गर्भावस्था आफैँमा जटिल समय हो । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ । विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन । गर्भावस्थामा आमाले सेवन गर्ने पोषणयुक्त खानेकुराले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्ने हुँदा महिलाले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तै, आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनबारे पनि उत्तिकै सचेत हुनुपर्छ ।
के खाने, के नखाने ?
- सामान्यतः गर्भवती महिलाले अरू वेलाभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । साथै, दूध, दहीजस्ता क्याल्सियमयुक्त परिकारसमेत पर्याप्त मात्रामा सेवन गर्न आवश्यक हुन्छ ।
- सफा, स्वच्छ र ताजा खानेकुरा खानुपर्छ । यस्तो अवस्थामा अझ प्रशस्त मात्रामा झोलिलो पदार्थ खानुपर्छ । गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ, जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलन गर्दछ ।
- कार्बाेहाइड्रेटयुक्त खाना तथा आवश्यक मात्रामा चिल्लो खानेकुरा खान आवश्यक हुन्छ । घिउजन्य वस्तुले तौल बढाउन सक्ने भएकाले थोरै तर नियमित सेवन गर्नुपर्छ । घिउजन्य पदार्थबाट अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, जुन गर्भवतीका लागि आवश्यक छ ।
- गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूल खानुपर्छ । जुनसुकै खानेकुरा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ । यदि स्वस्थ खानेकुरा सेवन गर्ने हो भने अतिरिक्त भिटामिन लिनुपर्दैन ।
- गर्भावस्थामा कतिपय खानेकुरा खानुहुँदैन । यस्ता खानेकुराले हानि पनि गर्न सक्छ । यस्तो वेला चिकित्सकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ । आफैँले जथाभावी औषधि खाए गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पनि पुग्न सक्छ ।
- यो अवस्थामा सजिलै ब्याक्टेरियाले आक्रमण गर्न सक्ने भएकाले बजारमा राखिएका खानेकुरा खानुहुँदैन । फास्टफुड र ड्राइफुड सकेसम्म नखाँद नै राम्रो । अल्कोहलजन्य पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्दछ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक छ ।
गर्भावस्थामा देखिने जटिल समस्या
गर्भावस्थामा रगत धेरै बग्न सक्छ । जसले गर्दा बच्चा खेर जाने सम्भावना हुन सक्छ । तल्लो पेट धेरै दुखे वा सिँगानजस्तो रगत बगेमा झन् खतरा हुन सक्छ । त्यसैलै गर्भ बसेको दिनदेखि १२ हप्ताको पहिलो तीन महिनाको समयलाई पहिलो चरणको अवधि मानिन्छ । यो समयमा वाकवाकी लाग्ने, खान मन नलाग्ने हुन सक्छ । त्यस्तै, पिसाब धेरैपटक हुने र गर्भ खेर जाने सम्भावना धेरै हुन्छ ।
यस्ता समस्या देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ । अर्काे, तीन महिनादेखि ६ महिनाको अवधिलाई गर्भावस्थाको दोस्रो चरण मानिन्छ । ६ देखि ९ महिनाको अवधिलाई गर्भावस्थाको तेस्रो चरण मानिन्छ । यो समयमा बच्चाको विकास भइरहेको हुन्छ । यो अवस्थामा साबिक समयभन्दा प्रोटिनयुक्त खानेकुरामा समयतालिका मिलाएर खानुपर्छ ।
ध्यान दिनुपर्ने कुरा
- लामो यात्रा गर्नुहुँदैन ।
- गह्रौँ, भारी हुने काम गर्नुहुँदैन ।
- पर्याप्त आराम गर्नुपर्छ ।
- सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
- फोलिक एसिड, आइरन चक्की, क्याल्सियम चिकित्सकको परामर्शअनुसार सेवन गर्ने ।
- नियमित स्वास्थ्य जाँच गर्ने ।
- यदि समस्या देखिइहालेमा चिकित्सकसँग सम्पर्क गर्ने ।