
उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनुस् । ८ बजेभित्र ब्रेकफास्ट गर्नु राम्रो हुन्छ । ब्रेकफास्टमा तीन–चार सयसम्मको क्यालोरीयुक्त खाना खानुपर्छ । जसले कार्बाेहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सघाउँछ ।
त्यसैले खाजा वा खानामा प्रोटिन र कार्बाेहाइड्रेटको सन्तुलन मिलाउनुपर्छ । ओट्स, चिउरा, घरमै बनाएको रोटी, चिया पनि खान सकिन्छ । चियामा चिनी नमिसाउनु राम्रो हुन्छ । दाल, गेडागुडी, दूध, अन्डा, माछा, मासु मात्रा मिलाएर खानुपर्छ । ओखर, काजु, पेस्ता, बदाम, किसमिसलगायत ड्राइफुड खानाले स्वास्थ्यलाई फाइदा गर्छ ।
ब्रेकफास्ट गरेको चार घन्टाभित्र लन्च लिनुपर्छ । लन्चमा दाल–भात–तरकारी खाँदा पनि हुन्छ । हरियो सागपातमा अझ बढी जोड गर्नुपर्छ । सिजनल तरकारी खाँदा राम्रो हुन्छ । गाँजर, काँक्रा, मुला, प्याज मिलाएर खाँदा राम्रो हुन्छ । उसिनेर पकाएको तरकारी खानु झनै राम्रो हुन्छ ।
दिउँसो करिब ३ बजे खाजा खानु उपयुक्त हुन्छ । दिउँसोको समयमा कार्बाेहाइड्रेट कम र प्रोटिन धेरै भएको खानेकुरा खानुपर्छ । चना, भटमासजस्ता खानेकुरा खाँदा राम्रो हुन्छ ।
बेलुका ढिलो खाना खाँदा के हुन्छ ?
तपाईं बेलुकाको खाना पनि समयमै खाँदा राम्रो हुन्छ । शारीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसैले बेलुकाको खाना ७ देखि ८ बजेभित्र खाँदा राम्रो हुन्छ ।
बेलुकीको खानामा तरकारी तथा सागसब्जी समावेश गर्नुपर्छ । बेलुका शारीरिक तथा मानसिक रूपमा आराम गर्ने समय भएकाले कम खाँदा राम्रो हुन्छ । सुत्ने समयमा शरीर धेरै सक्रिय नहुने भएकाले धेरै खाँदा पचाउन कठिन हुन्छ ।
प्रोटिन कम भएको खानेकुरा खानुपर्छ । कतिपयमा खाना खानेबित्तिकै सुत्ने बानी हुन्छ, जो राम्रो होइन । खाना खाएपछि कम्तीमा चार घन्टापछि सुत्दा राम्रो हुन्छ । चार घन्टाभित्र खाना शरीरमा पचिसकेको हुन्छ । खाना खानेबित्तिकै सुत्नु राम्रो होइन ।