मकवानपुर जिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिकामा बुधबारबाट ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ।
पालिकाको वडा नम्बर ३ कालिकाटारमा स्थापन गरिएको केन्द्रको बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उद्घाटन गरेका छन्।
यसअघि फागुन १३ गते गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच पालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने सहमति भएको थियो। गाउँपालिकाले केन्द्र सञ्चालनका लागि स्थान उपलब्ध गराएपछि सोहीअनुरूप बुधबारबाट पालिकामा आँखा केन्द्र सञ्चालनमा आएको हो।
केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका सर्वसाधारणले पालिकामै सहजै आँखाको उपचार पाउने भएका छन्। केन्द्रको उद्घाटन गर्दै पालिकाका अध्यक्ष मोक्तानले आर्थिक रूपमा विपन्न र दूरदराजका नागरिकले सहज रूपमा आँखा परीक्षण र उपचार पाउने बताए। उनले आँखा उपचार केन्द्रको स्थापनाले कैलाशका आँखाका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे।
आँखा केन्द्र उद्घाटनको अवसर पारेर बुधबार एकदिने निःशुल्क आँखा शिविरसमेत भएको छ। शिविरमा एक सय ८६ जनाको आँखा परीक्षण गरिएकोमा २१ जनामा मोतीविन्दु देखिएको सामुदायिक आँखा अस्पताल हेटौँडाका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिए। श्रेष्ठले उनीहरूको आउँदो वैशाख ४ गते गाउँपालिकासँगको समन्वयमा सामुदायिक आँखा अस्पतालमै लगेर शल्यक्रिया गरिने बताए।
कोरियन संस्था होन्डाई फाउन्डेसनको सहयोग, हेटौँडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा उक्त आँखा केन्द्र सञ्चालनमा आएको हो। आँखा केन्द्र सञ्चालनमा ल्याउन करिब ५० लाख रुपैयाँ लगानी भएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले जानकारी दिए।
आँखा केन्द्रमा एकजना नेत्र सहायक र एकजना कार्यालय सहयोगी राखिएको गाउँपालिकाले जनाएको छ। उनीहरूको सम्पूर्ण सुविधा पालिकाले व्यहोर्ने सहमति भएको पनि श्रेष्ठले बताए।