युएईमा चलिरहेको आइसिसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज रोमाञ्चक बनिरहेको छ । लिग–२ मा नेपाल, युएई र पपुवा न्युगिनीले एकआपसमा प्रतिस्पर्धा गरिरहेका छन् । सिरिजमा अनपेक्षित नजिता निस्किरहेका छन् । विश्वकप लिग–२ अन्तर्गत एक सय ३३औँ खेलमा अंकतालिकाकै पुछारमा रहेको पपुवा न्युगिनीले युएईमाथि पाँच विकेटको सानदार जित निकाल्यो । सिरिजमा पपुवा न्युगिनीले लगातार दोस्रोपटक युएईलाई स्तब्ध पारेको हो ।
सिरिजमा पपुवा न्युगिनी नेपालसँगको दुई भेटमै पराजित भएको थियो । नेपालमाथि युएईले ६८ रनको जित निकालेको थियो । एकले अर्को टोलीलाई पराजित गरिरहँदा सिरिजमा कुनै पनि सहभागी अपराजित रहन सकेनन् । आइतबारको हारले युएईको शीर्ष तीन स्थानको दाबी कमजोर बन्यो । युएईले पपुवा न्युगिनीलाई हराउँदा नेपालविरुद्ध स्पष्ट तीन अंकको अग्रता बनाउने थियो । तर, हारले युएईले केवल एक अंक मात्र अग्रता बनायो । सोमबार युएईले नेपालको सामना गर्नेछ ।
नेपालले युएईलाई हराउँदा एक अंकको अग्रता लिनेछ । युएई विजयी हुँदा नेपालसँग तीन अंकको दूरी बढाउनेछ । यस सिरिजले शीर्ष चारमा रहेको अमेरिकाको स्थानसमेत तलमाथि हुन सक्छ । सिरिजमा पूरै ३६ खेल खेलिसकेको अमेरिकाले ३५ अंक जोडेको छ । अमेरिकाले पाँचौँ स्थानमा रहेको युएईसँग चार अंक र नेपालसँग पाँच अंकको अग्रता लिएको छ । नेपाल वा युएईले आगामी खेलमा जित निकाल्दा अमेरिकाको चौथो स्थान पनि खतरामा पर्न सक्छ ।
नेपालले अब दुई खेलमा चार अंक जोड्दा चौथो स्थानमा उक्लनेछ । यस्तो अवस्थामा अमेरिकासँगको दूरी एक अंकमा छोट्याउनेछ । विश्वकप लिग–२ मा नेपालले विदेशी भूमिमा अन्तिमपटक खेलिरहेको छ । अर्को सातामा नेपालले घरेलु भूमिमा पपुवा न्युगिनी र युएईको सामना गर्नेछ । एकदिवसीय मान्यता रक्षा गर्न नेपाल शीर्ष पाँच स्थानमा रहनुपर्छ । छैटौँ स्थानमा रहँदा नेपालको एकदिवसीय मान्यता गुमाउनेछ । शीर्ष तीनमा रहने टोली एकदिवसीय विश्वकपको छनोटमा पुग्नेछ । नेपालले एकदिवसीय तथा शीर्ष तीनमा रहने लक्ष्यअनुसार सिरिजमा प्रतिस्पर्धा गरिरहेको छ ।
युएई ९७ रनमा अलआउट
घरेलु मैदानमा युएईका ब्याट्सम्यान पुनः एकपटक पपुवा न्युगिनीका बलरसामु टिक्न नसक्दा २६.२ ओभरमा ९७ रनमै समेटियो । सहज लक्ष्यपछ्याएको पपुवा न्युगिनीले २६.५ ओभरमा पाँच विकेट गुमाएर ९८ रन जोड्यो । पपुवा न्युगिनीले ३२ खेलबाट नौ अंक जोडेको छ । पपुवा न्युगिनीले सिरिजमा अहिलेसम्म चार जित निकालेको छ, जसमध्ये दुई युएई र एक खेलमा नेपालमाथि जित निकालेको थियो ।
