१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Saturday, 28 September, 2024
गुल्मीको रुरु क्षेत्र गाउँपालिका–५ बम्घाकी तुला गिरीको गाईमा देखिएको लम्की स्किन संक्रमण । तस्बिर : टोपलाल अर्याल/नयाँ पत्रिका
गणेश लम्साल विराटनगर
अजित अधिकारी काठमाडाैं
२o८o बैशाख ७ बिहीबार o८:३७:oo
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

४९ जिल्लाका गाई–भैँसीमा ‘लम्पी स्किन’ रोग : १२ सयभन्दा धेरै चौपाया मरे, साढे १४ हजारमा संक्रमण पुष्टि

Read Time : > 6 मिनेट
गणेश लम्साल, विराटनगर
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार o८:३७:oo

‘लम्पी स्किन’ नामक नयाँ संक्रामक रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी हुने र मर्ने दर बढ्न थालेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको पशु सेवा विभाग र प्रदेशस्थित कृषि मन्त्रालयको तथ्यांकअनुसार दुई वर्षअघि भित्रिएको यो रोग देशभरका ४९ जिल्लामा पुगिसकेको छ ।

अहिलेसम्म १४ हजार तीन सय ६६ गाई, भैँसी र गोरु यो रोगका संक्रमणमा परेको केन्द्रीय पशुपक्षी अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ । तर, यो रोगबाट लाखौँ पशुचौपाया संक्रमित भएको प्रारम्भिक अनुमान छ । १० असार ०७७ मा मोरङको सुन्दर हरैँचा नगरपालिकामा रहेका किसानका गाईमा पहिलोपटक ‘लम्की स्किन’ रोग देखा परेको थियो । सुुरुका दिनमा नियन्त्रणका लागि सरकारले खासै चासो नदिएपछि अहिले यो रोगले महामारीको रूप लिएको हो ।

आर्थिक वर्ष ०७७/७८ बाट सुरु भएको यो रोग पहिलो वर्ष नै आठ जिल्लाको ११ पालिकामा देखिएको थियो । त्यतिखेर एक हजार चार सय ५८ गाई र पाँचवटा भैँसीमा संक्रमण भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । सो आवमा लम्की स्किन रोगका कारण १३ गाई मरेका थिए । आव ०७८/७९ मा १६ जिल्लाका २९ पालिकामा रोगको संक्रमण फैलिएको र एक हजार आठ सय ३१ गाई र सातवटा भैँसी संक्रमित भएको प्रयोगशालामा परीक्षणपछि पुष्टि भएको थियो । चालू आव ०७९/८० मा भने प्रयोगशालामा परीक्षण भएका ११ हजार ६५ चौपायामा यो रोग देखा परिसकेको छ । यतिवेला देशभरका ४९ जिल्लामा यो रोगको संक्रमण देखिएको छ । देशका अन्य जिल्लामा पनि यो रोग सर्न सक्ने जोखिम बढेको र यो वर्ष मात्रै करिब १२ सयभन्दा बढी पशुचौपाया यही रोगका कारण मरिसकेको प्रदेशस्थित कृषि मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

चालू आवमा कोसी प्रदेशमा इलाम र संखुवासभामा यो रोग फैलिएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोख्रेलले जानकारी दिए । पशु सेवा विभागका अनुसार कोसी प्रदेशमा थप चार जिल्ला पाँचथर, तेह्रथुम, धनकुटा र उदयपुरमा समेत संक्रमण फैलिइसकेको छ । प्रदेश मन्त्रालयले खोप खरिदका लागि बजेट व्यवस्था गरेको, तर खोप नै उपलब्ध नभएको दाबी गरेको छ । 

मधेस प्रदेशमा गत वर्ष रौतहट र सिराहामा संक्रमण देखिएको थियो । यो वर्ष लम्की स्किन रोग हालसम्म देखा नपरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुचिकित्सक डा. सरोज यादवले जानकारी दिए ।

