मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Sunday, 22 December, 2024
जलनको उपचार हुने कीर्तिपुर अस्पताल, यो र सुष्मा कोइराला मेमोरियल अस्पतालमा मात्रै क्रिटिकल केयरको व्यवस्था छ । दुवै सामुदायिक अस्पताल हुन् ।
मञ्जु टेलर काठमाडाैं
२o७९ फाल्गुण १७ बुधबार o६:२९:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जलनका बिरामी ७६ हजार, अस्पताल चार मात्रै

Read Time : > 7 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार o६:२९:oo

जलनका बिरामीले जति छिटो उपचार पायो उति जोखिम कम हुन्छ, तर यसको उपचार हुने सरकारी र सामुदायिक चार अस्पताल काठमाडौं उपत्यकामा मात्रै छन्, देशभरका १५ सय बिरामी मात्रै अस्पतालसम्म पुग्छन्, समयमै उपचार नपाउँदा गम्भीर बिरामी ज्यान गुमाउन विवश छन् भने कैयौँले अंग गुमाउँछन्

गत वर्ष मात्रै ७६ हजारभन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । तर, जलनमा परेकाको उपचार हुने सरकारी तथा सामुदायिक अस्पताल देशभर चारवटा मात्रै छन्, ती पनि सबै राजधानीमै हुँदा एक हजार पाँच सय बिरामी मात्रै अस्पतालसम्म पुग्छन् । जलनका अधिकांश गम्भीर बिरामीले समयमै उपचार नपाउँदा ज्यान नै गुमाउनुपरिरहेको छ भने कैयौँ अपांग भएका छन् । 

महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) र ललितपुरको पाटन अस्पतालमा जलनको उपचार सेवा उपलब्ध छ । तर, दुवैमा क्रिटिकल केयर सेवा छैन । यस्ता बिरामीका लागि सात बेड छुट्याइएको पाटन अस्पतालमा सीधै त्यहाँ आएका बिरामीलाई अन्यत्र पठाउन नपरोस् भनेर बर्न वार्ड राखिएको हो । यहाँ अन्यत्रबाट बिरामी आउँदैनन् । त्यस्तै, जलनको उपचारका लागि नौ बेड छुट्याइएको टिचिङमा यही प्रयोजनका लागि विशेष आइसियू उपलब्ध छैन । ६ प्लास्टिक सर्जन रहेको टिचिङमा बर्सेनि दुई सयदेखि तीन सयसम्म यस्ता बिरामी उपचारका लागि आउँछन् । गम्भीर बिरामीलाई जनस्वास्थ्य सरोकार ट्रस्ट कीर्तिपुर अस्पतालमा रेफर गरिन्छ, जुन सामुदायिक अस्पताल हो । 

‘हाम्रोमा बर्न वार्डकै लागि आइसियू छैन । आवश्यक परे जनरल आइसियूमै राखेर उपचार गरिरहेका छौँ,’ टिचिङका वरिष्ठ प्लास्टिक सर्जन प्राडा ईश्वर लोहनी भन्छन्, ‘जटिल खालका शल्यक्रिया गर्नुपर्ने र बढी जलनका बिरामीलाई कीर्तिपुर अस्पताल रेफर गर्ने गरिएको छ ।’ 

बर्सेनि अस्पताल पुग्ने जलनका बिरामीमध्ये ६० प्रतिशतको उपचार दुई सामुदायिक कीर्तिपुर अस्पताल र साँखुस्थित शुष्मा कोइराला मेमोरियल अस्पतालमा हुने गरेको छ । अस्पतालमा पुग्ने एक हजार पाँच सय बिरामीमध्ये नौ सयको यिनै अस्पतालमा उपचार हुन्छ । 

कीर्तिपुर अस्पतालको तथ्यांकअनुसार बर्सेनि ६ देखि सात सय जलनका बिरामी उपचारका लागि आउँछन् । सन् २०२१ मा ६ सय २३ र २०२२ मा ६ सय ६१ जलनका बिरामी भर्ना भएको अस्पतालले जनाएको छ । यस्ता बिरामीका लागि विशेष आइसियू वार्ड छुट्याइएको कीर्तिपुरमा २४ जनरल बेड र दुई अप्रेसन थिएटरमा आठ आइसियू बेड सञ्चालनमा छन् । यहाँ आठ विशेषज्ञ चिकित्सक र दुईजना अध्ययनरत चिकित्सक कार्यरत छन् । देशभरबाट पनि रिफरल केसहरू आउने भएकाले बेड उपलब्ध नहुँदा क्याबिनमा राखेरसमेत उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्लास्टिक सर्जन डा. किरण नकर्मीले बताए । ‘अस्पताल आइपुगेकामध्ये पनि झन्डै २० प्रतिशतको उपचारको क्रममै मृत्यु हुन्छ । अपांग हुनेहरू धेरै हुन्छन् । अधिकांश बिरामी डिस्चार्जपछि फलोअपमै बस्दैनन् । जसकारण अपांगता हुने प्रभावितको यकिन तथ्यांक नै छैन,’ उनले भने । 

