
मिटरब्याजी तथा लघुवित्तविरुद्ध बुझाएको ज्ञापनपत्रबारे सुनुवाइ नगरेको भन्दै जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन भएको छ।
मधेस प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै मिटरब्याज तथा लघुवित्त पीडित संघर्ष समितिले बिहीबार सडक आन्दोलन गरेको हो। लघुवित्तले बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गरेको उनीहरूको आरोप छ।
जनकपुरको रंगभूमि मैदान बाह्रबिघाबाट सुरु भएको विरोध प्रदर्शन जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स क्षेत्रसम्म पुगेको थियो। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत घेराउ गर्ने प्रयास गरेका थिए।
संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले कानुनभन्दा बाहिर गएर मिटरब्याज र लघुवित्तले मधेसका जनतालाई मारमा पारेको बताए। मिटरब्याजविरुद्ध संघर्ष समितिले १० सूत्रीय माग राख्दै आएको छ। ऋण लिँदा आकर्षक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालकहरू रातारात करोडपति बनेको पासवानको आरोप छ।
संर्घष समितिले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरूको जफत गरिएको सम्पति फिर्ता गर्नुपर्ने, मिटरब्याजीको सम्पति छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटरब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटरब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग गरेको छ।