दुई दशकअघिसम्म पनि हामी सूचनाका लागि चिठी कोर्थ्यौँ । तर, अहिले विश्वका कुनै एक कुनामा रहेको व्यक्तिले अर्को कुनामा रहेको व्यक्तिसँग तुरुन्तै सञ्चार स्थापित गराउन सक्छ । त्यति मात्रै होइन, एक–अर्काको अनुहार हेरेर कुराकानी गर्न सक्ने भएका छन् । सूचना प्रविधिको विकासले विश्वलाई संकुचित बनाइदिएको छ । एक–अर्कासँग सञ्चार स्थापित गर्न मात्रै होइन, हरेक क्षेत्रलाई सहज र सरल बनाउन प्रविधिले ठूलो भूमिका खेलेको छ । प्रविधिको विकास र प्रयोगले मानिसको जीवनशैली सहज, सरल र तीव्र पारिदिएको छ ।
जति–जति प्रविधि विकासले फड्को मार्दै जान्छ, त्यति–त्यति मानिसका दैनिकी सहज र सरल बन्दै जान्छन् । त्यसैले त टुजीको जमानामा आवाज (भ्वाइस) मा रमाउने हामी थ्रिजीको विकाससँगै भिडियो फोटोमा रमाउन थाल्यौँ । ब्रोडब्यान्ड इन्टरनेटको सुविधाले हाम्रो दैनिकीलाई अझ गतिवान् बनाइदिएको छ । चौथो पुस्ताको आएपछि प्रत्यक्ष भिडियो कल गर्न, द्रुत गतिमा इन्टरनेट चलाउन, ठूला–ठूला फाइलहरू डाउनलोड तथा अपलोड गर्न थप सहज भएको छ । त्यतिले मात्रै पुगेको छैन हामीलाई, त्यसैले त हामी पाँचौँ पुस्ताको दूरसञ्चार सेवा ‘फाइभजी’तर्फ फड्को मार्ने जमर्को गरिरहेका छौँ ।
फाइभजीमा फड्को
दूरसञ्चारको विकासक्रमसँगै नेपाल दूरसञ्चार प्राधिकरणले पनि फाइभजी परीक्षण सुरु गरेको छ । प्राधिकरणले नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डमा फाइभजीको परीक्षण अनुमति प्रदान गरिसकेको छ । टेलिकमले अनौपचारिक रूपमा गत माघ २२ गतेदेखि यसको आन्तरिक परीक्षण पनि सुरु गरेको छ । एनसेलले पनि फाइभजी परीक्षण तथा सञ्चालनका लागि नियामक निकायको अनुमति कुरिरहेको जनाएको छ ।
परीक्षणपछि फाइभजी सञ्चालनका लागि अक्सन गरिने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले बताए । ऐनबमोजिम प्राधिकरणले अक्सनबाट नै फाइभजी सञ्चालनको अनुमति दिन सक्ने व्यवस्था गरिएको छ ।
विश्वव्यापी फाइभजीको प्रयोग द्रुत गतिमा अगाडि बढिरहेको छ । विश्वका ७० मुलुकमा करिब एक सय ७५ सेवाप्रदायकले व्यावसायिक फाइभजी मोबाइल सेवा सुरु गरिसकेका छन् । करिब एक सय ४० देशका चार सय ७० सेवाप्रदायक भने फाइभजी सेवा सुरु गरेर सेवा दिने तयारीमा छन् । फाइभजीको विस्तारक्रम बढेसँगै यसका लागि उपभोग्य डिभाइसको उपलब्धता पनि बढ्दै छ । अहिले करिब ६ सय प्रकारका फाइभजी डिभाइस व्यावसायिक रूपमा उपलब्ध छन् ।
विश्वव्यापी फाइभजीको प्रयोग द्रुत गतिमा अगाडि बढिरहेको छ । विश्वका ७० मुलुकमा करिब एक सय ७५ सेवाप्रदायकले व्यावसायिक फाइभजी मोबाइल सेवा सुरु गरिसकेका छन् । नेपालमा पनि फाइभजी परीक्षण सुरु भएको छ ।
