१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Saturday, 28 September, 2024
८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना उद्घाटन कार्यक्रम । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार o६:३५:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रकै ठूलो सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा

विद्युत् उत्पादनमा मात्रै नभएर देशभित्रै खपत गर्न जोड दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार o६:३५:oo

८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाबाट व्यावसायिक   उत्पादन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौंमा विशेष समारोहबीच आयोजना उद्घाटन गरेका छन् । प्रवद्र्धक कम्पनी साहस ऊर्जा लिमिटेडले गत २७ माघबाट परीक्षण उत्पादन सुरु गरे पनि १७ फागुनबाट व्यावसायिक उत्पादन सुरु भएको थियो ।  ८ माघ ०७४ बाट निर्माण सुरु भएको आयोजना निजी क्षेत्रबाट सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । ११ अर्ब ८६ करोड लगानीमा निर्मित आयोजना समग्रमा भने नेपालमा सञ्चालनमा रहेकामध्ये तेस्रो ठूलो आयोजना हो ।

तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)को अगुवाइमा १० बैंक तथा वित्तीय संस्थाले यसमा ऋण लगानी गरेका थिए । उनीहरूले आठ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । अन्य रकम भने कम्पनीले स्वपुँजीका रूपमा लगानी गरेको छ । कुल साढे तीन अर्ब रुपैयाँ पुँजी भएको यस कम्पनीमा आठ हजार एक सय १५ जना संस्थापक सेयरधनी छन्, जुन अन्य जलविद्युत् प्रवद्र्धक कम्पनीको भन्दा धेरै हो । यस कम्पनीमा दुई अर्ब ४५ करोड रुपैयाँ संस्थापक र एक अर्ब पाँच करोड रुपैयाँ सर्वसाधारणको सेयर रहेको छ । 

यस्तै, उनले अब नेपाल ग्रिन हाइड्रोजन उत्पादनमा अग्रसर हुनुपर्ने बताए । ‘अहिले विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ अग्रसर हुँदै छ । नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गर्ने स्रोत पनि पर्याप्त छ । त्यो अवस्थामा हामीलाई ग्रिन हाइड्रोजन उत्पादन गर्ने अवसर र चुनौती दुवै छन् । तसर्थ, अब ग्रिन हाइड्रोजनमा अग्रसर हुनुपर्छ,’ उनले भने, ‘म आफँै पनि हाइड्रोजन गाडी चढ्ने तयारीमा छु । समग्रमा ग्रिन हाइड्रोजनमार्फत नेपाली अर्थतन्त्रमा रिभोलोसन ल्याउन सकिन्छ ।’

यस्तै, उनले सरकार अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न अग्रसर भएको बताए । ‘मन्त्रिपरिषद्को पहिलो बैठकमै निजी तथा सार्वजनिक निकायसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने निर्णय भइसकेको छ । साथै, केही दिनअघि मात्रै राष्ट्र बैंक तथा व्यावसायिक संघ–संस्थाका प्रतिनिधिसँग यसबारे छलफल पनि भइसकेको छ,’ उनले भने, ‘अबको केही दिनमै हामीले निकै विश्वासिलो उपायसहित अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न अग्रसर हुनेछौँ ।’

यस्तै, उनले ऊर्जा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको पनि बताए । ‘विद्युत् उत्पादन गर्ने प्रक्रियामा प्रवद्र्धक कम्पनीहरूलाई विभिन्न मन्त्रालय र विभाग धाउनुपर्ने बाध्यता छ । त्यसलाई एकद्वार प्रणालीमा ल्याउन वा सहजीकरण गर्न सरकार सकारात्मक छ,’ उनले भने, ‘आवश्यक कानुन संशोधन गरेर विद्युत् 
उत्पादन गर्ने प्रक्रियालाई सहज बनाउनेछौँ ।’

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउँदा समग्र निजी क्षेत्र उत्साहित भएको बताए । ‘जुन वेला निजी क्षेत्रलाई ५–१० मेगावाटको आयोजना बनाउन पनि कठिन थियो, त्यो अवस्थामा साहस ऊर्जाले यतिको ठूलो आयोजना बनाउने अठोट ग¥यो र आयोजना सञ्चालनमा पनि ल्यायो, यसले निजी क्षेत्र उत्साहित भएको छ,’ उनले भने, ‘साथै, हामीलाई अझ बढी क्षमताका जलविद्युत् आयोजना बनाउन हौसला मिलेको छ ।’