बागमती प्रदेशमा चितवन, सिन्धुली र मकवानपुरमा रोगको संक्रमण फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक बज्रकिशोर ठाकुरले जानकारी दिए । पशु सेवा विभागमातहतको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका अनुसार बागमतीको दोलखामा पनि यो रोगको संक्रमण पुष्टि भएको छ । विभागका अनुसार बागमतीको ललितपुर, काठमाडौं र रामेछापमा गत वर्ष लम्पी स्किन देखा परेको थियो ।

नवलपरासीमा मात्रै लम्पी स्किन देखिएको कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, गण्डकी प्रदेशका प्रवक्ता डा. गृष्म न्यौपानेले जानकारी दिए । पशु सेवा विभागका अनुसार गण्डकीका थप तीन जिल्ला स्याङ्जा, लमजुङ र गोरखामा पनि रोग फैलिइसकेको छ ।  लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा यो रोग फैलिसकेको छ । पहाडी जिल्ला पाल्पामा पनि पुगेको उनले बताए । ‘अलि बढी दाङ र पश्चिम नवलपरासीमा असर परेको छ,’ उनले भने, ‘यद्यपि, रोग नियन्त्रणमै छ । पशु प्राविधिकहरू किसानको घर, गोठमा पुग्ने क्रम बढाएका छौँ ।’ केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका अनुसार लुम्बिनीको प्युठान र रोल्पामा पनि संक्रमण भेटिएको छ ।

कर्णाली प्रदेशमा गत वर्षभन्दा पनि तीव्र रूपमा लम्पी स्किन देखा परेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । गत वर्ष सल्यान, जाजरकोट र रुकुम पश्चिममा देखिएको थियो । यसपटक सुर्खेतमा समेत महामारीकै रूपमा फैलिएको छ । दैलेख र हुम्लामा समेत यो रोग फैलिएको उनले बताए । ‘गत वर्ष गाई र गोरुमा मात्रै यो रोग देखिएको थियो, यसपटक भैँसीमा समेत सरेको छ,’ उनले भने, ‘अब हामी जनावर ओसारपसारमा नियन्त्रण सुरु गरिहाल्छौँ र थप नियन्त्रणको उपायमा लाग्छौँ ।’

सुदूरपश्चिमका नौवटै जिल्ला (दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली) मा लम्पी स्किन फैलिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुचिकित्सक डा. हेमराज अवस्थीले जानकारी दिए । ‘प्रदेशभर यो रोग फैलिएको छ,’ उनले भने, ‘डोटीमा ५७ वटा जनावर यही रोगका कारण मरिसकेको जानकारी प्राप्त भएको छ ।’ 

सुरुमा अफ्रिकी देशमा देखिएको यो रोग बिस्तारै म्यानमार, थाइल्यान्ड, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो । दुई वर्षअघि मोरङमा यो रोग देखिएलगत्तै रौतहट, चितवन र मकवानपुरसम्म फैलिएको थियो । त्यतिवेला १५ सय गाईमा एकैपटक यो रोगको संक्रमण देखिएको पशु सेवा विभागको अनुसन्धानमा पाइएको थियो । तर, सरकारले रोग नियन्त्रणमा चासो नदिँदा अहिले देशभर महामारीको रूप लिएको हो । तराईबाट सुरु भएको यो रोग अहिले सबैभन्दा बढी मकवानपुरमा फैलिएको छ । 

यो रोगबाट मकवानपुरमा ४५ गाईवस्तु मरिसकेका छन् । कृषि मन्त्रालयको प्रारम्भिक अध्ययनअनुसार पहाडमा गाई थारो भएपछि बेच्ने र तराईबाट दुधालु गाई लैजाने प्रवृत्तिका कारण यो रोग पहाडी क्षेत्रमा सर्न पुगेको हो । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला प्रमुख शर्मिला चापागाईंका अनुसार पछिल्ला दिनमा लम्की स्किन रोग परीक्षणका लागि विभिन्न जिल्लाबाट नमुना आउने क्रम बढेको छ । ‘लम्की स्किन रोगको परीक्षणका लागि भन्दै विभिन्न जिल्लामा धेरै नमुना आउने गरेका छन् । तीमध्ये अधिकांशमा रोग पुष्टि हुने गरेको छ,’ उनले भने, ‘पछिल्लोपटक एक सय ५५ वटा नमुना परीक्षण गर्दा एक सय २८ वटामा लम्की स्किन रोग पुष्टि भएको छ ।’

