यत्रतत्र छरिएर रहेका सवारीसाधन मर्मत केन्द्रहरूलाई एकीकृत गर्ने उद्देश्यले हेटौँडामा निर्माण थालिएको अटोभिलेजको कामले गति लिएको छ। अटोमेकानिक्स तथा इन्जिनियरिङ एसोसिएसनले तत्कालीन हेटौँडा नगरपालिकाभित्र व्यवस्थित अटोभिलेज निर्माणको लागि आवाज उठाएको झन्डै २६ वर्षपछि अटोभिलेज निर्माण कार्यले गति लिएको हो।
अटोभिलेज निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले वडा नम्बर ११ मा रहेको राप्ती नदी उकासको करिब २२ बिघा जग्गा छुट्याएको छ। पूर्व–पश्चिम राजमार्गबाट करिब १ किलोमिटर दक्षिणमा रहेको अटोभिलेज निर्माणस्थलमा अहिले जमिन सम्याउने काम चलिरहेको छ।
अटोभिलेज निर्माणको पहिलो चरणको कामअन्तर्गत उपहानगरपालिकाको बजेटबाट जमिन सम्याउने र फिलिङ गर्ने काम भइरहेको छ। जसका लागि उपमहानगरपालिकाले २५ लाख रुपैयाँ छुट्याएकोमा १४ लाख ६ हजार रुपैयाँबराबरको काम भइसकेको नगर विकास समन्वय शाखाका प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए।
यसअघि अटोभिलेज निर्माणका लागि छुट्याइएको जग्गा संरक्षण गर्न बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले गत वर्ष उपलब्ध गराएको ५ करोड रुपैयाँबाट राप्ती किनारमा तटबन्ध गरिएको छ। बागमती प्रदेश सरकारले तयार पारेको डिपिआरअनुसार अटोभिलेजमा विद्युतीय सवारी चार्जिङ स्टेसन, थ्री–ह्विलर, फोर–ह्विलर सवारी मर्मत केन्द्र, हेभी सवारी तथा हेभी इक्विपमेन्ट मर्मत, पार्किङ र डम्पिङ साइट, क्यान्टिज, खेलमैदानको साथै स्वास्थ्य चौकीसमेत रहने प्रमुख सापकोटाले बताए।
अटोमोबाइल इन्जिनियरिङ एसोसियसनका अध्यक्ष आनन्दराम पौडेलले भिलेजमा नगरभित्रका विभिन्न क्षेत्रमा छरिएर रहेका करिब २५० अटो व्यवसायीले आफ्नो मर्मत केन्द्र तथा अन्य आवश्यक संरचना बनाउने बताए। अटोभिलेज निर्माणपछि बजार क्षेत्रमा रहेका सम्पूर्ण सवारीसाधनका वर्कसपहरू सोही क्षेत्रमा ल्याउन पहल गरिने उनको भनाइ छ।
उपमहानगरपालिकाले संरचना निर्माणस्थलमा आवश्यक सम्पूर्ण तयारी पूरा गरिदिने र संरचनाहरु भने व्यवसायी आफैँले बनाउने अध्यक्ष पौडेलले बताए। बागतमी प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा निर्माण गरिएको डिपिआरको आधारमा अटोभिलेज निर्माण हुन लागेको हो।