मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २२ सोमबार
  • Monday, 05 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार १६:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस छाडेको घोषणा गर्दै वाग्लेले भने- ऐतिहासिक दल दाइ, भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार १६:४०:००

डा. स्वर्णिम वाग्लेले कांग्रेस छाडेको आधिकारिक घोषणा गरेका  छन्। उनले आफ्नो फेसबुक पेजमार्फत ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

वाग्लेले लेखेका छन्:

नेपाली कांग्रेसबाट अलग भएको घोषणा...

वि.सं. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। 

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर, पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ। 

अब कांग्रेस–कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै ०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। 
जय नेपाल।