१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १ बुधबार ११:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोटोपन कसरी नियन्त्रण गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १ बुधबार ११:२२:००

अनियन्त्रित जीवनशैली मोटोपनको प्रमुख कारण 

अव्यवस्थित खानपान तथा आधुनिक जीवनशैलीका कारण नेपाली पछिल्लो समय मोटोपनको सिकार भइरहेका छन् । विशेषगरी, सहरी क्षेत्रको व्यस्त जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ । मोटोपनले धेरै रोग निम्त्याउने जोखिम रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि हामी सजग हुनैपर्छ । यसका लागि शरीरमा मोटोपन बढ्नुको कारण पहिल्याउनुपर्छ । आफ्नो हाइटअनुसार तौल छ वा छैन भन्ने जानकारी लिनुपर्छ । 

- हिजोआज देखिएको प्रमुख कारण अव्यवस्थित जीवनशैली नै हो । त्यस्तै, बच्चैदेखि जंकफुड खाने चलन बढेको छ । मैदाबाट बनेका खानेकुरा खाँदा, होटेलका परिकार खाँदा मोटोपन हुने गर्छ । 

- विशेषगरी, टेबल वर्क गर्नेहरूको शारीरिक कसरत निकै कम हुन्छ । उनीहरू व्यायामका लागि पनि समय निकालिरहेका हुँदैनन्, जसकारण तौल बढ्न थाल्छ ।

- हाइपोथाइराइड भन्ने हर्माेन परिवर्तन हुँदा पनि मोटोपन हुन्छ । पछिल्लो समय अधिकांश मानिसलाई हाइपोथाइराइड हर्माेनको मात्रा कमी हुँदा मोटोपन भएको देखिएको छ । यस्तो हर्माेनको डिसब्यालेन्सले मोटोपन निम्त्याउँछ । 

- कतिपयमा वंशानुगत कारणले पनि मोटोपन हुन्छ । यस्ता मानिस खाना कम खाए पनि बढी खाए पनि मोटाउने गरेको पाइन्छ ।

कसरी घटाउने ? 

हाम्रो दैनिक खानपानमा परिवर्तन ल्याउनुपर्छ । होटेलमा तयार भएका र प्याकेटका खानेकुरा (जंकफुड) कम गर्नुपर्छ । मैदाबाट बनेको खानेकुरा सकेसम्म खानुहुन्न । 

- कार्बाेहाइड्रेटको मात्रा कम भएका खानेकुरा खानुपर्छ । झोलिलो र पोषक खानेकुरा धेरै खानुपर्छ । फाइबर भएको खानेकुरा जस्तै, हरियो सागपात बढी खायो भने पेट भरिन्छ, तर क्यालोरी कम प्राप्त हुन्छ र स्वास्थ्य पनि राम्रो हुन्छ । झोलिलो पदार्थ जुस, सुपलगायत धेरै खानुपर्छ । तेलमा तारेको, भुटेको खानेकुरा खानुहुँदैन । 

- हामीले शारीरिक क्रियाकलापलाई जोड गर्नुपर्छ । मर्निङवर्क गर्ने, योग अभ्यास गर्ने, जिम जाने गर्नुपर्छ । त्यस्तै, स्विमिङ, साइक्लिङ गर्ने वा फुटसल, ब्याडमिन्टन, टेबलटेनिसलगायत खेल खेल्न सकिन्छ ।

- घरको सामान्य क्रियाकलापमा सक्रिय हुनुपर्छ । यसले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ । 

- पछिल्लो समय १६ घन्टे फास्टिङ पनि मोटोपन कम गर्ने प्रभावकारी विधि बनेको छ । आठ घन्टे फास्टिङमा पनि बेलुकीको खाना लाइट गर्नुपर्छ । यसले केही हदसम्म मोटोपन कम हुन्छ । 

यस्ता रोगको जोखिम 

मोटोपनले धेरै रोगको जोखिम निम्त्याउँछ । मोटोपन भएपछि ब्लडप्रेसर, सुगर, कोलेस्ट्रोललगायत बढ्छ । जसका कारण मुटुको समस्या देखिन सक्छ । त्यसैले कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श गरेर चेकजाँच गर्नुपर्छ, औषधि सेवन गर्नुपर्छ । रक्तचाप उच्च हुँदा हृदयाघातको जोखिम बढ्ने भएकाले यसलाई नियन्त्रणमा राख्नुपर्छ । समय–समयमा चेकजाँच गर्नुपर्छ । मोटोपन बढ्नेबित्तिकै घुँडाको समस्या हुन सक्छ । घुँडाको हड्डी खिइने समस्या देखिन सक्छ । साथै, कम्मर दुख्ने, ढाड दुख्ने समस्या हुन सक्छ । चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्नुपर्छ । महिलामा पाठेघरको समस्या देखिन सक्छ । मोटोपन भएपछि पाठेघरमा सिस्ट भएर बच्चा नहुनेसम्म खतरा हुन सक्छ । त्यसका लागि जाँच गरेर समयमै उपचार गर्नुपर्छ । आफ्नो शरीरको तौल सन्तुलनमा राख्न जरुरी छ ।