मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २६ आइतबार ०९:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्ववियु चुनाव : ५ चैतमा रोकिएका अधिकांश क्याम्पसमा विवाद यथावत्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २६ आइतबार ०९:२१:००

त्रिविका ४९ आंगिक क्याम्पसमा स्ववियु चुनाव

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिकमध्ये ४९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव सम्पन्न भएको छ । ५ चैतमा ४० र त्यसयता शनिबारसम्ममा थप नौवटा गरी अहिलेसम्म ४९ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको हो । उपत्यकाका केही ठूला क्याम्पसमा अहिले पनि विवाद जारी छ । 

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले अहिले पनि ठूला क्याम्पसमा विवाद भएका कारण स्ववियु चुनाव नहुँदा विद्यार्थीले नेतृत्व छनोट गर्न नपाएको र अन्य क्याम्पस प्रशासन, निर्वाचन अधिकृतलगायतका पक्षलाई तनाव भएको बताए । त्रिविले यसअघि ५ चैतमा मतदानको कार्यक्रम घोषणा गरेको थियो । सो दिन चुनाव हुन नसकेका क्याम्पसलाई एक महिनाभित्र चुनाव गर्न निर्देशन दिएको थियो । 

सदस्यसचिव अधिकारीका अनुसार ५ चैतपछि नौ आंगिक क्याम्पसमा चुनाव भइसकेको छ । उनका अनुसार नेपालगन्जको महेन्द्र बहुमुखी, दाङको महेन्द्र क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवाको कृषि क्याम्पस, बाग्लुङको धौलागिरि बहुमुखी, पोखराको वन विज्ञान, चितवनको कृषि र काठमाडौंको आयुर्वेद क्याम्पसमा चुनाव भएको छ । शनिबार पाटन संयुक्त क्याम्पसमा निर्वाचन भएको छ । क्याम्पस प्रमुख लक्ष्मण कुँवरले सबै पक्षको सहयोगले चुनाव सम्भव भएको बताए । मतदानमा विद्युतीय मेसिन प्रयोग भएको थियो । 

आरआर क्याम्पसमा मनोनयन दर्ता गर्ने क्रममा विवाद
प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा ३० चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि मनोनयन दर्ता गर्ने क्रममा विद्यार्थी संगठनबीच विवाद भएको छ । यसअघि ३० चैतमा चुनाव गर्न सर्वपक्षीय सहमति भए पनि शनिबार नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गरेका छन् । 

विद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई चुनाव नगराउन धम्की दिएपछि संगठनबीच विवाद बढेको थियो । विवाद समाधान गर्न गएको प्रहरीले मनोनयन रोकेको अनेरास्ववियुका नेता टपेन्द्रजंग शाहीले बताए । उनले यसअघि केन्द्रीय अध्यक्षसँग सहमति भइसकेको र अदालतले समेत चुनाव गराउन निर्देशन दिँदा पनि केही विद्यार्थी नेता र प्रहरी संगठनले रोकेको आरोप लगाए । ‘हामी नोमिनेसनको प्रक्रियामा थियौँ, त्यहीक्रममा नेविसंघ र क्रान्तिकारीले विरोध गरे,’ उनले भने, ‘प्रहरीले अदालतको आदेशसमेत पालना गरेन ।’ यसअघि ५ चैतमा पनि विद्यार्थी संगठनबीचको विवाद भएको थियो । त्यस्तै, स्थगित स्ववियु निर्वाचन गर्नेबारे २३ चैतमा सर्वपक्षीय सहमति भएको थियो । विद्यार्थी संगठनको विवादले आरआरमा स्ववियु चुनाव अन्योल बनेको छ ।