पशु सेवा विभागका वरिष्ठ पशुचिकित्सक डा. मुकुल उपाध्यायले रोग नियन्त्रणका लागि भ्याक्सिन स्वीकृति दिएको बताए । ‘हामीले नेथलिङ्ग स्ट्रेन वर्गका भ्याक्सिनका लागि स्वीकृति दिइसकेका छौँ । यो भ्याक्सिन लगाएर रोग नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘स्थानीय तहका पशु चिकित्सकको सल्लाहमा किसानले उचित हेरविचार गरेर यो रोगबाट पशुचौपायालाई जोगाउन सकिन्छ ।’ 

यस्ता छन् रोगका लक्षण
यो रोगको संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा (१ देखि ५ सेन्टिमिटरभन्दा ठूलो) देखिने, १ सय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने, खानेकुरा नखाने हुँदा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने समस्या देखिने पशु सेवा विभागले जनाएको छ । रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा संक्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने विभागले जनाएको छ । यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रामनन्दन तिवारीले जानकारी दिए । ‘उड्ने किराले संक्रमण फैलाउने गरेका छन् । यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ,’ उनले भने । उनका अनुसार यो रोग मूलतः दुधालु गाई, भैँसीमा छिटो संक्रमण हुने प्रकृतिको छ । 

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले क्याप्रिपक्स भाइरसका कारण गाईभैँसीमा अत्यधिक संक्रमण गराउने सीमाविहीन रोग भएको बताए । ‘यस रोगमा मृत्युदर कम भए पनि यसले दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सिर्जना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ,’ उनले भने । लम्की स्किन रोग फैलिन थालेपछि सरकारले निथलिङ्ग स्टे«न भएको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ । यसको मूल्य सात सय रुपैयाँसम्म पर्ने जनाइएको छ । भेटेरिनरी औषधि व्यवसायी दिवेश थापाले स्वीकृत वर्गमा पर्ने ‘लम्पी सिल्ड–एन’ भ्याक्सिन प्रतिडोज दुई सय रुपैयाँमा उपलब्ध गराइरहेको बताए । सरकारले भ्याक्सिनका लागि अहिलेसम्म अनुदान उपलब्ध गराउने घोषणा गरेको छैन । स्थानीय र प्रदेश सरकारले समन्वय गरी भ्याक्सिन खरिद गरेर किसानलाई वितरण गर्न सक्ने कृषि मन्त्रालयले जनाएको छ । अहिलेसम्म लम्पी स्किनको ठ्याक्कै उपचार विधि पत्ता लागिसकेको छैन । लक्षणअनुसारको उपचार गरेर यो रोग नियन्त्रण गर्न सकिने तिवारीको भनाइ छ । ‘ज्वरो आएको पशुलाई सोहीअनुसार औषधि खुवाउने, कचेरा र सिँगान बगेको पाइए सोहीअनुसारको औषधि र उपचार गर्नुपर्छ,’ उनले भने, ‘अलि समय कुनै उपचार नगरे लम्की स्किन रोगले आकार लिने हो ।’ 

जुन रोग देखिन्छ, तत्कालै त्यसको उपचार गरेर चौपाया जोगाउन सकिन्छ : रामनन्दन तिवारी, सहसचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालय
एउटा पशुबाट अर्को पशुमा सर्ने तथा संक्रमण भएको पशुलाई टोक्ने लामखुट्टे, किर्ना, भुसुनालगायत उडेर अर्को पशुलाई गई टोक्दा यो रोग सर्छ । रोग नियन्त्रणका लागि भ्याक्सिन स्वीकृत गरी प्रयोगका लागि अनुमति दिइएको छ ।