यस्तै, उनले जलविद्युत् आयोजना बनाउन निजी क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताए । ‘नेपालमा जलविद्युत्को इतिहास एक सय १० वर्ष पुरानो हो । तर, निजी क्षेत्र जलविद्युत् उत्पादनमा प्रवेश नगर्दासम्म यसमा खासै उपलब्धि भएको थिएन । निजी क्षेत्रको प्रवेश भएपछि जलविद्युत् उत्पादनमा निकै प्रगति भएको छ,’ उनले भने, ‘तसर्थ, सरकारले निजी क्षेत्रलाई अझै सहयोग र प्रोत्साहन गर्नुपर्छ ।’ विशेष गरी जलविद्युत् आयोजना बनाउँदा सात मन्त्रालय र २२ विभाग धाउनुपर्ने बाध्यता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, कम्पनीका अध्यक्ष हिम पाठकले यो आयोजना सञ्चालनमा आउँदा स्वदेशी लगानीमै ठूला आयोजना बनाउन सकिन्छ भन्ने प्रमाणित भएको बताए । ‘भूकम्प, कोरोना महमारी, महँगीलगायत कठिन अवस्था सामना गरेर यो आयोजना सञ्चालनमा ल्याउन सफल भयौँ । यसले हामीलाई थप ठूलो आयोजना बनाउनसमेत प्रोत्साहन गरेको छ,’ उनले भने, ‘सफलता किताब होइन, मिहिनेत हो भन्ने पुष्टि भएको छ । आगामी दिनमा ठूला आयोजना बनाउँदा यो अनुभव प्रभावकारी हुनेछ ।’ निजी क्षेत्रले अब पाँच सय मेगावाटसम्मको आयोजना स्वदेशी लगानीमै बनाउन सक्ने उनको भनाइ छ । 

यस्तै, कम्पनीका प्रबन्ध निर्देशक सुशील थापाले यो आयोजनाले कुल गार्हस्थ्य उत्पादनमा ०.३ प्रतिशतसम्म योगदान दिने बताए । साथै, आगामी दिनमा ०.१० प्रतिशतसम्म योगदान दिने उनको दाबी रहेको छ । ‘यो आयोजनाले स्थानीय क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा पनि योगदान दिएको छ,’ उनले भने, ‘साथै, उज्यालो नेपाल बनाउन ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप्न सफल भएका छौँ । यो आयोजना बनाउन बीचमा निकै बाधा आए, ती बाधा समाधान गर्न सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद छ ।’

निजी क्षेत्रलाई थप प्रोत्साहन मिलेको छ : प्रधानमन्त्री 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउँदा निजी क्षेत्रलाई थप प्रोत्साहन मिलेको बताए । ‘निजी क्षेत्रबाट यतिको ठूलो जलविद्युत् आयोजना सञ्चालनमा ल्याएकामा साहस ऊर्जा लिमिटेडलाई हार्दिक धन्यवाद छ,’ उनले भने, ‘यो खुसीको विषय हो ।’ 

यस्तै, उनले अब विद्युत् उत्पादनमा मात्रै नभएर देशभित्रै खपत गर्ने मामलामा पनि जोड दिनुपर्ने बताए । ‘म यसअघि दुईपटक प्रधानमन्त्री हुँदा जलविद्युत् उत्पादनलक्षित विभिन्न लक्ष्य लिएको थिएँ । तर, राजनीतिक उथलपुथल तथा उतारचढावका कारण त्यसलाई सफल बनाउन सकिएन,’ उनले भने, ‘अहिले म तेस्रोपटक प्रधानमन्त्री बनेको छु ।

अहिले भने विद्युत् उत्पादनभन्दा पनि खपत बढाउने वातावरण कसरी बनाउन सकिन्छ भन्ने अवस्था आएको छ । साथै, यो अर्थतन्त्रको विकासको महत्वपूर्ण आधार पनि बनिसकेको छ । विदेशी मुलुकहरूमा विद्युत् निर्यात गरेर राष्ट्रिय आम्दानी बढाउन सकिने देखिएको छ । हालै भारतमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकले पनि भारतमा दीर्घकालीन रूपमै विद्युत् बिक्री गर्न सक्ने र बंगलादेशमा पनि विद्युत् बिक्री गर्न मिल्ने वातावरण बनेको छ । यसले थप हौसला दिएको छ ।’