मुठी दान र चन्दा उठाएर अभिभावकहरूले बनाएको तुलसीपुर उपमहानगरपालिका– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालय जिल्लाकै नमुना बनेको छ । यहाँ पढ्ने ४५० विद्यार्थीमध्ये अधिकांश गरिब, दलित तथा पिछडिएका समुदायका छन् । माध्यमिक विद्यालय बनाउने अभिभावकको चाहना छ, तर सरकारको नजर पुगेको छैन ।
दुई दशकअघिसम्म तुलसीपुर पातुखोलाका कलिला बालबालिका विद्यालय पढ्न टाढाटाढा धाउनुपर्थ्यो । गाउँमा विद्यालय नहुँदा आफ्ना लालाबाला शिक्षाबाट पछाडि पर्ने हुन् कि भन्ने चिन्तामा थिए, अभिभावक । त्यही चिन्ताले ०५८ सालमा जन्मायो, ज्ञानज्योति आधारभूत विद्यालय ।
मेघराज घिमिरे प्रधानाध्यापक
सुरुमा निकै चुनौती थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ । अहिले ४५० जना विद्यार्थी अध्ययनरत छन् । नजिक सेन्टर स्कुल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनुपथ्र्यो । पावर नपुगे भर्ना गर्न पाउने स्थिति नै रहँदैनथ्यो, त्यही भएर पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौँ ।
अहिले तुलसीपुर उपमहानगरपालिका– ५ नम्बर वडामा पर्ने पातुखोलाको परिचय त्यही विद्यालयले फराकिलो बनाइदिएको छ । किनभने, ज्ञानज्योति आधारभूत विद्यालय जिल्लाकै नमुना विद्यालय बनेको छ । तर, यो विद्यालय स्थापनाकालका संघर्षका दिन निकै कठिन थिए । स्थानीयहरू सम्झन्छन्, ‘०५८ सालमा चन्दा संकलन गरेर विद्यालय निर्माण गरियो । तर, भवन हावाले उडाएर भत्काइदियो । हामीले हिम्मत हारेनौँ । पुनः विद्यालय भवन निर्माण गरेर कक्षा सञ्चालन गर्यौँ ।’
भवन निर्माण भएपछि सुरुमा कक्षा तीनसम्म चलाए । विद्यालय चलाए पनि शिक्षकलाई तलब खुवाउने कुनै स्रोत थिएन । त्यसपछि गाउँका सबैले मुठी दान गरेर शिक्षकलाई तलब खुवाए । ‘मुठी दानमार्फत चामल संकलन गर्यौँ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने, ‘दानबाट संकलन गरेको चामललाई बिक्री गरेर शिक्षकलाई तलब खुवाएका थियौँ ।’
त्यही विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमुना विद्यालयका रूपमा स्थापित छ । अहिले त्यहाँ विद्यालयका आधुनिक भवन मात्रै छैनन्, पढाइ पनि उत्तिकै राम्रो छ । त्यसैले पनि अहिले उपमहानगरपालिकाले नै आधारभूततर्फ उत्कृष्ट विद्यालयका रूपमा लिएको छ । कक्षा नर्सरी, एलकेजीदेखि आठसम्म पढाइ हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाइ पनि हुन्छ । नर्सरी, एलकेजी र कक्षा एकमा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको छ ।
जहाँ अहिले चार सय ५० जना विद्यार्थी छन् । ‘सुरुमा निकै चुनौती थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ,’ विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले भने, ‘अहिले चार सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।’ त्यहाँ सबै गरिब, दलित तथा पिछडिएका समुदायका बालबालिका पढ्छन् । पातुखोलाका बस्तीका प्रायः गिटी कुटेर दैनिकी चलाउनेहरू नै छन् । त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा भर्ना गर्ने स्थिति पनि थिएन । त्यसैले त्यहाँ विद्यालयको आवश्यकता देखेपछि पहल लिएको अभिभावक निर्मल परियारले बताए । ‘नजिक सेन्टर स्कुल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनुपर्थ्यो,’ उनले भने, ‘पावर नपुगे भर्ना गर्न पाउने स्थिति नै रहँदैनथ्यो, त्यही भएर पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौँ ।’
उपमहानगरपालिकाले पनि आधारभूततर्फको उत्कृष्ट विद्यालय देखाउनुपर्दा त्यही विद्यालयलाई नै देखाउने गर्छ । अति विपन्न समुदायका विद्यार्थी पनि अध्ययन गर्ने र खोलाको किनारलाई पनि व्यवस्थित गरेर विद्यालय सञ्चालनमा ल्याएपछि आफूहरूले यो विद्यालयलाई सहयोग पनि गरेको र प्रोत्साहन पनि गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारीले बताए । ‘त्यो विद्यालयलाई एउटा नमुना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिटी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरीहरू अध्ययन गर्छन्,’ उनले भने, ‘त्यसपछि त्यहाँको संरचना पनि उत्तिकै राम्रा भएका छन् ।’ अहिले त्यहाँ १० जना शिक्षक, चारजना बालविकास, एकजना निजी तथा एकजना परिचर कार्यरत छन् ।
आधारभूतबाट मावि बन्ने चाहना
नामजस्तै यो आधारभूत विद्यालयले धेरैलाई शिक्षाको ज्योति छरिरहेको छ । तर, यसलाई माध्यमिक विद्यालय बनाउने स्थानीयको सपना साकार भएको छैन । आधारभूत विद्यालयमा साढे चार सयजना विद्यार्थी हुनु भनेको यस विद्यालयमा शिक्षाको गुणस्तरको मापक हो । तर, अभिभावक यही विद्यालयमा माध्यमिक तहसम्मको पढाइ भइदिए हुन्थ्यो भन्ने चाहिरहेका छन् । यो चाहना विद्यार्थीहरूको पनि छ ।
नजिकै पढ्न पाउँदा विद्यार्थीहरू पनि खुसी भएका छन् । तर, अहिले आठ कक्षामा पढ्ने विद्यार्थीहरू नौ र दशको पढाइ पनि यही विद्यालयमा भइदिए हुन्थ्यो भन्ने कामना गरिरहेका छन् । ‘अहिलेसम्म हामीहरूले यही विद्यालयमा पढ्यौँ,’ विद्यार्थी लीला चलाउनेले भनिन्, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो । अहिले नभए पनि हामी पछि आउने विद्यार्थीहरूले कक्षा १० सम्म यहीँ पढ्न पाऊँ भन्ने चाहना छ ।’