१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कछुवा गतिमा तमोर करिडोर, १८ महिनामा आठ प्रतिशत काम सकियाे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३४:oo

ठेकेदार कम्पनीले ढिलाइ गर्दा नेपाल–चीन सीमाको टिप्तालाबाट भारत जोड्ने सबैभन्दा छोटो दूरीको तमोर करिडोरको काम ज्यादै सुस्त गतिमा अघि बढेको छ । दुई वर्षमा सक्नुपर्ने भए पनि १८ महिनामा केही सेक्टरको काम मुस्किलले ३० प्रतिशत मात्रै भएको छ । कुनै सेक्टरको आठ प्रतिशतमा सीमित छ ।

तमोर करिडोरअन्तर्गत ताप्लेजुङको आठराई–त्रिवेणी– १ निगुरादिन लिम्बुनी पुलबाट हाङदेवासम्मको २० किलोमिटर दूरीको दुई लेनको सडक ग्राभेललगायत स्तरवृद्धिका लागि २२ करोड ८४ लाख रुपैयाँमा हिम्डुङ एन्ड थोकर लामा जेभी कन्स्ट्रक्सनले ठेक्का पाएर काम गरिरहेको छ । 

०७८ कात्तिक ७ गते सम्झाैता गरेको उक्त ठेक्का ०८० असोजसम्ममा सक्नुपर्ने छ । तर, अहिलेसम्म १८ महिनाको अवधिमा आठ प्रतिशत मात्र काम भएको तमोर करिडोर सुभाङखोला दोभान ओलाङचुङगोला सडक आयोजना कार्यालय ताप्लेजुङका प्रमुख अमिन्द्र खड्काले बताए । ठेकेदारहरूको लापरबाहीले समस्या भएको उनको भनाइ छ । समय थप हुनेमा ठेकेदार ढुक्क देखिएकाले काम नगरेर आफूलाई दिक्क बनाएको प्रमुख खड्काले बताए ।

पूर्वीपहाडी जिल्लाहरूको विकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोरको अर्को सेक्टर अर्थात् पाँचथरको सुबाङखोलादेखि ताप्लेजुङको आठराई–त्रिवेणी– १ निगुरादिन लिम्बुनीसम्मको २० किलोमिटर सडक रायमाझी सुभम् जेभी कन्स्ट्रक्सनले २३ करोड २३ लाखमा ०७८ कात्तिक ७ गते सम्झाैता गरेको हो । ०८० असोज मसान्तसम्म काम सक्नुपर्ने सम्झाैतामा उल्लेख भए पनि यहाँको प्रगति ३० प्रतिशत मात्र छ । अब सम्झाैता अवधि ६ महिना मात्र बाँकी रहेकाले समयमा काम सकिने सम्भावना नरहेको प्रमुख खड्काले बताए ।

उता, तमोर करिडोरकै हाङदेवा–सिवा सडकको १७ किलोमिटर खण्ड सपना याक्थुङहाङ जेभीले सोही मितिमा ठेक्का सम्झाैता गरेको थियो । २४ करोड ४८ लाखमा ठेक्का सम्झाैता गरी काम गरिरहे पनि यहाँको पनि ३० प्रतिशत काम मात्र सकिएको छ । सम्झौताअनुसार अब ६ महिनामा दुई लेनको बाटो ग्राभेलसहित तयार गरिसक्नुपर्नेछ । तर, सो अवधिमा ५० प्रतिशतसम्म पनि काम सक्ने सम्भावना देखिँदैन । 

करिडोर सञ्चालनमा आएपछि पूर्वीपहाडी जिल्ला र तराईबीचको दूरी धेरै घट्नेछ । करिडोर निर्माणपछि पाँचथरको फिदिमदेखि धरान झन्डै तीन घन्टामा पुग्न सकिन्छ भने ताप्लेजुङदेखि झन्डै पाँच घन्टामा धरान पुग्न सकिन्छ । ताप्लेजुङबाट धरानको दूरी झन्डै एक सय ९० किलोमिटरमा खुम्चिने बताइएको छ । अहिले यहाँका नागरिक इलाम, झापा र मोरङ हुँदै झन्डै तीन सय ५० किलाेमिटर दूरी पार गरेर धरान पुग्ने गरेका छन् ।

तर, भारतको सिमाना विराटनगर रानी भन्सारदेखि चीन जोड्ने सबैभन्दा छोटो तमोर करिडोर निर्माण सुस्तताले स्थानीयलाई मात्र नभई समग्र अर्थतन्त्र र विकासमा असर गर्ने निश्चित छ ।

ad
ad