मदन भण्डारी सडक आयोजना निर्देशनालय र वन तथा भू–संरक्षण विभागबीच समन्वय अभाव रहँदा सडक निर्माणमै असर
सडकको बीचमा ठिंग उभिएको यो एउटा मात्र रूख होइन । मदन भण्डारी राजमार्गको सर्दुखोलादेखि मेचीडाँगीसम्म यस्ता दर्जनौँ रूख छन् । सरकारी निकायबीच समन्वय अभाव हुँदा सडक निर्माणमा कस्तो असर पर्छ भन्ने उदाहरण हुन् यी रूख ।
सडक विभागअन्तर्गतको मदन भण्डारी सडक आयोजना निर्देशनालय र वन तथा भूसंरक्षण विभागबीच समन्वय अभाव हुँदा सडक निर्माणमै असर परेको छ । सुनसरीस्थित सर्दु खोलादेखि झापाको मेचीडाँगीसम्म राजमार्गमा रूख हटाइएका छैनन् । सर्दु खोलादेखि मेचीडाँगीसम्म तीन खण्डमा ठेक्का लागेको २१ महिना बित्यो । तर, सरकारी निकायबीचको समन्वय अभावले निर्माणको गति बढ्न सकेको छैन । वन विभाग र मदन भण्डारी सडक आयोजनाबीच समन्वय अभाव देखिँदा निर्माण कार्यमै समस्या खडा भएको छ । सरकारी निकाय वन विभाग र मदन भण्डारी सडक आयोजना समन्वय गरेर सडकमा पर्ने रूख हटाउनुको सट्टा एक–अर्काप्रति आरोप–प्रत्यारोपमा छन् ।
मदन भण्डारी राजमार्गअन्तर्गत अहिले चार खण्डमा काम भइरहेको छ । पहिलो खण्ड सर्दु–भलुवाको २४. ८ किलोमिटर सडक ९३ करोड ३३ लाखमा ठेक्का लागेको छ । दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक एक अर्ब चार करोडमा ठेक्का लागेको छ । यी दुवै खण्ड २९ असार ०७८ मा ठेक्का सम्झौता भएको यो सडक ३० महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । तेस्रो खण्ड मेचीडाँगी–शान्तिपुरको दश किलोमिटर सडक ३७ करोड ९५ लाखमा ठेक्का लागेको छ । यो सडक भने सम्झौताको दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।
तीनवटै खण्ड श्रेष्ठ–मोतीदान जेभीले ठेक्का लिएको छ । चौथो बेलडाँगीदेखि कमल खोलासम्म भने गत मंसिरमा ठेक्का सम्झौता भएको छ । ३० महिनामा सक्ने गरी देव एन्ड सायर–सक्षम जेभीले ५४ करोड ९७ लाखमा ठेक्का लिएको छ । पूर्वी खण्डको १३१ किलोमिटरमध्ये हाल ९५ किलोमिटरमा काम भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख सुवोदकुमार देवकोटाले जानकारी दिए । यो खण्डअन्तर्गत ३७ वटा पुल बन्नेछन् । जसमध्ये ३१ वटा ठेक्का लागेर निर्माण भइसकेको छ ।
चारवटा पुलको निर्माण सम्पन्न भइसकेको छ भने अरू पुलको ८० प्रतिशत काम सकिएको उनले बताए । बाँकी ६ पुलको भने डिजाइन बनिरहेको योजना कार्यालयले जनाएको छ । जंगल नभएको ठाउँमा द्रुत गतिमा काम भइरहेको भए पनि जंगल भएको ठाउँमा कामले गति लिन नसकेको देवकोटाले बताए । वन विभागसँग समन्वय नै गर्न नसकिएको उनले बताए ।