मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २२ बुधबार
  • Thursday, 02 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २२ बुधबार o८:o४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिक महिला फुटबल छनोट : ३३औँ वरीयताको भियतनामसँग भिड्दै नेपाल 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २२ बुधबार o८:o४:oo

आउने जुलाईमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने महिला विश्वकपमा स्थान बनाएको भियतनामविरुद्ध नेपालले बुधबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै

नेपाली महिला फुटबल टोलीले बुधबार दशरथ रंगशालामा फिफा वरीयताको ३३औँ स्थानमा रहेको भियतनामसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोटको पहिलो चरणमा भियतनामको सामना गर्न लागेको हो । एसियन छनोटको समूह ‘सी’मा यसअघि नेपाल, भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन थिए । गत साता अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र दुई खेल हुन लागेको हो । दुई खेलमा शीर्ष रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ । 

एसियाली छनोटको पहिलो चरणमा २६ टोलीले विभिन्न सात समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक समूहका विजेता दोस्रो चरणमा पुग्नेछन् । एसियन फुटबल काउन्सिल (एएफसी)का अनुसार उत्तर कोरिया, जापान, अस्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणमा चार टोली सम्मिलित तीन समूह हुनेछन् । विजेता र उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछन् । तेस्रो चरणदेखि एएफसीले होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गराउनेछ । तेस्रो चरणको विजेता पेरिस ओलम्पिकमा छनोट हुनेछ । नेपालको तुलनामा भियतनाम निकै बलियो छ ।

यो एक वर्षभित्र भियतनामले एसियाकै बलियो राष्ट्रसँग प्रतिस्पर्धा गरिसकेको छ । एसियाकै शक्तिशाली टोली मानिने दक्षिण कोरियासँगको पहिलो खेलमा भियतनामले ३–२ को रोमाञ्चक जित निकालेको थियो । यसअघिका खेलमा दक्षिण कोरियाले भियतनाममाथि ३–० को सानदार जित निकाल्यो । फिफा वरीयतामा समेत आफूभन्दा निकै माथि रहेको भियतनामविरुद्ध नेपालले चुनौती प्रस्तुत गर्ने अपेक्षा राखेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक अनन्तराज थापा र कप्तान एन्जिला तुम्बापो सुब्बाले दशरथ रंगशालामा चुनौती प्रस्तुत गर्ने बताए । फिफा वरीयतामा नेपाल सयौँ स्थानमा छ ।

भियतनाम आउँदो जुलाईमा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने महिला विश्वकप खेल्ने राष्ट्र हो । सन् १९९९ देखि भियतनामले लगातार एसिया कप खेलिरहेको छ । गत वर्ष भारतमा भएको एसिया कपमा यो टोली क्वार्टरफाइनलसम्म पुगेको थियो । नेपाल दक्षिण एसियाली क्षेत्रको उपविजेताभन्दा माथि उठ्न सकेको छैन । नेपालले ओलम्पिक छनोटको तयारीका लागि गत महिना भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले भारतलाई दुईवटै खेलमा बराबरीमा रोकेको थियो । 

स्तर परीक्षण गर्ने अवसर
प्रतियोगिताअघि मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित प्रिपोस्ट म्याचमा नेपालका प्रशिक्षक थापाले भियतनामसँग आफूहरूको स्तर परीक्षण गर्ने अवसर भएको प्रतिक्रिया दिएका छन् । ‘नेपालको महिला फुटबलको क्षमता कस्तो छ भनी परीक्षण गर्ने वेला पनि हो,’ थापाले भने, ‘भियतनाम हाम्रो स्तर परीक्षण गर्नका लागि राम्रो प्रतिद्वन्द्वी हो ।’ छनोट प्रतियोगिताका लागि नेपालले राम्रो तयारी र टोली बनाएको थापाको भनाइ छ । ‘हामीसँग राम्रो तयारी र टोली छ, मलाई आशा छ, राम्रो नतिजा आउनेछ,’ उनले भने । 

भियतनामसँग प्रतिस्पर्धा गर्नुअघि आफूले उनीहरूको बारेमा राम्रोसँग अध्ययन गरिरहेको थापाको भनाइ छ । ‘भियतनामको खेल र उनीहरूको खेलाडीका बारेमा अध्ययन भइरहेको छ,’ थापाले भने, ‘उनीहरूका प्रमुख खेलाडीको अनुगमन हामीले गरेका छौँ ।’ 

