मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o बैशाख ५ मंगलबार o७:५१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सुडान भिडन्त : मृत्यु हुने १०० पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार o७:५१:oo

सुडानको राजधानी खार्तुममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कु’मा सत्ताकब्जा गरेका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमान्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौँदेखि चलेको शक्ति संघर्षपछि शनिबारदेखि हिंसा सुरु भएको हो ।

खार्तुम र सुडानका अन्य सहरमा जारी हमला रोक्न अन्तर्राष्ट्रिय समुदायले माग गरेको छ । ‘शनिबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेको संख्या १०० पुगेको छ,’ चिकित्सक संघले सोमबार उल्लेख गरेको छ, ‘यो आँकडामा सबै हताहती समावेश गरिएको छैन । लडाइँका कारण आवतजावतमा कठिनाइ भएका कारण धेरैजना अस्पताल पुग्न सकेका छैनन् । संघले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौँको मृत्यु भएको र नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खार्तुमका नौवटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको जनाएको छ । हिंसाले सुडानी नागरिकलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ । साथै लामो द्वन्द्वले देशलाई गहिरो अराजकतामा धकेल्न सक्छ । नागरिक शासनमा फर्किने आशामा तुसारापात भएको छ ।