९२ प्रतिशत जलनका बिरामी काठमाडौंबाहिरबाट आउने कीर्तिपुर अस्पतालले जनाएको छ । जसमध्ये अधिकांशले प्राथमिक उपचार पनि नपाएको र समयमै अस्पताल नपुग्दा जोखिमको दरसमेत बढी देखिने गरेको चिकित्सक बताउँछन् । ‘कतिपय बिरामीको अस्पतालसम्म पुग्न नपाउँदै मृत्यु भइसकेको हुन्छ । प्राथमिक उपचारसमेत नपाएका बिरामीमा लामो समयसम्म उपचार नपाउँदा दृष्टि गुम्ने, हातखुट्टामा गहिरो चोटपटकका कारण अंग नै काट्नुपर्ने, मिर्गौला बिग्रने, फोक्सोमा पानी भरिने, मुटुले काम गर्न छोड्नेजस्ता समस्या देखिन्छन्,’ डा. नकर्मी भन्छन् । 

शुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि बर्सेनि तीन सयको हाराहारीमा बिरामीको उपचार हुन्छ । जलनको उपचारका लागि नै भनेर खोलिएको देशकै पहिलो यो बर्न अस्पतालले ६ आइसियू गरी सय बेडमा सेवा दिइरहेको छ । ट्रस्टमार्फत सञ्चालित यो अस्पतालमा देशभरबाट रिफरल बिरामी आउने गरेका छन् । 

समयमै उपचार नपाउँदा अवस्था जटिल
२ माघमा जंगलमा बाख्रा चराउन गएकी रामेछाप दोरम्बाकी ३७ वर्षीया उर्मिला विक लत्रिएको बिजुलीको तारमा परिन् । करेन्ट लागेर जलेकी उनको तत्काल प्राथमिक उपचार हुन सकेन । भोलिपल्ट ३ माघमा मात्रै काठमाडौं मेडिकल कलेज (केएमसी) ल्याइयो । तर, केएमसीले आइसियू उपलब्ध नभएको भन्दै शुष्मा कोइराला मेमोरियल अस्पताल रेफर गर्‍यो । शुष्माले तीनवटा शल्यक्रियापछि थप उपचारका लागि कीर्तिपुर अस्पताल पठायो । समयमै सही उपचार नपाउँदा उर्मिलाको एउटा हात र खुट्टाको एउटा औँला गुमिसकेको छ । सातवटा अप्रेसन भइसकेको छ, अझै कति गर्नुपर्ने हो टुंगो छैन । ‘सातवटा अप्रेसन भइसक्यो, अर्को केही दिनमा गर्ने भनेका छन् । दायाँ हातमा पनि संक्रमण देखिएकाले नाडीमा काटेर फाल्नुपर्छ भनेका छन् । हातखुट्टा सद्दे नरहे पनि अब त बाँच्छिन् कि भन्ने आस छ,’ उनका श्रीमान्ले भने । 

गत १३ माघमा खाना पकाउने क्रममा शरीरमा आगो लागेकी सल्यानकी ३९ वर्षीया दोर्नी रानाले पनि समयमै उचित उपचार पाइनन् । कपडाबाट सल्किएको आगोले शरीरको ३० प्रतिशत भाग जलेकी उनको उपचारमा ढिलाइ हुँदा एउटा औँला गुमेको छ । 

कीर्तिपुर अस्पताल ल्याउँदासम्म घटना भएको पाँच दिन भइसकेको थियो । घटनापछि तुल्सीपुरमा प्राथमिक उपचार हुँदै नेपालगन्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालले रेफर गरेपछि कीर्तिपुर ल्याइएको थियो । उपचारमा धेरै ढिलाइ भएकाले जटिलता बढेको उपचारमा संलग्न चिकित्सकले बताए । हात, खुट्टा, छाती र कम्मरको भाग जलेकी उनको अहिलेसम्म पाँचवटा अप्रेसन भइसकेको छ । 