गीता र प्रीति चोटग्रस्त
ओलम्पिक छनोट प्रतियोगितामा नेपालले प्रमुख खेलाडीको साथ पाउनेछैन । नेपाली टोलीकै प्रमुख खेलाडी मानिने गीता राना र प्रीति राई चोटग्रस्त छन् । दुवैजना भियतनामविरुद्ध खेल्नेछैनन् । प्रतिस्पर्धामा यी दुई खेलाडीको कमी आउने प्रशिक्षक थापाले बताए । ‘हामीले प्रतियोगितामा मुख्य खेलाडी प्रीति र गीतालाई गुमाउनु दुःखद हो,’ प्रीति र गीताको महत्वबारे उनले भने, ‘हामीसँग खेलाडी छनोटको विकल्प छ ।’ यसैगरी, नेपाली टोलीकी कप्तान सुब्बाले भियतनाम माथिल्लो स्तरको प्रतियोगिता खेल्ने राष्ट्र भएको बताइन् । 

सुब्बा भन्छिन्, ‘हामीलाई स्पष्ट थाहा छ, भियतनाम ओलम्पिकजस्तो प्रतियोगिता खेल्न सक्छ, यद्यपि हामी उनीहरूलाई कडा चुनौती दिन तयार छौँ,’ आत्मविश्वासी सुब्बाले भनिन्, ‘हामी खेल जित्न चाहन्छौँ ।’ यसैगरी, भियतनामका मुख्य प्रशिक्षक माई डक चुङले नेपाल प्रभावशाली टोली रहेको जनाए । ‘नेपालसँगको खेल राम्रो हुने अपेक्षा छ,’ डकले भने, ‘हामीले नेपालसँग पहिले खेलेका छैनौँ, तर नेपालसँग प्रभावशाली टोली छ ।’ 

एकै राष्ट्रविरुद्ध दुई खेल
अफगानिस्तान र प्यालेस्टाइनले छनोट चरणबाट नाम झिकेपछि एएफसीले नेपाल र भियतनामबीच दुई खेलको नीति लिएको हो । भियतनामकी कप्तान हुन नुले एकै राष्ट्रविरुद्ध एकै छनोटमा दुईपटक प्रतिस्पर्धा गर्नुपर्दा आफूलाई अनौठो लागेको बताइन् । ‘एउटै राष्ट्रविरुद्ध दुईपटक खेल्नु अनौठो लागेको छ,’ उनले भनिन्, ‘हामी प्रतिद्वन्द्वीको सम्मान गर्छौं, यहाँ हामी जित्नका लागि आएका छौँ । नेपालका प्रशिक्षक थापाले आफूभन्दा बलियो राष्ट्रसँग भिड्दा वरीयतामा समेत सुधार हुने बताए । ‘नेपालको फुटबल माथि उकास्नका लागि आफूभन्दा वरीयतामा माथि भएकासँग खेल्नुपर्छ,’ थापाले भने । यसैगरी, नेपाली टोलीकी कप्तान सुब्बाले प्रतिस्पर्धामा वरीयताको अर्थ खासै नरहने जनाइन् । 

‘भियतनाम हामीभन्दा वरीयतामा माथि छ,’ कप्तान सुब्बाले भनिन्, ‘खेलमा वरीयताले खासै असर गर्दैन । हामीले पहिले पनि ओलम्पिक छनोटमा म्यानमारसँग बराबरी खेलेको हो ।’ यसैगरी, भियतनामकी कप्तान नुले नेपालले भारतसँगको मैत्रीपूर्ण खेलमा राम्रो खेलेको बताइन् । ‘भारतविरुद्ध नेपालले राम्रो प्रदर्शन गरेको थियो, नेपाललाई एक बलियो प्रतिस्पर्धीका रूपमा लिएका छौँ,’ उनले भनिन् । भियतनामकी कप्तान नु पोर्चुगिज क्लब लांक एफसी भिलाभिडेन्समा आबद्ध छिन् । ३१ वर्षीया नु २०२२ मा लांकसँग अनुबन्धित भएकी थिइन् ।