एनसेलले र नेपाल टेलिकम दुवैले १८०० मेगाहर्जमार्फत फोरजी सेवा उपलब्ध गराइरहेका छन् । एनसेलले एलटिई ९०० र नेपाल टेलिकमले डिजिटल डिभिडेन्ट ब्यान्ड ८०० मार्फत गाउँ–गाउँमा फोरजी विस्तारको काम गरिरहेको छ । प्राधिकरणले फाइभजीसँगै फोरजीको सेवालाई सशक्त बनाउनुपर्ने सरुचना प्रविधिविज्ञ आनन्दराज खनाल बताउँछन् । सहरी क्षेत्रभित्र नै फोरजी सुविधा पर्याप्त नभएको समयमा फाइभजी सेवा सुरुवातको उपयोगिता नहुने उनको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको गत मंसिरसम्मको तथ्यांकअनुसार नेपालमा थ्रिजी प्रयोगकर्ताको संख्या ८८ लाख ९४ हजार दुई सय २४ पुगेको छ । त्यस्तै, फोरजी प्रयोगकर्ता एक करोड ८४ लाख ८४ हजार ९४ पुगेका छन् । जसमध्ये नेपाल दूरसञ्चारको थ्रिजी प्रयोगकर्ता ७० लाख ३८ हजार आठ सय ४२ छन् भने एनसेलका थ्रिजी प्रयोगकर्ता १८ लाख ५५ हजार तीन सय ८२ छन् । एनसेलका फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार एक सय ८१ पुगेका छन् । एनसेलका फोरजी प्रयोगकर्ता ६८ लाख १९ हजार ६ सय २३ पुगेका छन् भने स्मार्ट टेलिकमका एक लाख १४ हजार दुई सय ९० रहेको प्राधिकरणको तथ्यांक छ ।
दूरसञ्चार पूर्वाधारको तयारी
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न परियोजना सञ्चालनमा ल्याएको छ । प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना सम्पन्न भइसकेको जनाएको छ । प्राधिकरणले १८ वटा प्याकेज बनाएर ७५ जिल्लाहरूमा परियोजना सञ्चालन गरेको थियो । सम्पन्न भएका परियोजनाहरूमध्ये हालसम्म १० वटा परियोजनाको मनिटरिङ तथा भेरिफिकेसनको कार्य सम्पन्न भइसकेको जनाएको छ । त्यस्तै, आठवटा परियोजनाको तेस्रो चरणअन्तर्गतको मनिटरिङ तथा भेरिफिकेसनको कार्य बाँकी रहेको जनाएको छ ।
प्राधिकरणको गत पुस महिनासम्मको तथ्यांकअनुसार स्थानीय निकाय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्था गरी कुल १६ हजार दुई सय आठ स्थानमा इन्टरनेट जडान गरिसकेको छ । जसमध्ये सात सय आठवटा स्थानीय निकायको कार्यालय, पाँच हजार नौ सय ३३ वडा कार्यालय, पाँच हजार तीन सय १८ माध्यमिक विद्यालय र चार हजार दुई सय ४९ वटा स्वास्थ्य संस्थामा इन्टरनेट जडान गरिएको तथ्यांक सार्वजनिक गरेको छ ।
त्यस्तै, प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी मध्यमहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग परियोजना सञ्चालन गरेको छ । यो परियोजनालाई तीनवटा प्याकेजमा विभाजन गरेको छ ।
पहिलो प्याकेजका लागि प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको छ । दुई वर्षभित्रमा कार्य सम्पन्न गर्ने गरिएको सो प्याकेजअन्तर्गत हालसम्म एक हजार तीन सय २६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, २७ वटा डिडब्लुडिएम सिस्टमहरूको जडान भई क्लस्टर एकको सम्पूर्ण १३ साइटहरूको माइग्रेसन सम्पन्न भइसकेको छ । क्लस्टर दुईको १३ मध्ये १२ साइटहरूको कमिसनिङको कार्य सम्पन्न भइसकेको छ । फिदिम–ताप्लेजुङ खण्डका लागि सम्झौता संशोधनको दस्तावेज तयार भई हस्ताक्षरको प्रक्रियामा रहेको छ । पहिलो प्याकेजअन्तर्गत प्रदेश नम्बर १, दुई र बागमती प्रदेश परेका छन् ।
