मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २० सोमबार
  • Wednesday, 18 December, 2024
लहान ७ का वडाध्यक्ष राम औतार शर्मा
२o७९ चैत २० सोमबार १o:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रक्रिया मिचेर पुराना सरकारी सामान बिक्री गरी अनियमितता गरेकाे आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २० सोमबार १o:२३:oo

सिराहाको लहान नगरपालिका– ७  को नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काउँदा निकालिएका सामान र प्रयोगमा नरहेका करिब १५ लाख ५० हजार रुपैयाँ मूल्यका सामान प्रक्रिया मिचेर बिक्री गरिएको पूर्ववडाध्यक्षले आरोप लगाएका छन् । 

लहान– ७ का पूर्ववडाध्यक्ष राकेशकुमार गुप्ताले शनिबार अपराह्न लहानमा पत्रकार सम्मेलनमार्फत वर्तमान वडाध्यक्ष रामऔतार शर्माले पुरानो भवनको झ्याल, ढोका, ग्रिल, रेलिङसहित पुराना मेसिनरी पार्टस्, कवाडी फलामका सामानसहित करिब १५ लाख ५० हजार रुपैयाँ मूल्यका सामान लिलामी प्रक्रिया नअपनाई बिक्री गरेको बताए । 

‘वडाध्यक्षको काम, कर्तव्य र अधिकारलाई समेत बेवास्ता गर्दै नगरपालिकाकै ट्याक्टर र सरसफाइ कर्मचारीलाई परिचालन गरी कवाडीका सामान नेसनल सप्लायर्स लहान– ३ लाई बिक्री गरिएको रहेछ,’ पूर्ववडाध्यक्ष गुप्ताले भने, ‘सप्लायर्स सञ्चालकलाई पटक–पटक बिक्री गरी कानुनको समेत उल्लंघन गर्दै भ्रष्टाचार गरेकाले वडाध्यक्ष शर्मालाई तत्काल निलम्बन गरी कानुनी कारबाहीको माग गर्दछु ।’ 

बिक्रीको रकम राजस्व दाखिला : वडाध्यक्ष शर्मा
वडाध्यक्ष शर्माले भने काम नै नलाग्ने पुरानो जस्ता, डस्टबिन, फलामे डन्डीहरू आफू नभएको वेलामा बिक्री गरिएको तीन दिनपछि मात्र थाहा पाएको दाबी गर्दै केही सामान सप्लायर्सबाट फिर्ता ल्याएर नगरपालिकामा बुझाएको बताए। 

१० चैतमा बिक्री गरिएको सामानको एक लाख ७२ हजार तीन सय रुपैयाँ सप्लायर्ससँग बुझेर कार्यालय सहयोगीले ल्याएको भोलिपल्ट नै १५ चैतमा नगरको राजस्वमा दाखिला गर्न लगाएको उनको भनाइ छ । ‘नयाँ वडा कार्यालय भवन बनाउन सहरी विकास तथा भवन निर्माण विभागबाट साइट खाली गर्न भनिएपछि पुराना सामान बिक्री गरिएको रहेछ,’ उनले भने, ‘पुराना सामान निश्चित प्रक्रिया पुर्‍याएर मात्र बिक्री गर्नुपर्ने कुरा कर्मचारीले थाहा नपाउँदा त्यस्तो हुन गएको हो, गलत नियतले होइन ।’

प्रक्रियाबारे थाहा छैन : निमित्त प्रशासकीय अधिकृत
आफू कृषि प्राविधिक भएकाले नगरको पुराना सामान बिक्री गर्ने प्रक्रियाबारे थाहा नभएको जानकारी दिँदै निमित्त प्रशासकीय अधिकृत प्रकाश साहले प्रशासन फाँटमार्फत प्रक्रियाबारे बुझ्न आग्रह गरे । सरकारी सम्पत्ति खरिद, बिक्री वा नष्ट गर्न के गर्नुपर्छ भन्ने सामान्य विषय पनि निमित्त प्रशासकीय प्रमुखजस्तो पदमा बसेका व्यक्तिलाई थाहा हुँदैन त भन्नेबारेमा उनले भने, ‘तपाईंलाई प्रक्रियाबारे बुझ्नैपर्ने छ भने प्रशासन शाखामा कुरा गर्नुस्, मलाई थाहा नभएको कुरा कसरी भन्न सक्छु र ?’

नगरको ७ नं. वडा कार्यालयमार्फत पुराना सामान बिक्री गरिएको भन्ने कुरा सुनेको, तर कुन–कुन सामान कसरी बिक्री गरियो, त्यसको अभिलेख जिन्सीमा नआएको नगरको जिन्सी शाखाले जनाएको छ । वर्षौँ पुराना सामान नष्ट वा बिक्री गर्नुपरे नगर कार्यपालिकाबाट निर्णयपछि सार्वजनिक सूचना प्रकाशित गरी डाक बडाबड वा  सिलबन्दीमार्फत बिक्री गरिनुपर्ने प्रशासन शाखाका एक कर्मचारीले बताए । वडा कार्यालयले पुराना सामान बिक्री गर्दा निश्चित प्रक्रिया पुर्‍याउनुपर्नेबारे थाहा नहुँदा पनि त्यस्तो भएको हुन सक्ने उनले बताए ।