मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Thursday, 19 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ फाल्गुण २६ शुक्रबार o८:३३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरको नि:शुल्क शौचालय अभियान, निजी संस्थाले प्रयोग गर्न दिन छाडे

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार o८:३३:oo

सधैँभरि शौचालय प्रयोग गर्न दिन नसक्ने व्यवसायीको भनाइ

काठमाडौं महानगरपालिकाको आह्वानमा निजी संघ–संस्था र होटेलहरूले सर्वसाधारणलाई दिँदै आएको निःशुल्क शौचालय प्रयोग बन्द गरेका छन् । मेयर बालेन्द्र साहको आह्वानपछि गत भदौमा महानगरका एक सय ५० संघ–संस्थाले निःशुल्क शौचालय सीमित अवधिका लागि प्रदान गर्न दिने घोषणा गरेका थिए । सात महिनासम्म पनि महानगरले शौचालय निर्माणसम्बन्धी दीर्घकालीन योजनामा काम नगरेको भन्दै निजी क्षेत्रले निःशुल्क शौचालय प्रयोगमा रोक लगाएका हुन् । 

महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्– शौचालय बनाउन ठाउँ नै पाएनौँ
शौचालय बनाउन महानगरले योजना र बजेट छुट्याएको छ । तर, उपयुक्त ठाउँ फेला नपारेका कारण काम अघि बढ्न सकेको छैन । जनसंख्याअनुसार काठमाडौंमा एक सय ५० स्थानमा सार्वजनिक शौचालय चाहिन्छ, तर मुस्किलले दुई दर्जनजति होलान् । 

महानगरको मेयरमा निर्वाचित भएलगत्तै साहले निजी क्षेत्रसँग मिलेर तत्कालका लागि निःशुल्क शौचालय प्रयोग गर्ने योजना अघि सारेका थिए । तत्कालीन समयमा मेयरलाई समर्थन गर्दै सडकआसपासका व्यापारिक भवन र होटेलहरूले निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रतिबद्धता जनाएका थिए । ‘अब महानगर आफैँले शौचालयको व्यवस्था गर्नुपर्छ, सधैँभरि गुहारेका भरमा शौचालयमा सहायता लिने होइन,’ सुन्धारा भोटेबहालका व्यवसायी नवीन महर्जनले भने, ‘देशको राजधानी रहेको महानगरले नगरवासीलाई निःशुल्क शौचालय सेवासमेत दिन नसक्नु लाजमर्दो कुरा हो ।’ 

यस्तै, सुन्धारामा होटेल सञ्चालन गरिरहेका चेतबहादुर थापाले पनि निजी क्षेत्रले सधैँभरि निःशुल्क शौचालय सेवा दिन नसक्ने बताए । महानगरले अघि सारेका योजनामा काम नगर्ने, तर निजीसँग मागेर शौचालय प्रयोग गर्नु उचित नभएको उनको भनाइ छ । ‘हामीले केही समयका लागि महानगरलाई सहयोग गर्न खोजेको हो, तर उनीहरूले लामो समयसम्म पनि शौचालयको समाधान खोजेनन्,’ उनले भने, ‘महानगरवासीलाई शौचालयसमेत प्रदान गर्न नसक्ने महानगरसँग अरू के आशा गर्नु ?’

कति छन् महानगरका सार्वजनिक शौचालय ?
काठमाडौं महानगरको स्वामित्वमा दुई दर्जनजति शौचालय छन् । तर, ती शौचालय फोहोर र दुर्गन्धित छन् । भोटाहिटी, परोपकार, नयाँ बानेश्वर, सुन्धारा, चाबहिललगायत ठाउँमा महानगरका शौचालय छन् । यसबाहेक केही निजी संघ–संस्थाले काठमाडौंका केही स्थानमा अपांगमैत्री अत्याधुनिक शौचालय निर्माणसमेत गरेका छन् । महानगरको जनसंख्याको अनुपातमा शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । महानगरले त्रिपुरेश्वर, टेकु, पाटनढोका, कुपन्डोललगायत सीमित ठाउँमा सुविधायुक्त शौचालय पनि बनाएको छ । तर, पयर्टकीय क्षेत्र र भिडभाड हुने क्षेत्रमा शौचालयको अभाव छ ।