सहज लक्ष्य पछ्याएको पपुवा न्युगिनीका लागि ओपनर टोनी उराले अविजित ३५ रनको योगदान गरे । उनले ६३ बलमा तीन चौका प्रहार गरेका थिए । पपुवा न्युगिनीले इनिङ्सका २.२ ओभरमै विकेट गुमाएको थियो । जुनिद सिद्दिकीले ओपनर किल्पिनलाई आसिफ खानबाट क्याचआउट गराएका थिए । त्यसपछि टोनी र सेसे बाउबीच दोस्रो विकेटका लागि ४४ रनको साझेदारी भएको थियो । सेसेले ३३ बलमा एक चौका प्रहार गरी १८ रन बनाए । हिरीले तेस्रो सर्वाधिक १४ रनको योगदान दिए । उनले २३ बलमा दुई चौका प्रहार गरेका थिए । पपुवा न्युगिनीले १३ अतिरिक्त रन पाएको थियो ।
हेकुरेले लिए पाँच विकेट
बलियो प्रतिद्वन्द्वी युएईमाथि स्पिनर रिलेय हेकुरेले घातक बलिङ गरेका थिए । उनले केवल ४.२ ओभरमा १३ रन खर्चेर पाँच विकेट लिँदा युएईका कुनै पनि ब्याट्सम्यान क्रिजमा लामो समय टिक्नै सकेनन् । यसैगरी, चाद सोपरले २७ रन खर्चेर तीन विकेट लिँदा युएईको मध्यक्रम कमजोर भयो । युएई इनिङ्सको १८.४ ओभरसम्म बलियो नै थियो । त्यसवेला युएईले ७६–३ को प्रदर्शन गरेको थियो । युएईले अन्तिम सात विकेट केवल २३ रनभित्र गुमाएको थियो । युएईले स्कोर बोर्डमा ७९ रन र ९७ रनको अवस्थामा समान दुई विकेट गुमाएको थियो ।
युएईको कमजोर ब्याटिङ इनिङ्समा अर्विन्दले सर्वाधिक २६ रनको योगदान दिए । उनले ३२ बलमा चार चौका प्रहार गरेका थिए । ओपनर मुहमद वासिम र आसिफ खानले पहिलो विकेटका लागि ७.३ ओभरमा २८ रनको साझेदारी गरेका थिए । मुहमदले ३६ बलमा दुई चौका प्रहार गरी १९ रन जोडे । खानले २८ बलमा ११ रन जोडे । युएईका पाँचजना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए ।
कुशलले युएईसँगको खेल गुमाउने
नेपालले सोमबार घरेलु टोली युएईसँग खेल्दै छ । युएईसँगको प्रतिस्पर्धामा नेपालका ओपनर कुशल भुर्तेलले खेल गुमाउनेछन् । अभ्यासका क्रममा बायाँ खुट्टाको चोटको समस्या बल्झिएपछि कुशलले अन्तिम खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । गत बुधबारदेखि भुर्तेलले नेट अभ्यास गरेका छैनन् । फिट नभएको अवस्थामै मुख्य प्रशिक्षक मोन्टे देसाईले उनलाई पपुवा न्युगिनी र युएईसँगका खेलमा प्रतिस्पर्धा गराएका थिए । भुर्तेलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रन जोडेका थिए ।
युएईसँगको खेलमा अब भुर्तेलको स्थान सन्दीप जोराले लिनेछन् । सन्दीपले सिरिजमा मौका पाएका छैनन् । दुई साताअघि नेपालमै भएको विश्वकप लिग–२ को सिरिजमा भुर्तेलको शतकीय इनिङ्समा नेपालले नामिबियालाई हराएको थियो । सो खेलमा भुर्तेलले एक सय १५ रनको शतकीय इनिङ्स खेलेका थिए ।