनले २ नम्बर नापी टोलीले काम गरिरहेको पुष्टि गरे ।

कार्यालय प्रमुख मानन्धरले नापी कार्यालय र कार्यालयको सेवा सुधारमा लागिपरेको समेत दाबी गरे । उनले चन्द्रनगर गाउँपालिका र ईश्वरपुर नगरपालिकाका प्रमुखसँग तयार भइसकेको गाउँब्लकको जग्गाको लालपुर्जा वितरणका लागि समन्वय गरिरहेको बताए ।