बढ्दो वायु प्रदूषणले कोभिडविरुद्धको खोपको प्रभावकारितासमेत घटाइरहेको एक अध्ययनले देखाएको छ । इन्भाइरनमेन्टल हेल्थ पर्सपेक्टिभ जर्नलमा प्रकाशित अध्ययनले प्रदूषणले फोक्सोमा मात्र नभई सम्पूर्ण प्रतिरक्षा प्रणालीलाई समेत प्रभाव पार्ने जनाएको छ । फोक्सोमा क्रोनिक सुजन उत्पन्न गर्न सक्ने भएकाले यसले एन्टिबडीमा प्रभाव पर्दा खोपको प्रभावकारिता स्वतः घटिरहेको अध्ययनले देखाएको हो । प्रदूषणबाट मुटुरोग, श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्याका साथै मधुमेहको जोखिमसमेत उल्लेख गरेको छ ।
कोभिडअघि र महामारीको समयमा उच्च प्रदूषणको सम्पर्कमा रहेका व्यक्तिमा खोपबाट एन्टिबडी प्रतिक्रिया कम हुने सम्भावना रहेको अध्ययनले देखाएको छ । खासगरी, वैज्ञानिकहरूले २.५ पिएम नाइट्रोजन डाइअक्साइड र ब्ल्याक कार्बनजस्ता प्रदूषण तŒवको इन्फेक्सनले मानिसको शरीरको आइजिएम र अइजिजी एन्टिबडीलाई १० प्रतिशतसम्म कम गर्ने पाइएको हो ।
प्रदूषण र कोभिड संक्रमणले फोक्सो र श्वासप्रश्वासमा असर पार्ने भएकाले महामारीमा यसको असर बढी देखिएको अध्ययनले देखाएको हो । प्रदूषणको सम्पर्कमा रहेका बालबालिकामा प्रयोग गरिने अन्य खोपहरूको प्रभावकारितासमेत कम हुने अघिल्ला अध्ययनको निष्कर्षका आधारमा प्रकाशित प्रतिवेदनले कोभिडको भ्याक्सिनमा पनि असर गरिरहेको उल्लेख गरेको छ । यद्यपि, संक्रमणविरुद्धको प्रतिरक्षामा कमी आउनुपछाडि वायु प्रदूषणको दीर्घकालीन जोखिमको भूमिका रहन सक्ने भन्दै थप अनुसन्धानको आवश्यकता रहेको अध्ययनकर्ताले बताएका छन् ।
अनुसन्धानकर्ताहरूले पहिलो लकडाउनपछि ९२७ जनामा सर्वेक्षण गरेका थिए । कोभिडको भ्याक्सिन प्रयोगमा आइसकेपछि रगत परीक्षण र उनीहरूसँग कुराकानी गरेर प्रदूषणको असरबारे निष्कर्ष निकालेको जनाइएको छ । इन्भाइरोमेन्टल हेल्थ पर्सपेक्टिभका अध्ययनकर्ता कार्लेटा डोबानेले आफूहरूले गरेको अध्ययन सानो भए पनि अध्ययनको निष्कर्ष विभिन्न प्रमाणसँग मेल खाने र प्रदूषणले विभिन्न किसिमका खोपको प्रभावकारितामा ल्याउने असरबारे उपयुक्त स्रोत बनेको बताएका छन् ।