
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले १६औँ विश्व योगासन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बधाई दिएका छन् । बिहीबार राखेपको सभाकक्षमा घिसिङले खेलाडीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाई दिए । विश्व योगासनमा सहभागी नेपाली खेलाडीलाई पुस्करराज पन्त, संग्राम पुरी, आनन्द गैरे र दीपा पाण्डेले दुई साताको प्रशिक्षण गराएका थिए ।
राखेपका सदस्यसचिव घिसिङले जुनियर क्षेत्रमा ध्यान दिन सके राष्ट्रलाई अन्तर्राष्ट्रिय सफलता दिलाउने खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । प्रयासजंग चौहान र प्रत्युषा खतिवडाले विश्व च्याम्पियनसिपबाट धेरै पक्ष सिक्ने अवसर मिलेको बताए । मलेसियाको क्वालालम्पुरमा २३ देखि २४ चैतसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न उमेर समूहमा दुई स्वर्ण, एक रजत र तीन कांस्य गरी ६ पदक जितेको थियो ।
अमिष पटेलले रजत तथा किरण मगर, संस्कृति चौलागाईं र सुन्दर सार्कीले कांस्य पदक हात पारेका थिए । २३ राष्ट्रका १५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जनाले प्रतिस्पर्धा गरेका थिए । नेपाल समग्रमा तेस्रो भएको नेपाल योग खेलकुद संघका महासचिव चूडामणि खरेलले बताए । भारत पहिलो तथा अमेरिका दोस्रो स्थानमा रहे ।