१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:३४:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सञ्चालनमै आएनन् साढे १७ लाख डिम्याट खाता

डिम्याट खाताको संख्या ५५ लाख ७१ हजार ७९९ पुगे पनि १७ लाख ६३ हजार ११३ खाता निष्क्रिय

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३४:oo

सरकारले पुँजीबजार वृद्धि भइरहेको दाबी गरिरहँदा झन्डै ३२ प्रतिशत हितग्राही (डिम्याट) खाता भने निष्क्रिय देखिएका छन् । पुँजीबजारको पहुँच मापन गर्ने मुख्य आधार डिम्याट खाताको संख्या ५५ लाख ७१ हजार सात सय ९९ पुगिसकेको छ । तर, त्यसमा १७ लाख ६३ हजार एक सय १३ डिम्याट खाता भने निष्क्रिय रहेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकले देखाएको छ ।

सुरुदेखि नै ती खाताबाट कुनै पनि प्रकारको सेयर कारोबार भएको छैन । हालसम्म सर्वसाधारण सेयर (आइपिओ)समेत परेको छ, न दोस्रो बजारमा सेयर खरिद–बिक्री नै गरिएको छ । सम्भवतः उक्त खाताबाट आइपिओमा समेत आवेदन नदिएको सिडिएससीको आशंका छ । यद्यपि, यसबारे थप अध्ययन भइरेहको सिडिएससीका अधिकारी बताउँछन् । एक वर्षअघि (माघ मसान्त ०७८) सम्म निष्क्रिय डिम्याट खाताको संख्या १३ लाख २२ हजार ५८ वटा थियो ।

सिडिएससीले सोही खातालाई नै निष्क्रिय मानेको छ । बाँकी चार लाख ४१ हजार ५५ निष्क्रिय खाता भने फागुन ०७८ यता खोलिएका डिम्याट खातामध्येका हुन् । गत फागुन ०७८ यता ६ लाख ६४ हजार खाता खोलिएका छन् । त्यसमा चार लाख ४१ हजार ५५ वटा खाताबाट सेयर कारोबार नभएकोे सिडिएससीको तथ्यांकमा उल्लेख छ । 

‘हालसम्म हेर्दा, समग्रमा १७ लाख ६३ हजारभन्दा बढी खाताबाट कुनै पनि सेयर कारोबार भएको छैन । तर, पछिल्ला एक वर्षमा डिम्याट खाता खोलेकाहरू भने सेयर कारोबारको तयारीमा हुन सक्छन्,’ सिडिएससीका सहायक प्रबन्धक योगराज जोशीले भने, ‘त्यसअनुसार पछिल्लो एक वर्षको तथ्यांक हटाउँदा १३ लाख २२ हजार ५८ वटा खाता भने निष्क्रिय देखिएका छन् ।’

कोरोनाकालअघि नेपालमा पुँजीबजारमा पहुँच न्यून थियो । त्यसवेला १७ लाख हारहारीमा डिम्याट खाता खोलिएका थिए । कोरानाकालयता भने थप ३८ लाख हाराहारी नयाँ डिम्याट खाता खोलिएका छन् । कोरोनापछि सेयर बजारमा देखिएको बुलिस ट्रेन्ड (बढ्दो ट्रेन्ड)का कारण डिम्याट खाता खोल्नेको संख्या बढेको थियो । हालसम्म ५५ लाखभन्दा बढी डिम्याट खाता हुँदा ठूलो संख्यामा डिम्याट खाता निष्क्रिय पनि रहेकोे सिडिएससीकोे तथ्यांकले पुष्टि गर्छ । 

जथाभावी खाता खोल्ने प्रवृत्ति र जागरणको कमीले यस्तो समस्या आएको पाइन्छ । केही समय पहिले मर्चेन्ट बैंकरले अभियान नै सञ्चालन गरी जथाभावी निःशुल्क डिम्याट खाता खोलाउने काम गरे । तर, पुँजीबजारबारे प्रचार–प्रसार भने पर्याप्त भएन । 

‘केही समयअघि मर्चेन्ट बैंकरलगायतका संस्थाले अभियान नै चलाएर निःशुल्क डिम्याट खाता खोल्दै हिँडे । तर, यसबारे खास प्रचार–प्रसार भने गरिएन । स्वयं खातावालाले पनि खाता खोलेपछि यसबारे बुझ्न चाहेनन्,’ सहायक प्रबन्धक जोशीले भने, ‘सोहीकारण धेरै डिम्याट खाताबाट सेयर कारोबार नभएको देखियो ।’

