हात्तीले पृथ्वीलाई जलवायु परिवर्तन (ग्लोबल वार्मिङ)को दुष्प्रभावबाट बचाउन सक्छ भन्ने सुन्दा अनौठो नै लाग्न सक्छ । तर, सत्य यही हो । धेरैलाई थाहा नहुन पनि सक्छ कि हात्तीले जंगल बनाउन महत्वपूर्ण भूमिका निभाउँछन् ।उनीहरूको यस्तो भूमिका अधिक वायुमण्डलीय कार्बन एकत्रित गर्न र वनको जैविक विविधतालाई कायम राख्न हुन्छ । शोधकर्ताका अनुसार हात्तीको संख्या कम हुँदा वा हात्ती नै नहुँदा वायुमण्डलीय कार्बनको स्तरमा ठूलो प्रभाव पर्न सक्छ ।
त्यसो त हात्ती लोप हुने जोखिम दिन–प्रतिदिन बढ्दै गइरहेको छ । यदि साँच्चिकै यस धर्तीमा हात्ती नरहने हो भने मध्य तथा पश्चिमी अफ्रिकाको वर्षा वन (रेन फरेस्ट) वायुमण्डलीय कार्बन थाम्ने ६ देखि नौ प्रतिशतसम्मको क्षमता ह्रास हुनेछ, जसले गर्दा जलवायु परिवर्तन अझै बढ्छ ।
हात्ती पृथ्वीका दोस्रो ठूला वर्षा वन हुन् । अमेरिकाको सेन्ट लुइस विश्वविद्यालयका शोधकर्ताले गरेको एक अध्ययनमा पृथ्वीका लागि हात्तीको महत्वलाई रेखांकन गरेका छन् । यो शोधप्रतिवेदनका वरिष्ठ लेखक स्टिफन ब्ल्याकले आफ्नो करिअरको अधिकांश समय हात्तीको अध्ययनमा बिताएका छन् । नयाँ प्रतिवेदनमा ब्ल्याक र उनका अन्य सहयोगीले हात्तीको पारिस्थितिकीले अफ्रिकी मुलुकका वर्षा वनमा कार्बन भण्डारणमा बलियो प्रभाव पर्ने देखाएका छन् ।
अवैध सिकारमा प्रतिबन्ध
शोधकर्ता ब्ल्याकका अनुसार शताब्दिऔँदेखि मान्छेले हात्तीको सिकार गर्दै आइरहेको छ । परिणामतः अफ्रिकाको जंगलमा विचरण गर्ने हात्तीको अस्तित्व संकटमा परिरहेको छ । कुनै वेला एक करोडभन्दा बढीको संख्यामा हात्ती अफ्रिकामा विचरण गर्थे, घुम्थे । तर, अब उनीहरूको संख्या पाँच लाखभन्दा पनि कम पुगेको छ । यी हात्तीको संख्या पछिल्लो ३० वर्षमा ८० प्रतिशतभन्दा बढीले घटेको छ ।
हात्तीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत संरक्षण दिइएको छ । तर, यति हुँदा पनि उनीहरूको अवैध सिकार रोकिएको छैन । जंगलभित्र केही रूख हलुका काठ (कम कार्बन घनत्व भएका) र केही गह्रुँगा (उच्च कार्बन घनत्व) भएका हुन्छन् ।
यस धर्तीमा हात्ती नरहने हो भने मध्य तथा पश्चिमी अफ्रिकाको वर्षा वन (रेन फरेस्ट) वायुमण्डलीय कार्बन थाम्ने ६ देखि नौ प्रतिशतसम्मको क्षमता ह्रास हुनेछ, जसले गर्दा जलवायु परिवर्तन अझै बढ्छ
कम कार्बन घनत्व भएका रूख छिटै बढ्छन् र सूर्यको प्रकाश प्राप्त गर्न अरू रूख–बिरुवाभन्दा माथि पुग्छन् । तर, उच्च कार्बन घनत्व भएका रूख–बिरुवा भने बिस्तारै बढ्छन् । यस्ता रूख छायामा बढ्न सक्षम हुन्छन्, जसले प्रायः पौष्टिक मात्राले भरिपूर्ण फल दिन्छन् । त्यही फल हात्तीले खान्छन् । यसको बिउ हात्तीको आन्द्रा हुँदै गोबरका माध्यमबाट पुनः जंगलमा बिरुवा भएर उम्रिन्छन् । अनि ठूलो रूखका रूपमा विकसित हुन्छन् ।
ब्ल्याकका अनुसार हात्ती जंगलका माली हुन् । हात्ती र अन्य ठूला शाकाहारी जीव कम कार्बन घनत्व भएका रूखबाट अधिक खाना लिन्छन् । यस्ता रूख उच्च कार्बन घनत्व भएका प्रजातिको तुलनामा बढी स्वादिष्ट र पौष्टिक हुन्छन् । हात्तीको यही प्राथमिकताले जंगल छाँटिन थाल्छ । यसले रूखहरूबीचको प्रतिस्पर्धालाई कम गर्छ र उच्च कार्बन घनत्व भएका रूखलाई फल्न–फुल्न आवश्यक पर्ने प्रकाश, स्थान र माटोबाट प्राप्त हुने पोषक तत्व प्रदान गर्छ । अतः हात्तीलाई लोप हुनबाट बचाउन उनीहरूको अवैध हत्यालाई रोक्नुपर्ने हुन्छ ।
हात्तीको भूमिका
हात्ती लोप हुनु भनेको वनको जैविक विविधता नष्ट हुनु हो । यदि हात्तीलाई लोप हुन दिइरहने हो भने यो विश्वमा जलवायु परिवर्तनको प्रभावलाई रोक्न गरिएका तमाम उपायलाई ठूलो झड्का लाग्नेछ । हात्ती संरक्षणार्थ आवश्यक समर्थन उत्पन्न गर्न नीतिनिर्माताले गम्भीरतापूर्वक बुझ्नुपर्ने हुन्छ कि जलवायु परिवर्तनको प्रभावलाई रोक्न जंगलमा हात्तीको भूमिका विशेष छ । विश्व पर्यावरणमा हात्तीको भूमिकालाई नकार्न सकिँदैन ।
शोधकर्ताहरू अब वर्षा वनमा अन्य जनावरले उनीहरूको जैविक विविधतालाई कसरी प्रभावित गर्न सक्छन् र त्यसमा हात्तीको जस्तो समान प्रभाव पर्छ कि पर्दैन भन्ने पत्ता लगाउन चाहन्छन् । शोधप्रतिवेदनका अर्का लेखक बर्जागीका अनुसार यो अध्ययन अफ्रिकाका हात्तीमा मात्रै सीमित छैन । यसको अर्थ यो पनि हो कि प्राइमेट र एसियाली हात्तीजस्ता ठूला शाकाहारी जीव पनि वर्षा वनमा उच्च कार्बन घनत्व भएका रूखको विकासमा योगदान दिन सक्छन् ।