समयमै अस्पताल पुर्‍याउँदा पनि जलनका गम्भीर बिरामीको उपचार गर्न सुविधासम्पन्न व्यवस्थापन भने नेपालमा अझै अभाव छ । ३ फागुनमा घरमै ग्यास लिक भई आगलागी हुँदा जलेर गम्भीर घाइते भएका सांसद एवं कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई तत्काल अस्पताल पुर्‍याए पनि जटिल अवस्था भएकाले कीर्तिपुर अस्पतालले उपचार सम्भव नहुने भन्दै देशबाहिर रिफर गर्‍यो । तर, ८० प्रतिशत शरीर जलेकी हरिकलाको कीर्तिपुर अस्पतालमै निधन भयो । सांसद भण्डारीलाई भारतको मुम्बई लगियो । अनुहार, दुवै हात र दुवै खुट्टामा गरी ३० प्रतिशत भाग जलन भएको उनको नेसनल बन्र्स सेन्टरमा उपचार भइरहेको छ ।

कारखानामा ग्यास विस्फोट भएर घाइते भएका कामदार र बटुवाको उपचारमा बेवास्ता 
ललितपुरको महालक्ष्मी नगरपालिका चक्सिडोलस्थित एकेएस हस्तकला कम्पनीमा १ फागुनमा ग्यास विस्फोट हुँदा घाइते भएका तीन कामदार र दुई बटुवाको उपचारमा कम्पनीले बेवास्ता गरेको छ । घाइते भएका दुईजनाको किस्ट अस्पताल र तीनजनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेकोमा हस्तकला कम्पनी र विस्फोट भएको गीता ग्यास कम्पनीले खर्च नव्यहोर्दा आर्थिक संकट निम्तिएको हो । जलनको  उपचार सेवा पनि दिइरहेको किस्ट निजी अस्पताल हो । विस्फोटमा कम्पनीका कामदार चितवन कालिका नगरपालिकाकी अमृता रसाइली, पर्सा ठोरीका विवेक विक र नुवाकोट ककनीका राजु सुनुवार घाइते भएका छन् । त्यस्तै, ललितपुर गोदावरीकी ज्योति महत र भक्तपुर चितापोलका सुदीप नगरकोटी बाटोमा हिँडिरहेको अवस्थामा घटनामा परी घाइते भएका छन् । 

घाइतेका आफन्तले उपचारमा गीता ग्यास कम्पनी र एकेएस हस्तकला कम्पनी दुवैले सहयोग नगरेको गुनासो गरेका छन् । बाटो हिँड्दै गर्दा उक्त दुर्घटनामा परेकी ज्योति महतका यादव महतले भने, ‘छोरी अहिले क्रिटिकल अवस्थामा छिन् । दाहिने हात र खुट्टालगायत शरीरका धेरै भागमा चोट छ । नाकबाट फाइप राखिएको छ भने अलिकति दूध मात्रै मुखबाट खुवाउने अवस्थामा पुगेकी छिन् । अस्पतालले थप उपचारका लागि पैसा डिपोजिट गर्न भनिरहेको छ । तीन लाख पहिले नै तिरिसकेँ, अब आफूसँग छैन । हस्तकला र ग्यास कम्पनीले भागेर हिँडिरहेका छन् । छोरी मृत्युसँग लडिरहँदा टुलुटुलु हेरेर बस्नुपरेको छ ।’

त्यस्तै, किस्टबाट ३ फागुनमा कीर्तिपुर अस्पताल रेफर गरिएका अमृता र राजुका अभिभावकसमेत कम्पनीले आर्थिक सहायता नगर्दा उपचारमा समस्या भइरहेको बताएका छन् । हाल कीर्तिपुरमा उपचारका गराइरहेका अमृता रसाइलीका दाइ विमल सुनार भन्छन्, ‘कारखानाका मान्छेले उपचारपछि खर्चमा सहयोग गर्ने बताएका थिए । त्यसपछि केही खबर गरेका छैनन् ।’ दैनिक औषधिलगायत सामान किन्दा १० हजारभन्दा धेरै खर्च भइरहेको र कम्पनीले पनि बेवास्ता गर्दा समस्या भइरहेको उनले गुनासो गरेका छन् ।  