यस्तै, मर्चन्ट बैंकर एसोसिएसनका अध्यक्ष तथा सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अघिकृत (सिइओ) विजयलाल श्रेष्ठ जथाभावी डिम्याट खाता खोल्दा यस्तो समस्या आएको बताउँछन् । ‘बीचमा अभियान नै चलाएर धेरै खाता जबर्जस्ती खोलिए । तर, त्यसरी खाता खोलेका ग्राहकले त्यसको प्रयोग गरेनन्,’ उनी भन्छन्, ‘यसबारे जागरण पनि भएन । खाता खोलेकाले बिर्सिसके । फलस्वरूप धेरै खाताबाट सेयर कारोबार नै भएको छैन । आइपिओसमेत भरेका छैनन् । त्यस्तो अवस्थामा नवीकरण हुने त कुरै भएन ।’

पछिल्लो समय सेयर बजार घट्दो प्रवृत्तिमा छ । साथै, आमलगानीकर्तालाई आइपिओ पनि परेको छैन । त्यसको असरले पनि डिम्याट खाता निष्क्रिय हुन थालेको सिडिएससीका सिइओ पूर्णप्रसाद आचार्य बताउँछन् । 

‘अहिले आइपिओप्रति पनि आमसर्वसाधारणका रुचि छैन । जारी हुने आइपिको कित्ता थोरै र आवेदक धेरै हुँदा आइपिओ पर्ने सम्भावना पनि कम छ,’ उनले भने, ‘सेयर बजार घट्दो प्रवृत्तिमा देखिँदा नयाँ लगानीकर्ताले पनि जोखिम लिएर सेयर कारोबार गर्न डराएका छन् । त्यसको असरले पनि निष्क्रिय खाता बढेको देखिन्छ ।’

यस्तै, ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले यतिका संख्यामा डिम्याट खाता निष्क्रिय हुनु दुःखद पक्ष भएको बताए । यद्यपि, यस समस्यालाई समाधान गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएससी तथा मर्चेन्ट बैंकरहरू बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । 

 खाता बन्द गराउने तयारी 
सिडिएससीका अनुसार थुप्रै खाता वर्षौँदेखि नै निष्क्रिय अवस्थामा छन् । त्यस्ता खाता नवीकरणसमेत गरिएका छैनन् । त्यस्ता खातालाई निश्चित मापदण्ड तोकेर बन्द गराउने प्रक्रिया अघि बढाइएको छ । ‘अब त्यस्ता खाता होल्ड गरेर फाइदा केही छैन । अब त्यस्ता खातालाई बन्द गर्दा नै राम्रो हुने देखिएको छ । तर, यससम्बन्धी नीतिगत व्यवस्था छैन,’ सन्राइज क्यापिटलका सिइओ श्रेष्ठले भने, ‘तसर्थ, निश्चित मापदण्ड तोकेर त्यस्ता खाता बन्द गर्न पाउने व्यवस्था गर्न नियामक निकाय धितोपत्र बोर्डलाई अनुरोध गरेका छौँ । यद्यपि, त्यसको जवाफ आइसकेको छैन ।’ लगातार तीन–चार वर्षसम्म सक्रिय नभएका तथा नवीकरण नभएका खातालाई निष्क्रिय गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

ग्राहकलाई पनि पुरानो खाता नवीकरण गर्नुभन्दा नयाँ खाता खोल्दा नै सस्तो पर्छ । पुरानो डिम्याट खाता खोल्दा वार्षिक १०० रुपैयाँको दरले शुल्क तिर्नुपर्छ । तर, नयाँ खाता १०० रुपैयाँमै खोल्न सकिन्छ । यसरी ग्राहकको हितका लागि पनि निष्क्रिय खाता बन्द गर्दा फाइदा हुने सिडिएससीका सहायक प्रबन्धक जोशी बताउँछन् ।

 के भन्छ सेबोन
यसबारे पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) भने जानकार छैन । सेबोनका अध्यक्ष रमेशकुमार हमालले यसबारे पछिल्लो जानकारी नआएको बताए । ‘यद्यपि, यतिका ठूलो संख्यामा डिम्याट खाता निष्क्रिय हुनु दुःखद पक्ष हो । तर, यसबारे मलाई पूर्ण जानकारी आइसकेको छैन,’ उनले भने, ‘यसबारे थप बुझेर जानकारी दिनेछु ।’

जथाभावी खाता खोल्दा समस्या
विजयलाल श्रेष्ठ, अध्यक्ष, मर्चेन्ट बैंकर एसोसिएसन  

 जथाभावी डिम्याट खाता खोल्दा यस्तो समस्या आएको हो । बीचमा अभियान नै चलाएर धेरै खाता जबर्जस्ती खोलिए । तर, त्यसरी खाता खोलेका ग्राहकले त्यसको प्रयोग गरेनन् । यसबारे जागरण पनि भएन । खाता खोलेकाले बिर्सिसके । फलस्वरूप धेरै खाताबाट सेयर कारोबार नै भएको छैन । आइपिओसमेत भरेका छैनन् । त्यस्तो अवस्थामा नवीकरण हुने त कुरै भएन ।

ad
ad