प्याकेज दुईका लागि प्राधिकरणले युनाइटेड टेलिकमसँग दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, सम्झौताबमोजिम कार्यको प्रगति शून्य भएपछि अयोजना सम्पन्न हुनेमा प्राधिकरण विश्वस्त हुन सकेन । तसर्थ, प्राधिकरणले कम्पनीसँग सम्झौता थप नगर्ने निर्णय गरेको थियो । तर, सो निर्णय बदर गर्नका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र सो विषयमा सर्वोच्च अदालतबाट टुंगो नलागेसम्म अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश भएको छ । प्योकज दुईमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश परेका छन् ।
तीन नम्बर प्याकेजका लागि प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनीसँग नै सम्झौता गरेको छ । हालसम्म तीन सय ३० किलोमिटर एडिएसएस जडान कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यो प्याकेजअन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश परेका छन् ।
त्यस्तै, कोष परिचालन गरी सञ्चालित परियोजनाहरूमध्ये भूकम्पबाट अतिप्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगाका सबै स्थानीय तहका कार्यालयहरू, वडा कार्यालयहरू, सामुदायिक माध्यमिक विद्यालयहरू, सामुदायिक स्वास्थ्य संस्थाहरूमध्ये एक हजार चार सय ५१ मा २० एमबिपिएस क्षमताको इन्टरनेट जडान भइसकेको छ । ७३ पालिकाका दुई सय ५१ स्थानहरूमा क्षमता अभिवृद्धि गर्न सम्झौता भइसकेको छ ।
दूरसञ्चारको विकासमा आइएसपीको ठूलो योगदान छ : लक्ष्मण यादव निर्देशक, वर्ल्डलिंक कम्युनिकेसन
नेपालको दूरसञ्चार क्षेत्रको विकासमा निजी क्षेत्रका इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)को ठूलो योगदान छ । हामीले विश्व बजारमा विकसित नयाँ–नयाँ प्रविधि भित्र्याएर सेवा दिइरहेका छौँ । त्यो प्रविधिको प्रयोग गरेर वर्ल्डक्लास इन्टरनेटको पहुँच पुर्याइरहेका छौँ ।
मात्रै पहलकदमीले अहिलेको अवस्थामा पुगिने पक्कै थिएन । यसमा निजी अपरेटरको ठूलो भूमिका छ । अहिले देशको दूरदराजका मान्छेले पनि राम्रो इन्टरनेटको सुविधा लिन पाएका छन् । अनलाइन क्लास, मोबाइल बैंकिङ, अनलाइन सेवा गाउँ–गाउँसम्म पुग्नुमा पनि आइएसपीको ठूलो भूमिका छ । यदि गाउँ–गाउँसम्म इन्टरनेट पुग्दैनथ्यो भने त्यो सम्भव हुँदैनथ्यो । सहरी भेगमा पनि गुणस्तरीय इन्टरनेट सेवा दिन आइएपीको भूमिका ठूलो छ । ग्राहकलाई उच्चस्तरको इन्टरनेट सेवा दिन निजी अपरेटरबीच प्रतिस्पर्धा छ । त्यसको लाभ ग्राहकले लिइरहनुभएको छ । सहज इन्टरनेट पहुँचकै कारण बैंकिङदेखि सरकारी सेवासमेत अनलाइन प्रणालीमा गइरहेको छ ।
अब इन्टरनेट लक्जरी विषय रहेन, आवश्यकता भइसक्यो । सरकारले नै इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । इन्टरनेटका कारण सिंगो विश्व साँघुरो भइसकेको छ । टिभी पनि सहरदेखि गाउँसम्म अनलाइन च्यानलबाट हेर्न पाइन्छ, त्यो पनि उच्च गुणस्तरमा । अनलाइन न्युज पोर्टल र अनलाइन टिभी च्यानलको विकास हुनुमा पनि इन्टरनेट सेवाप्रदायककै भूमिका छ । अहिले मोबाइल वा कम्प्युटरमा एक क्लिक गरेकै भरमा तुरुन्तै विश्वभरको समाचार हेर्न र पढ्न पाइन्छ ।
सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा पनि इन्टरनेट सेवाप्रदायकको ठूलो भूमिका छ । सरकारले इन्टरनेट सेवालाई अतिआवश्यक सेवामा सूचीकृत गर्नुले पनि आजको दुनियाँमा इन्टरनेट कति आवश्यक छ भनेर प्रस्ट पार्छ । यदि निजी अपरेटर हुँदैनथे भने इन्टरनेट सेवा र डिजिटल प्रणालीमा यो लेबलमा फड्को मार्ने सम्भावना थिएन । निजी अपरेटरहरूले दूरदराजसम्म इन्टरनेट सेवा पुर्याउन पूर्वाधारमा ठूलो लगानी गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले पनि इन्टरनेट सेवा विस्तारका लागि राम्रै सहयोग गरिरहेको छ । नयाँ प्रविधि प्रयोग गर्नका लागि चाहिने विनियमावली बनाइदिएको छ । एनटिएले अपरेटरलाई दिनुपर्ने सबै सुविधा र प्रोत्साहन दिइरहेको छ ।
इन्टरनेट बजारमा वर्ल्डलिंकले ३५ देखि ४० प्रतिशत हिस्सा ओगटेको छ । सात लाख ५० हजारभन्दा धेरै घरधुरीमा वर्ल्डलिंकको इन्टरनेट पुगेको छ । वर्ल्डलिंकको नेटवर्क ७५ जिल्लामा पुगिसकेको छ । अहिले इन्टरनेटमा धेरै कर छ । त्यो कर घटाउन सकेमा इन्टरनेट सेवा आफै सस्तो भइहाल्छ । अहिले इन्टरनेटमा ४० प्रतिशतभन्दा बढी कर छ । सरकारले कम्तिमा दुर्गम क्षेत्रमा इन्टरनेट सेवाको पहुँच विस्तार गर्न कर घटाउनुपर्छ । जसले दुरदराजमा बसोबास गर्ने मान्छेले पनि इन्टरनेट सेवा प्रयोग गर्न सक्छन् ।
सस्तोमा इनोभेटिभ सेवा दिनु नै पहिलो प्राथमिकता : करुनेश गुप्ता प्रडक्ट हेड, सिजी नेट
नेपाली इन्टरनेट बजारमा सिजी नेट नयाँ कम्पनी हो । सिजी नेट सञ्चालनमा आएको डेढ वर्ष मात्रै भएको छ । तर, यसबीचमा हाम्रो सेवा विस्तार भने द्रुत गतिमा भएको छ । समग्रमा सिजी नेट र्यापिड्ली ग्रोइङ कम्पनी हो । सोहीअनुसार बजारमा हाम्रो हिस्सा पनि बढ्दै गएको छ ।
यसबीचमा कम्पनीले आमग्राहकलाई सस्तो (एफोर्टेबल)मा इन्टरनेट सेवा (प्रडक्ट)हरू दिइरहेको छ । साथै, इनोभेटिभ प्रडक्ट पनि ल्याइरहेको छ । यसका अलाबा ग्राहकलाई राम्रो सेवा दिन पनि कम्पनी डेडिकेटेड भएर लागेको छ । आमग्राहकलाई सबैभन्दा राम्रो इन्टरनेट सेवा दिने कम्पनीमा सिजी नेट अग्रस्थानमा छ ।
यद्यपि, हामी भौगोलिक रूपमा अझै विस्तार हुन बाँकी नै छ । त्यसअनुसार अबको हाम्रो पहिलो योजना नै कम्पनीको सेवालाई भौगोलिक रूपमा विस्तार गर्ने हो । त्यसपछि इनोभेटिभ प्रडक्ट ल्याउने कामलाई प्राथमिकतामा राख्नेछौँ । यद्यपि, अहिले पनि कम्पनीले इनोभेटिभ प्रडक्ट ल्याइरहेको छ । सिजी नेटले हालै सार्वजनिक गरेको पोस्पेड इन्टरनेट सेवा नेपालमै पहिलोपटक हो, जुन सेवा सिजी नेटले मात्रै दिएको छ । आगामी दिनमा पनि यस्तै इनोभेटिभ प्रडक्ट ल्याउने हाम्रो योजना छ । समग्रमा ग्राहकलाई सस्तोमा इनोभेटिभ सेवा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो ।