लगानीको वातावरण बन्न नसक्नु, बजारको समस्या र सरकारको उपेक्षाका कारण पुष्प व्यवसायमा सुधार हुन सकेको छैन
हेर्दा सामान्य र सानो लाग्ने फूल (पुष्प) व्यवसाय राम्रो आम्दानी गर्न सकिने पेसा हो । नेपालमा पुष्प व्यवसाय फस्टाउन नसक्नुमा तीनवटा प्रमुख कारणलाई केलाउनुपर्छ । पहिलो, लगानीको वातावरण बन्न नसक्नु, दोस्रो बजारको समस्या र तेस्रो सरकारको उपेक्षा हो ।
लगानीको वातावरण : आजको दिनमा कति ठूलो लगानीमा पुष्पखेती गरिएको छ भनेर कतै बाहिर आएको देखिँदैन । ठूलो पुँजीमा लगानी गर्ने लगानीकर्ता कम छन्, किनभने यसको लगानी उठाउन तत्काललाई सम्भव हुँदैन । अर्को कुरा, यो कुनै उद्योग कलकारखाना पनि होइन, मौसमसँग मेल खाने कुरा हो । हेर्दा सानो देखिए पनि पुष्प व्यवसाय आफैँमा ठूलो व्यवसाय हो, दीर्घकालीन व्यवसाय हो भन्नेमा कुनै शंका छैन । तर, यसमा लगानी गर्न तयार छैनन् । निकै कम व्यवसायी मात्र यस क्षेत्रमा जोडिएका छन् । किनभने, हाम्रो मौसमको प्रभाव, बजार, मागलगायत विभिन्न कारणले यसमा प्रभाव देखिएको छ । यसले गर्दा पनि पुष्प क्षेत्रमै केन्द्रित भएर लगानी गर्ने वातावरण बन्न सकेको छैन ।
हामी फूलमा ९० प्रतिशत आत्मनिर्भर छौँ भनेर भन्छौँ । तर, पूर्ण आत्मनिर्भर बन्न सकेका छैनौँ । फूल आयातमै पनि हामीले करोडौँ रुपैयाँ अझै बाहिर पठाइरहेका छौँ ।
विशेषगरी, कोरोनाकालमा यस क्षेत्र गहिरो संकटमा परेको अवस्था थियो । अहिले केही सुधार हुने प्रयासमा भए पनि बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता संकटले यस क्षेत्रमा नयाँ लगानी करिब–करिब शून्यप्रायः अवस्थामा छ भने भएकै उद्यमी पनि पलायनको अवस्थामा पुग्ने अवस्था देखा परेको छ ।
अन्य व्यवसायमा चासो र चिन्ता गर्ने राज्यले पुष्प व्यवसायमा भने चासो दिएको देखिन्न । लगानी बढाउनका लागि यस क्षेत्रसँग खासै ठूलो राज्यको चासोको विषयमा पनि पर्दैन । अहिलेको अवस्थामा यस क्षेत्र झनै संकटपूर्ण अवस्थामा पुगेको छ ।
भन्नलाई त हामी फूलमा ९० प्रतिशत आत्मनिर्भर छौँ भनेर भन्छौँ । तर, पूर्ण आत्मनिर्भर बन्न सकेको छैनौँ । फूल आयातमै पनि हामीले करोडौँ रुपैयाँ अझै बाहिर पठाइरहेका छौँ । करोडौँ रुपैयाँ बाहिर निष्कासन हुनुमा हाम्रा प्राविधिक समस्या पनि छन् । मुख्य कुरा मौसमी फूल मात्र बढी उत्पादन हुन्छन्, बेमौसमी उत्पादन हाम्रो पर्याप्त हुन सकेको छैन । बेमौसमी फूल फुलाउन त्यही किसिमको प्रविधि ल्याउन सकेका छैनौँ । प्रविधिको अभावले भ्यालेन्टाइनजस्ता फूल खपत हुने समयमा हाम्रो व्यापारको पहुँच पुग्दैन । भ्यालेन्टाइनको समयमा गुलाफ हाम्रो जाडो मौसममा फुल्दैन, फुलाउनका लागि हामीसँग त्यस किसिमको प्रविधिको कमी छ ।
पछिल्लो समय लगानीको वातावरण बन्न नसक्दा फूल उत्पादनमा कमी आइरहेको तथ्य हो । मुलुक संघीयतामा गइसकेपछि सबै कार्यक्रम स्थानीय तहमा पठाएको भए पनि हाम्रो पुष्प क्षेत्रचाहिँ स्थानीयस्तरबाट सुधार भएर आउन सकेन । फूल उत्पादन गाउँकेन्द्रित र खपत सहरकेन्द्रित हुनुपर्ने हो । तर, मूल फोकस सहरकेन्द्रित बन्दा प्रभावकारी बन्न नसकेको हो । उत्पादन पनि सहरकेन्द्रित, खपत पनि सहरकेन्द्रित हुन पुग्यो ।
जहाँ सहरीकरण छ, त्यहाँ बढी व्यवसाय भएकाले स्थानीय तहसम्म हामी पुग्न सकेका छैनौँ । केन्द्रले बजेट सबै स्थानीय तहमा पठाइदिने गरे पनि बजेटको कार्यान्वयन देखिने गरी भएको छैन । सरकारले ०७१ देखि ०७४ सम्म कृषि मन्त्रालयसँग समन्वय गरेर करिब–करिब साढे १० करोड रुपैयाँको लगानी गरेर केही हदसम्म फूल उत्पादन व्यवसायको क्षेत्रमा केही परिवर्तन आउन सकेको हो । फेरि पनि सरकारले एकपटक अलिक बढी पुँजीको लगानी यस क्षेत्रमा बढाउने हो भने हामी करिब–करिब आत्मनिर्भरको बाटोमा पुग्न सक्छौँ ।
हिजो त्यही सानो लगानीले आज हामी आत्मनिर्भरनजिक छौँ । तर, पछिल्लो समय संघीयतामा गएपछि भने स्थानीय तहमा प्रभावकारी काम हुन नसक्दा यसको प्रभाव घटेको छ । व्यवसायबाट हात झिक्ने अवस्था बनेको छ ।
पुष्प क्षेत्र स्थानीयस्तरबाटै सुधार भएर आउन सकेको छैन । उत्पादन गाउँकेन्द्रित र खपत सहरकेन्द्रित हुनुपर्ने हो । तर, उत्पादन र खपत दुवै सहरकेन्द्रित बन्दा प्रभावकारी बन्न नसकेको हो ।
बजारको समस्या : फूल व्यवसाय क्षेत्रमा लगानी बढ्न नसक्नुमा हाम्रो अर्को कारण बजारको अभाव हो । हाम्रो पुष्प व्यवसाय सीमित चाडपर्वमा मात्र केन्द्रित छ । त्यसबाहेक खासै बजार राम्रो हुन सकेको छैन । मौसमी फूलको बजारमा हामी करिब आत्मनिर्भर भए पनि बेमौसमी फूलको बजारमा हामी अझै आत्मनिर्भर बन्न सकेका छैनौँ । वर्षमा पाँच दिन मात्र हाम्रो फूल सबैभन्दा बढी माग र खपत हुन्छ, त्यो पनि तिहारमा । सयपत्री फूलको एउटा राम्रो बोटले तीन महिनासम्म फूल दिन्छ । तिहारमै केन्द्रित गरेर लगाएको फूल पाँच दिन मात्र बिक्री हुन्छ, बाँकी दुई महिना २५ दिन कहाँ लगेर बिक्री गर्ने ? यसैगरी, हाम्रोभन्दा छिमेकी देशको फूल सस्तो दरमा भित्रिन्छ । हाम्रो उत्पादन लागत बढी पर्छ । मलखाद, बेर्नालगायत कारणले भने भारतमा भने उत्पादन लागत नै कम पर्ने भएकाले फूल सस्तोमा आउँछ । खुला बजार भएकाले भारतबाट पनि उत्तिकै फूल आउँछ । चोरीपैठारीलाई रोक्न सकिएको छैन । लागत मूल्य पनि नउठ्ने भएपछि व्यवसायी समस्यामा परेका छन् ।
सरकारको उपेक्षा : अन्य व्यवसायजस्तै पुष्प व्यवसाय पनि सरकारको चासोको विषय नभएर उपेक्षामा पर्दै आएको छ । हाम्रो पुष्प प्रवर्द्धन नीति २०६९ जारी भइसकेपछि यस नीतिलाई कार्यान्वयन गर्ने क्रममा ०७१ देखि ०७४ सम्म केही कार्यक्रम कार्यान्वयन भए । तर, अहिले पछिल्लो अवस्थामा कृषिका अधिकांश कार्यक्रम सबै स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्न नसक्दा पछाडि परेको देखिन्छ ।