रोग लागेका गाई वा भैँसीले दिएको दूधलाई उमालेर वा पास्चराइज गरेर उपभोग गर्दा मानिसमा कुनै असर गर्दैन । पशुचौपायामा जुन रोग देखिन्छ, तत्कालै सोही रोगको उपचार गरिहाल्यो भने लम्की स्किनबाट बचाउन सकिन्छ ।

किनभने, ज्वरो आउने, खान नरुच्ने, किर्ना पर्ने, कचेरा र सिँगान आउनेलगायतका लक्षण देखिएको चार–पाँच दिनपछि मात्रै लम्की स्किनले रूप लिन्छ । ज्वरो आउनासाथ त्यसको उपचार गरेर निको पार्न सके लम्की स्किन हुनबाट पशुचौपायालाई जोगाउन सकिन्छ ।

कुन प्रदेशका कति जिल्लामा संक्रमण ?
कोसी : इलाम, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, धनकुटा, उदयपुर, मोरङ, झापा सुनसरी
मधेस : रौतहट, सिराहा
बागमती : चितवन, सिन्धुली, मकवानपुर, दोलखा, ललितपुर, काठमाडौं, रामेछाप
गण्डकी : पूर्वी नवलपरासी, स्याङ्जा, लमजुङ, गोरखा, कास्की, तनहुँ
लुम्बिनी : पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा, प्युठान रोल्पा
कर्णाली : सल्यान, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, हुम्ला, दैलेख
सुदूरपश्चिम : दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली

कोसीमा तीन सय चौपाया मरे
सुरुमा कोसी प्रदेशको हिमाली जिल्लामा फाट्टफुट्ट रूपमा देखिएको लम्पी स्किन रोग पछिल्लो समय तराई र पहाडी जिल्लामा रहेका चौपायामा पनि तीव्र गतिमा फैलिन थालेको छ । कोसी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार अहिले यो रोग इलाम, झापा, मोरङ, संखुवासभा, भोजपुर, धनकुटामा तीव्र गतिमा फैलिइरहेको छ । 

निर्देशनालय प्रमुख पशुपति ढुंगानाका अनुसार रोग फैलिएको जिल्लामा करिब ५० हजारको संख्यामा गाई प्रभावित भएका छन् । यो रोगबाट बाच्छा/बाच्छी र बुढा गाई/गोरु धेरै मरेका छन् । ‘हालसम्म ठ्याक्कै तथ्यांक नभए पनि यो रोगले कोसी प्रदेशमा यो वर्ष मात्रै करिब दुईदेखि तीन सय पशुचौपाया मरिसकेको हाम्रो अनुमान छ’, उनले भने । 

सुदूरपश्चिमका सबै जिल्लामा फैलियो, किसानका गोठ रित्तिन थाले 

गाई र भैँसीमा देखा पर्ने लम्की स्किन रोग सुदूरपश्चिमका नौवटै जिल्लामा फैलिएको छ । यो रोगबाट हालसम्म करिब एक हजार गाईभैँसी मरिसकेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ । 

चैतयता डडेल्धुरा, डोटी, बैतडी र दार्चुलामा यो रोग बढी फैलिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेशप्रसाद जोशीले जानकारी दिए । डडेल्धुराको भागेश्वर, पर्शुराम, आलिताल क्षेत्र, डोटीको जोरायल, बैतडीको पाटन र दार्चुलाको गोकुले क्षेत्रमा केही सातायता लम्की स्किन रोग व्यापक मात्रामा फैलिएको उनले बताए । 

नमुना संकलन गरेर केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा लम्की स्किन पुष्टि भएको जोशीले बताए । ‘यो रोगबाट सुदूरपश्चिममा अहिले हजारौँ चौपाया संक्रमित छन् । रोगले कतिपय किसानका गाईगोठ रित्तिएका छन्,’ उनले भने, ‘नयाँ रोग भए पनि सुदूरपश्चिमका नौवटै जिल्लामा देखिएको छ ।’ सबैभन्दा बढी क्षति डडेल्धुरामा भएको उनले जानकारी दिए ।