समयमै प्राथमिक उपचार पाउने हो भने धेरै हदसम्म जोखिम घटाउन सकिन्छ : डा. किरण नकर्मी प्लास्टिक सर्जन, कीर्तिपुर अस्पताल
हामीकहाँ प्राथमिक उपचार र पुनर्जलीय उपचारबारे जानकारी नहुनाले अस्पतालसम्म पुर्‍याउँदा बिरामीमा जलनले धेरै नै असर गरिसकेको हुन्छ । जिल्लाहरूबाट बिरामीलाई काठमाडौं ल्याउँदासम्म धेरै दिन भइसकेको हुन्छ । समयमै सामान्य उपचार पनि नपाउँदा घाउ गहिरो भएर अंगभंग हुने, अत्यधिक शल्यक्रिया गर्नुपर्ने र उपचारका क्रममा मृत्युसमेत हुनेको संख्या बढी छ । जलनको प्राथमिक उपचारस्वरूप पोलेको ठाउँ आधा घन्टासम्म बग्ने पानीमा पखाल्नुपर्छ । यसो गर्दा जलनमा गहिरो घाउ हुनबाट जोगिन्छ । विनाशल्याक्रियासमेत उपचारको सम्भावना रहन्छ । त्यसो त सबैमा प्राथमिक उपचार उत्तिकै प्रभावकारी नहुन सक्छ । जसका लागि पोलेको तीन घन्टाभित्र घाउ पखाल्नु आवश्यक हुन्छ । साथै अस्पताल पुर्‍याउँदासम्म पुनर्जलीय उपचार अनिवार्य दिनुपर्छ । हामीकहाँ एम्बुलेन्समा समेत चालकबाहेक अन्य स्वास्थ्यकर्मी नहुँदा जलनका बिरामीले पुनर्जलीय उपचार नपाएर बाटोमै मृत्यु भएका घटना छन् । 

वीर पनि जलनको उपचारका लागि निर्दिष्ट गरिएको अस्पतालको सूचीमा, तर सात वर्षदेखि सेवा बन्द
सरकारले देशकै जेठो सरकारी अस्पताल वीरलाई जलनको उपचारका लागि निर्दिष्ट गरिएको सूचीमा राखेको छ । तर, हाल वीरमा यस्ता बिरामीको उपचारका लागि वार्ड नै छुट्याइएको छैन । ०७२ को भूकम्पपछि बन्द भएको वार्ड ठाउँ अभाव भएको भन्दै हालसम्म सञ्चालनमा नल्याइएको हो । नयाँ सर्जिकल भवन बनेसँगै अस्पतालले आइसियूसहितको बर्न वार्ड सञ्चालनमा ल्याउने जनाएको छ । ‘नयाँ भवन निर्माण भएपछि बर्न वार्ड पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ,’ अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने ।

दुवै सरकारीमा छैन क्रिटिकल केयर, जलनका जटिल बिरामीको उपचार दुई सामुदायिक अस्पतालको भरमा

महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) र ललितपुरको पाटन अस्पतालमा जलनको उपचार सेवा उपलब्ध छ । तर, दुवैमा क्रिटिकल केयर सेवा छैन । यस्ता बिरामीका लागि सात बेड छुट्याइएको पाटन अस्पतालमा सीधै त्यहाँ आएका बिरामीलाई अन्यत्र पठाउन नपरोस् भनेर बर्न वार्ड राखिएको हो । यहाँ अन्यत्रबाट बिरामी आउँदैनन् । त्यस्तै, जलनको उपचारका लागि नौ बेड छुट्याइएको टिचिङमा यही प्रयोजनका लागि विशेष आइसियू उपलब्ध छैन । ६ प्लास्टिक सर्जन रहेको टिचिङमा बर्सेनि दुई सयदेखि तीन सयसम्म यस्ता बिरामी उपचारका लागि आउँछन् । गम्भीर बिरामीलाई जनस्वास्थ्य सरोकार ट्रस्ट कीर्तिपुर अस्पतालमा रेफर गरिन्छ । 