पुष्प क्षेत्रलाई हेर्ने कुनै निकाय छैन । नेपालमा रहेको एउटा मात्र पुष्प विकास केन्द्रलाई हामीले केन्द्रमा राख्न धेरै पहल गर्यौँ । अहिले भने बागमती प्रदेशमा छ । पुष्पलाई हेर्ने निकाय त्यही एउटा हो । यस्ता केन्द्र सबै सातवटै प्रदेशमा राखिनुपर्छ ।
अहिले बागमती प्रदेशले थोरबहुत काम गरेको भए पनि प्रभावकारी देखिन सकेको छैन । अन्य प्रदेशमा पुष्पको कार्यक्रम करिब–करिब शून्यको अवस्थामा रहेको छ । हाल ६० प्रतिशत पुुष्प कारोबार काठमाडाैंमा हुन्छ । ४० प्रतिशत कारोबार अन्य सहरमा छ । हामीले प्रदेशका अन्य मन्त्रालयमा पुगेर पनि समन्वय गर्ने गरेका छौँ । कोसी प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गरेको थियो । हाल त्यो कार्यान्वयनको तयारीमा छ । सरकारले प्राथमिकतामा नराखी र निजी क्षेत्रसँग समन्वय नगरीकन अहिलेको पुष्प व्यवसाय अघि बढाउन सकिने अवस्था छैन ।
विशेषगरी, बिहेबारी गर्ने वेला, कसैलाई सम्मान तथा सत्कार गर्नुपर्ने होस् या घर सजाउनका लागि फूल आवश्यक पर्छ । विभिन्न समयमा फूल आवश्यक हुन थालेपछि खरिद गर्ने उपभोक्तासमेत बढ्दै गएका छन् । तर, फूलको माग बढे पनि फूल व्यवसायको प्रवर्द्धन गर्न नसक्दा फूलको कारोबारमा नेपाल भारतनिर्भर हुनुपरेको छ ।
फूल र नेपाल : नेपाली बजारमा एक अर्बभन्दा माथिको फूलको कारोबार हुने गरेको देखिन्छ । यो सिजनल फूल, पुष्पगुच्छा, कट फ्लावर र फूलका बोटबिरुवासहितको बजार हो । बर्सेनि फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिएको छ । पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ ।
मानिसको सामाजिक आर्थिक स्तर बढ्दै गएसँगै नेपालमा व्यावसायिक फूलखेतीतर्फ आकर्षण बढिरहेको छ । धेरैजसो जिल्ला जस्तै– झापा, दाङ, चितवन, धादिङ, काभ्रे, नुवाकोट, बाँके, बर्दिया, सुर्खेत, धनगढी र काठमाडौं उपत्यकावरिपरि र अन्य भूभागमा फूलको व्यावसायिक खेती गरिएको र गत वर्षभन्दा यस वर्ष बढी फूल उत्पादन भएको समाचार प्रशंसनीय हो । नेपाल फूलमा आत्मनिर्भर बन्दै छ ।
आर्थिक आर्जन हुने, सुन्दरता छर्ने र आनन्द दिने फूलको व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि उत्पादन हुने क्रम बढेबाट कृषिलाई टेवा दिन, रोजगारी र आय सिर्जना गर्न र वातावरण स्वच्छ र सुन्दर बनाउन यस क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने आशा गर्न सकिन्छ । राज्यले पनि यसका लागि प्रमुख भूमिका खेल्नुपर्छ ।
तामाङ फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष हुन् ।