तीनवटा मात्रै छन् घुम्ती शौचालय 
सहरी क्षेत्रमा घुम्ती शौचालय प्रभावकारी मानिन्छ । तर, काठमाडौं महानगरपालिकाभित्र तीनवटा मात्रै घुम्ती शौचालय छन् । निजी कम्पनीका वासु उप्रेतीले सर्वसाधारणको भिडभाड हुने ठाउँमा ती घुम्ती शौचालय सञ्चालन गर्छन् । घुम्ती शौचालय प्रयोग गर्दा प्रतिव्यक्ति १० रुपैयाँ तिर्नुपर्छ । कोटेश्वर, चाबहिल, रत्नपार्क र सुन्धारा क्षेत्रमा घुम्ती शौचालय राख्ने गरिएको छ । घुम्ती शौचालयमा जम्मा भएको मलमूत्र ललितपुर र धादिङको ग्रामीण क्षेत्रमा मलका रूपमा प्रयोग गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार जम्मा भएको मलमूत्र नदी तथा खाली ठाउँमा फाल्न पाइन्छ । उपत्यका बाहिर वा खेतबारीमा खाल्डा खनेर त्यसलाई व्यवस्थापन गरिन्छ । 

वसन्तपुरमा शौचालय छ, प्रयोग गर्न दिँदैनन् 
महानगरको पर्यटकीय क्षेत्र वसन्तपुरमै पर्याप्त शौचालय छैनन् । यहाँ जाने पयर्टकले निजी होटेलहरूका शौचालय प्रयोग गर्छन् । वसन्तपुर दरबार क्षेत्रमा शौचालय भए पनि त्यो दरबार हेरचाह कार्यालयका कर्मचारी र महानगरअन्तर्गतको नगर प्रहरीले प्रयोग गर्छ । शौचालयमा चाबी लगाइने भएकाले सर्वसाधारण तथा पर्यटकले सो शौचालय प्रयोग गर्नसमेत पाउँदैनन् । ‘पर्यटकीय क्षेत्रमा एउटा व्यवस्थित शौचालय छैन, चियाखाजा खाने निहुँमा कुनै होटेलमा गएर शौच गर्नुपर्ने बाध्यता छ,’ बिहीबार वसन्तपुर क्षेत्रमा भेटिएका कपनका सोनाम लामाले भने । वसन्तपुर क्षेत्रमा खुला रूपमा शौचालय नहुँदा त्यहाँ जाने पयर्टकलाई समेत सास्ती हुने गरेको छ । 

शौचालय बनाउन पाँच करोड छुट्याइयो, तर ठाउँ भेटिएन 
काठमाडौं महानगरभित्रका १० स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि महानगरले यस आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेको थियो । ठाउँ अभाव भएको भन्दै सो योजना अघि बढ्न सकेको छैन । प्रवक्ता नवीन मानन्धरका अनुसार ठाउँ भेटिए पनि उपयुक्त नभएका कारण शौचालय बनाइएको छैन । ‘हामीले सकेसम्म सर्वसाधारणको भिडभाड हुने र ओहोरदोहोर बढी हुने ठाउँमा शौचालय बनाउन ठाउँ खोजेका छौँ,’ उनले भने, ‘तर, ठाउँ भेटिएको छैन ।’ उनका अनुसार सर्वसाधारणको ओहोरदोहोर र बढी भिडभाड हुने क्षेत्रमा शौचालय बनाउन ठाउँ नभेटिए भित्री क्षेत्रमा भए पनि शौचालय बनाइनेछ । यो आवमा १० वटा शौचालयको जग्गा निर्धारण गरेर काम सुरु गर्ने लक्ष्य राखिएको प्रवक्ता मानन्धरले जानकारी दिए ।