बर्सेनि अस्पताल पुग्ने जलनका बिरामीमध्ये ६० प्रतिशतको उपचार दुई सामुदायिक कीर्तिपुर अस्पताल र साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा हुने गरेको छ । कीर्तिपुर अस्पतालको तथ्यांकअनुसार बर्सेनि ६ देखि सात सय जलनका बिरामी उपचारका लागि आउँछन् । सन् २०२१ मा ६ सय २३ र २०२२ मा ६ सय ६१ जलनका बिरामी भर्ना भएको अस्पतालले जनाएको छ । यस्ता बिरामीका लागि विशेष आइसियू वार्ड छुट्याइएको कीर्तिपुरमा २४ जनरल बेड र दुई अप्रेसन थिएटरमा आठ आइसियू बेड सञ्चालनमा छन् । यहाँ आठ विशेषज्ञ चिकित्सक र दुईजना अध्ययनरत चिकित्सक कार्यरत छन् । देशभरबाट पनि रिफरल केसहरू आउने भएकाले बेड उपलब्ध नहुँदा क्याबिनमा राखेरसमेत उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्लास्टिक सर्जन डा. किरण नकर्मीले बताए । त्यस्तै, ट्रस्टमार्फत सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि बर्सेनि तीन सयको हाराहारीमा बिरामीको उपचार हुन्छ । जलनको उपचारका लागि नै भनेर खोलिएको देशकै पहिलो यो बर्न अस्पतालले ६ आइसियू गरी सय बेडमा सेवा दिइरहेको छ । 

जलनका ३२ मात्रै विशेषज्ञ चिकित्सक : प्लास्टिक सर्जरी निःशुल्क पढाइ हुँदा पनि विद्यार्थी नै हुँदैनन् 

जलनको उपचारका लागि विशेषज्ञ चिकित्सकको रेखदेखसहित उपचार आवश्यक हुने भए पनि नेपालमा ३२ मात्रै प्लास्टिक सर्जन छन् । प्लास्टिक सर्जन एसोसिएसनका अनुसार यसबाहेक त्रिवि शिक्षण अस्पतालमा दुई र न्याम्समा एकजनाले प्लास्टिक सर्जरी पढिरहेका छन् । 

तर, नेपाल मेडिकल काउन्सिलमा भने विशेषज्ञतासहित दर्ता गराएका प्लास्टिक सर्जन जम्मा १३ जना छन् । काउन्सिलमा दर्ता भएअनुसार १० पुरुष र तीन महिला प्लास्टिक सर्जन छन् । तर, चिकित्सकले प्लास्टिक सर्जनको विशेषज्ञतासहित दर्ता गराउन नसक्ने भएकाले १३ जना मात्रै देखिएको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारी बताउँछन् । यीमध्ये पनि ९० प्रतिशत चिकित्सक काठमाडौंका अस्पतालमा छन् । बाँकी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, बुटवल र जनकपुर प्रादेशिक अस्पतालमा एक–एकजना कार्यरत छन् । 

प्लास्टिक सर्जरीको एमसिएच निःशुल्क पढाइने भए पनि भर्ना हुने विद्यार्थी नहुँदा सिट खाली जाने गरेका छन् । हाल त्रिवि शिक्षण अस्पतालमा दुई र न्याम्समा तीनजना प्लास्टिक सर्जनको सिट खुलाइँदै आए पनि विद्यार्थी भर्ना नै नहुने गरेको चिकित्सा आयोगको तथ्यांकले देखाउँछ । यो वर्ष तीन विद्यार्थी भर्ना भए पनि अघिल्लो वर्ष सबै सिट खाली गएका आयोगको तथ्यांक छ । चिकित्सकहरू भने प्लास्टिक सर्जनका लागि दरबन्दी नै उपलब्ध नभएकाले विद्यार्थी पढ्न इच्छुक नदेखिएको बताउँछन् । ‘प्लास्टिक सर्जरीका लागि पाँच वर्ष एमबिबिएस पढिसकेपछि तीन वर्ष जनरल सर्जरी र थप तीन वर्ष प्लास्टिक सर्जरी पढ्नुपर्ने हुन्छ । तर, सरकारी अस्पतालमा दरबन्दी नै नहुने भएपछि यत्रो दुःख गरेर को पढ्न आउँछ ?’ डा. नकर्मीले भने । 

प्रादेशिक अस्पतालहरूले जलनको उपचारका लागि वार्डहरू सञ्चालनमा ल्याउने तयारी गरे पनि जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान दिएको छैन । डा. नकर्मीका अनुसार जलनको उपचारका लागि एकभन्दा बढी प्लास्टिक सर्जन, तालिम लिएका नर्स, फिजियोथेरापिस्ट, पोषणविद्, मनोविद् र अन्य तालिमप्राप्त स्वास्थ्यकर्मीको टिम चाहिन्छ ।