१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o८:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयातीत तरकारी तथा खाद्यान्नको विषादी परीक्षणको मापदण्ड स्वीकृत

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:५३:oo

विदेशबाट आयातीत तथा स्वदेशमा उत्पादित खाद्यान्न तथा तरकारी–फलफूलमा हुने जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने प्रस्ताव स्वीकृत भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयातीत तरकारी तथा खाद्यान्नको विषादी परीक्षणको मापदण्ड स्वीकृत गरेको हो । यस्तो निर्णयपछि आयातीत खाद्य वस्तु, तरकारी र फलफूलमा हुने विषादीको अवेशष भन्सार नाकाहरूमा कडाइका साथ परीक्षण हुने भएको छ ।

विदेशबाट आयात हुने खाद्य वस्तु, तरकारी र फलफूलमा हुने विषादीको अवशेषको मात्रा परीक्षण गर्नेसम्बन्धी प्रस्ताव खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पठाएको थियो । त्यसपछि मन्त्रालयले उक्त प्रस्ताव गत पुसमा मन्त्रिपरिषद्मा पेस गरेको थियो । 

मन्त्रिपरिषद्ले प्रस्तावका विषयमा विस्तृत छलफल गर्न आर्थिक तथा पूर्वाधार समितिमा पठाएको थियो । सो समितिले छलफलपछि दिएको रायअनुसार विदेशबाट आयातीत खाद्य वस्तु, तरकारी र फलफूलको विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद्ले लिएको हो ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले विषादीको अवशेषको अधिकतम निर्धारण भएपछि धेरैभन्दा धेरै खाद्य वस्तुको परीक्षण गर्न सहज हुने जानकारी दिए । ‘अहिले पनि भन्सार नाकामा नियमित रूपमा विषादी परीक्षण भइरहेको छ, रोकिएको होइन,’ उनले भने, ‘यद्यपि, मन्त्रिपरिषद्बाट एउटा मापदण्ड पास गरिएको हो । अब राजपत्रमा प्रकाशित भएपछि सशक्त कार्यान्वयन गर्छौँ ।’

मन्त्रालयमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बनाएको मापदण्डअनुसार अहिलेसम्म सात प्रकारका तरकारी, दुई प्रकारका फलफूल र एउटा चियाको मात्र विषादीको अधिकतम मापदण्ड स्वीकृति भएको थियो । अन्य तरकारी, फलफूल र खाद्यान्नमा हुने विषादीको मात्रा भने अन्तर्राष्ट्रिय मापदण्डका आधारमा परीक्षण हुँदै आएको थियो । आउँदा दिनमा भने नेपालले नै बनाएको मापदण्डका आधारमा विषादीको परीक्षण गर्ने बाटो मन्त्रिपरिषद्को निर्णयले खुलाएको हो ।

खाद्य विभागका पूर्वमहानिर्देशक तथा कृषि मन्त्रालयका खाद्य सुरक्षा तथा खाद्य प्रविधि विभागमा प्रमुख रहेका सहसचिव सञ्जीव कर्णले पनि मन्त्रिपरिषद्को बैठकले विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको र आगामी दिनलाई परीक्षणमा सहज बनाएको बताए । 

‘आयातीत तरकारी, फलफूलको विषादी परीक्षण रोकिएको थिएन, निरन्तर भइरहेको हो,’ उनले भने, ‘परीक्षणका लागि एउटा मापदण्ड बनाएको थियौँ । मन्त्रिपरिषद्बाट त्यो मापदण्ड भएको हो ।’ मन्त्रिपरिषद्बाट पास भएको मापदण्डअनुसार एक सय ८५ प्रकारका विषादीको अवशेष परीक्षण गर्न सकिनेछ । 

ad
ad